Logo

कविता – हिमालको आवाज़-१३

-साहित्यकार ,दामोदर पुडासैनी किशोर 

म सपना देखिरहेछु

त्यसैले त ,कसैलाई मीठो कुरिरहेछु

 

अरू अरू त ख्वै को

कसलाई कुरिरहेछन्

म भने केवल तिमीलाई कुरिरहेछु

 

तिमी टाढा हुनुभन्दा

तिमीलाई कुर्नु नै मीठो लाग्छ

 

मैले कुरिरहुन्जेल

तिमी म सँगै रहिरहनेछौ

 भेट्नुभन्दा

धेरै धेरै आनन्द छ कुर्नुमै

जीवनको स्वर्ग छोडेर

कल्पनाको स्वर्ग जानु छैन मलाई

 जीवनभरिको तपस्या

तिमीलाई पाउन खर्चिरहेछु

 

पर्ख,पर्खनु पहिलो परिच्छेद हो प्रेमको

 पर्खन पाइएको छ र पो

तिमी हुनुको खुशी छ जीवनमा

 

कुर्नु महान् शक्ति हो

कुर्नुलेनै त देखिन्छ तिम्रो र मेरो आकर्षण

 मैले कुरेर

ठिक कामको लागि

ठिक समय पछ्याएको छु

 

बाँच्नु पनि पर्खनु रहेछ एउटा जीवन

म मृत्युको पर्खाइमा

जीवन तेजिलो पारिरहेछु

 

कुराई समाप्त भएपछि

सायद सकिन्छ सबै खुशी

म एउटा प्राप्ति भन्दा

अनेकौँ प्रक्रिया खोजिरहेछु

 

तिमीलाई भेट्नु भन्दा

पर्खनु मीठो छ कयौँ गुना

तिमी त तिमी भैहाल्यौ

ठिक यो क्षणमा

म संसारका सबै प्रेमीलाई कुरिरहेछु

 

-२०७६ आश्विन १गते बुधवार लुक्ला बजार ,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौं ।

 –सम्पादक

प्रतिक्रिया दिनुहोस्