Logo

हिमालको आवाज-१२

-साहित्यकार ,दामोदर पुडासैनी किशोर 

चुचुरा नाघ्न हिँडिरहेको मान्छे

एक्कासि ढलेको देखेपछि

 मलाई लाग्यो, जीवन भनेकै खुसुक्क निस्कने

र, लुसुक्क बिदा हुने, हो रहेछ

 

हिमालको चुचुरातिर चरिरहेको

चौर गाई गुल्टँदै गुल्टँदै मरेको देखेपछि

सोचेँ, के को लागि जन्मने हामी

किन मर्ने थाहै नपाई ?

 

चढ्दा चढ्दै ढले कयौँ मान्छे

ढलेकालाईनै नाघेर उकालो चढिरहे कयौं मान्छे

ढलेर होइन उठेर नै लैजाने हो

जीवनलाई नयाँ नयाँ प्रदेशमा

जीवन भनेकै पीडाको वास्ता नगर्नु हो

भनिरहे हिउँबाट निस्किएका स्काइलार्कहरूले

 

अक्करमा चढ्दा चढ्दै

हिम पहिरोले लग्यो एउटा साथी

हिमनदीले बगायो अर्को साथी

हिमतालमा डुबेको अर्को साथी

अहिलेसम्म निस्किएको छैन

म भने चुचुरोमा उभिएर

एक आँखाले माथिल्लो चुचुरा हेरिरहेछु

र,अर्को आँखाले हराएका साथीहरूको

बाटो खोतलिरहेछु

मनले भने भन्यो,

 होसियारी र गति नहुने हो भने

 तिमी पनि हराउनेछौ

यतै कतै बाटोका गल्छेडाहरूमा

 

युद्ध गर्दा गर्दै सपना देखिरहेछु

आगोभित्र पसेर शीत थोपा सँगालिरहेछु

उडिरहेका चराहरू

जालमा पारेपछि भनेँ ,

 जीवन शक्तिको खेल बाहेक केही होइन

 जालभित्रका चराहरूले भने,

 शक्ति चञ्चल हुन्छ,

उ सधैँ एउटै मुट्ठीमा बसिरहँदैन

 

मेरै छेउबाट नदीहरू मलाई छोडेर गएपछि

मैले भनेँ-जाऊ ,जानेलाई म कदापि रोक्ने छैन

 तर कसैले जीवन गीत गाइरहने हो भने

 जुनसुकै रूपमा भएपनि

फर्केर नआई सुक्खै हुँदैन

 

म बिशाल ढुङ्गा उभिइरहेछु

सट्टामा हिमासागर बोक्दै हिमनदी बगिरहेछु

कतै तिम्रो र मेरो सम्बन्ध पनि

कहिले उड्ने कहिले बर्षने

बादल र कुहिरो जस्तो रहेछ

आधा शंका  र आधा विश्वासमा

आइपुगेका छौँ यो चुचुरासम्म

 

उहिलेका कुरा खुइलिइसके

अहिलेको कुनै भरनै छैन

बाटोहरू फरक हुन सक्छन् कहिलेकाँही तिम्रो र मेरो

मैले सोचेजस्तो तिमी र तिमीले सोचेजस्तो म हो

इनौ,कदापि हुनेछैनौ

एकपटक देऊ तिम्रो ध्यान मलाई-

 हिँडुन्जेल तिमीलाई कहिल्यै बाटोको अभाव हुनेछैन

 

-२०७६ आश्विन १गते बुधबार याक होटल ,लुक्ला,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छ

                –सम्पादक

प्रतिक्रिया दिनुहोस्