Logo

हिमालको आवाज-८

     -साहित्यकार ,दामोदर पुडासैनी किशोर 

जीवन त कुहिरो त हो रहेछ नि

सोच त

 बिस्तारै उठ्छ,डाँडा,खोच र

समथरतिर चल्छ

र कुनै बेला निमिट्यान्न बनेर बिलाउँछ

 

कहिलेकाहि श्वेत अन्ध बन्छ जीवन

आँखाले देखिन्छ सारा संसार

तर ,के देखेको पत्तै हुँदैन

थाहै नपाई अल्झिन्छ मन

कसैको मनभित्र

श्वेत अन्ध कुहिरोभित्र पसे जसरी

 

सलले छोप्दै देखाउँदै गरेको तिम्रो

गुलाबी मुहारजस्तो

किन लुकाउँदै देखाउँदै गरिरहन्छन्

सुन्दर हिमालका केस्राहरूलाई कुहिरोका

भुल्काहरूले

किन छोप्छन् घरीघरी र किन खोल्छन्

पर्दा खोलेझैँ लुकाउनु र देखाउनु भित्र लुकेको हुन्छ

एउटा महान् अर्थ संसारमा

 

तिमीले मौनतामै असङ्ख्य

जीवन गीत गाएजस्तो

कुहिरोलेपनि गीत सुनाउँदै

दौडिरहेको देखेँ,

 धुपीका मुनाहरूलाई,

हिउँ ब्युँझाउने चराहरूलाई

र पहाड बोक्ने याक ,नाक ,झोक्पे र

खच्चरहरूलाई

 

पहाड बोकेर कुदेका कुहिरोहरू

झुण्डिएभने हिमालमाथि अथवा

जागिरहेका बस्तीमाथि

बिदाइको छटपटी ब्युँतिन थाल्छ

कुना कुनाबाट

सबैकुरा बिर्सेर एकै मुद्दामा

एकाग्र मन जस्तो

 

रक्सीको मातमा ब्युँतिरहेछ

कुहिरोको जुलुस

जीवनभरको मेहनतपछि

भर्खर तयार भएको छ प्रकृतिको

 नग्न तैल चित्र

 एक हुल पदयात्रीहरू अल्झेका छन्

जन्जिरका रेशाहरूमा

जीवन कुहिरोमा बढिरहेका यात्रीहरू

कुहिरोभित्र नियाल्दैछन् आफ्नो प्रतिबिम्ब

 रंगहिन बादलका अनुहारहरूमा

सुहाइरहेछ कसैको नग्न चित्र

आकाशमा तरवर्र उम्रेका छन् प्रे

मिल आँखाका टुसाहरू

प्रेमका गीता,बाइबल र कुरानहरू

कुहिरोमा लेख्ने हो कि पानीमा

चलिरहेछ अचेल घरघरमा बहस

समयलाई गर्भाधान गरिरहेछ कसैले

 

यस बेला,

 तिमीले घुम ओढेर ज्याज गाएको सुहाउँछ

 कि भने अतृप्त समुद्र पिएर

 मैसँग बेजोडले दौडिएको सुहाउँछ

 कोही कुहिरो बन्छ र चुहुन्छ कसैको

मनभित्र भने,

 तिमीले र मैले ताली बजाउनुको विकल्प

कुन छ ?

 

कुहिरोले विश्वासको समुद्र बोकेर

चुम्दै छ मान्छे र सबै दृश्य अदृश्यलाई

 कुहिरो निचोरेर काकाकुल समयलाई

बौराउने बेला ठिक्क आएको छ

तिम्रा कुहिरे प्रश्नहरू

 ठिक यही क्षणबाट जमजमाउनुपर्छ

-२०७६ भाद्र २९गते आइतबार याक होटल ,लुक्ला,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ ।

                                      –सम्पादक

प्रतिक्रिया दिनुहोस्