Logo

कविता – हिमालको आवाज-११

-साहित्यकार ,दामोदर पुडासैनी किशोर 

 

हिउँ बर्सँदा तिम्रो याद पनि बर्सन्छ

 कुहिरो हिँडिरहँदा झन् फैलन्छन् तिम्रा यादहरू

बताससँगै तिमीलेनै स्पर्श गरिरहेझैँ लाग्छ

 

हरेक बिहान जब अँगालो हाल्दै आइपुग्छ

 मायाको रोटीजस्तो एउटा सुकोमल घाम

त्यतिबेला घामलाईनै पोको पारेर

तिम्रो पोल्टो भरिदिऊँ जस्तो लाग्छ

 

जानेहरू बिस्तारै नदी बनेर गइरहेको देख्छु

आउनेहरू बिस्तारै बादल बनेर उँभो लागेको देख्छु

आउनेहरू जानेहरू जोसुकैलेपनि

बिस्तारै तिमीलेजस्तै छोइदिउन् जस्तो लाग्छ

 

ब्यर्थ छन् पूजा थाली ,निरर्थक छन् धूप अबिर

बेकाम छन् भजन मण्डली ,बेकार छन् नैबेद्यहरू

 तिम्रो जीवनको उपस्थिति नै

सँसारको लागि महान् उपलब्धि हो

उपहारको नाममा तिमीले

समय उपहार दिए हुन्थ्यो झैँ लाग्छ

 

छातीमा घाउ छ ,म भन्दिन

गीतमा विरह छ ,म भन्दिन

टनकटनक दुखेका उगुज पल्टेका घाउहरू छन्

मान्छेका मन भरिभरि

तिमी आऊ,तिमी आएपछि अरूपनि कोही

आउनैपर्छ म भन्दिन

 

एक टुक्रा नीलो आकाश

नीलै पार्न खोज्छ मेरो मनलाई

तिम्रो अन्तिम सिमानाबाट छुटेको हावा

नाघ्न खोज्छ मेरो अन्तिम उँचाइलाई

 

म तिमीमाथि आस्था चुलिनुपर्छ भन्छु ,

ईश्वर उभिनुपर्छ भन्दिन

–२०७६भाद्र ३१ गते मङ्गलवार तेन्जिँग हिलारी एयरपोर्ट ,लुक्ला ,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ ।

                         –सम्पादक

प्रतिक्रिया दिनुहोस्