कविता – श्रवणकुमारहरू
-रविन न्यौपाने
जाडोमा कठाङ्ग्रिएर
निमोनिया भै मरेको बाबालाई
घाटमा पुर्यायर
पण्डितलाई दौरा सुरुवाल दिई
कर्तव्य पूरा गर्छन्
कलियुगका श्रवणकुमारहरू …..
सत्कर्मीलाइ जिन्दगीभर रुवाएकाहरू
घाटमा उपस्थित छन्…..
पार्थिव शरीरमा अबिर माला पहिरिदिएर
मुस्कानको प्रतीक्षा गरिरहेका छन् ,
अनि बागमतीको पानीले पाप पखालीरहेछन् ।
सपनाको बारीमा सलाई कोरी सदन गएका छन् ….
रगतले लत्पतिएका अनुहार धोइवरी
मन्त्री भएका छन् …..
झुपडी मात्रै जलाउने
पक्षपाती आगोको डर छैन अब !
दलालै दलालको अग्नीप्रुफ महल
शहरको बिचमा जोडेका छन् ।
कलियुगका श्रवणकुमारहरू …..