Logo

हिमालको आवाज-१०

-साहित्यकार ,दामोदर पुडासैनी किशोर 

मलाई मन पर्ने तिम्रो

आवाजको कर्णप्रिय गीत

आकाशबाट झरिरहेछ

त्यही गीतसँगै

 झरिरहेछन् तिम्रा

हर्षाश्रुका लहरहरू

 

मेरो सिरानी मुन्तिर

जस्ताको छानामा कसैले

रेटिरह्यो रातभर

सङ्गीतको अनुपम धून

बादल पारी बस्ने

तिमीहरूले

त्यही धूनलाई ठान्यौ

कुनै सिद्धहस्त

जादुगरको आदिम जादू

 

म भित्र बृहत् आयामको

समुद्र छ

त्यो झरिरहेछ आकाशबाट

संसारका सबै लहरहरू

मिसिएका छन्

ती मूर्च्छनाहरूमा

 

उन्मत्त समयका प्वाँखहरू

फिंजारिएका छन् कसैका

 छुनुमुने हत्केलासम्म

चरमोत्कर्षको अन्तिम सिमाना

भत्किएको छ

सबै परिधिहरूबाट

 

म मौन जुलुसमा

बाँचिरहन सक्तिन

 धर्मान्धहरूका

कालो चस्माको बलियो फ्रेम

पनि उभिन सक्तिन

सौदा बाजहरूले

जिम्मा लिएका छन्

स्वागत द्दारको नयाँ साँचो

 म रंगीन पोखरीमा

हिमजरूवा कैद गरिरहन

पनि सक्तिन

 

तिमीले पाइला टेक्ने डोबहरूमा

सिँचन गरिरहेछु

तिमीले सुमसुम्याएका अङ्गहरूमा

नयाँ आँसुले पखालिरहेछु

तिमीले सुन वा नसुन

मेरो नवीन जलतरंग

 बादलको विशाल खास्टो ओढेर

तिम्रै लागि

म निरन्तर जल संगीत फिँजाइरहेछु       

 

 -२०७६ भाद्र ३१गते मङ्गलवार याक होटेल ,लुक्ला,सोलुखुम्बु

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ ।

                                  –सम्पादक

प्रतिक्रिया दिनुहोस्