आञ्चलिक विम्बहरूले सजिएको कविता सङ्ग्रह – ‘उज्यालो खोजिरहेको घाम’
–चूडामणि काफ्ले
दामोदर पुडासैनी ‘किशोर’ नेपाली वाङ्मय सेवीका रूपमा चर्चित व्यक्तित्व हुन् । १८जेठ २०१९मा काठमाडौँको जीतपुर फेदीमा जन्मेका पुडासैनीका हालसम्म दर्जनभन्दा बढी कृतिहरू सार्वजनिक भइसकेका छन् । विशेषतः नियात्रा र कविता विधामा उनको लेखनी क्रियाशील बनेको देखिन्छ । आफूले देश विदेशमा गरेको भ्रमणलाई नियात्रामा अभिव्यक्त गरी उनले आफ्ना पाठकलाई पनि सँगसँगै यात्रा गराएका छन् । त्यसै गरी आफ्ना अनुभूत भाव सत्यलाई प्रतिभा र कल्पनाले रङ्ग भर्दै कवितामा अभिव्यक्त गरेका छन् ।
आफन्तका अनुहार (२०४९),आँखाको खोजीमा (२०६२), आलोकित आयाम (२०६३),आकारको खोजीमा (२०६३), समयको सहीछाप (२०६९), पहाड र प्रेम (२०७१) कविता सङ्ग्रह प्रकाशित गरिसकेका कवि पुडासैनीको उज्यालो खोजिरहेको घाम (२०७४)प्रकाशित नवीनतम कविता सङ्ग्रह हो । यसमा २०७०सालका भदौ र असोज महिनामा मुगुमा बस्दा लेखिएका मुक्त लयका एकचालीस कविता सङ्गृहीत छन् । यहाँ नेपालको विकट र दुर्गम हिमाली जिल्ला मुगुका आञ्चलिक विम्बलाई कवितात्मक अभिव्यक्तिका रूपमा सजाइएका छन् ।
मुगु जिल्ला प्रकृतिको सुन्दर उपहार हो । प्राकृतिक स्रोत र साधनले यो समृद्ध छ । देशकै विशाल रारा तालले मुगुको शोभा वृद्धि गरेको छ । बारीकै पाटामा लटरम्म स्याउ फल्ने गर्छन् । यहीँ हिमालको अनुपम सौन्दर्य छ । यार्चागुम्बु जस्ता अनमोल जडीबुटीको भण्डार छ मुगुमा । नौरङ्गी डाँफेको मनोरम नृत्य र चराचुरुङ्गीहरूको सुमधुर कलरव छ । लाली गुराँसको सौन्दर्यले मुगुका डाँडा पाखा मुग्ध छन् । मुगाली कडा परिश्रम गर्छन् ; पसिनाको कमाइमा विश्वास गर्छन् तर तिनका अनुहारमा कहिल्यै खुसी पोतिँदैन ।
हो, मुगु धनी छ ; सुन्दर छ तर अशिक्षा,गरिबी,अन्धविश्वास र विकृतिले सलक्कै निलिदिएका छन् यहाँका सौन्दर्य र समृद्धिलाई । कवि दामोदर पुडासैनी ‘किशोर’को उज्यालो खोजिरहेको घाम कविता सङ्ग्रहका कविताले यही भाव सत्यलाई अभिव्यक्त गरेका छन् । मुगु नेपालको कर्णाली अञ्चलको एक विकट हिमाली जिल्ला हो । कवि पुडासैनीले यस कविता सङ्ग्रहमा हिमाली जनजीवनका आञ्चलिक विम्बहरू प्रस्तुत गरेका छन् । मुगु एक दुर्गम क्षेत्र हो । यहाँ शिक्षाको अवसर समान रूपमा उपलब्ध छैन । अशिक्षाले गजुर हालेको यस क्षेत्रमा कुरीतिले नराम्रोसित जरा गाडेको छ । यहाँ स्वास्थ्य सेवाको अभाव छ । धेरै मुगुवासीहरू बिरामीलाई स्वास्थ्य केन्द्रमा भन्दा धामी,झाँक्रीकहाँ लैजाने गर्छन् । तिनै उनीहरूका लागि ईश्वरका अवतार जस्ता छन् ।
हिउँ र हुरी सहेर जीवनलाई उचाल्ने प्रयास हुन्छन् तर ती सबै बालुवाका महल जस्तै भताभुङ्ग हुन्छन् ; कर्णालीमा आएका लहर जस्तै क्षणभरमा नै त्यहाँका कण्टकमय डाँडा,खर्क,पर्वत र पाखाहरूमा हराउँछन् । विशेषतः मुगुका नारी दिदीबहिनीका कथा र बेथा अकल्पनीय छन् । तिनलाई आफ्ना लोग्नेले माया गर्नुभन्दा बढी सताउने गर्छन् ; सासू ससुराले अवहेलना गर्छन् । सहँदा सहँदा कोमलाङ्गी युवतीहरू जरा जीर्ण बन्दछन् । उनीहरूको जीवनमा कहिल्यै घाम लाग्दैन । मुगुमा तिनको जीवन बिकाऊ भेडाको पाठो जस्तो बेचबिखनको सामग्री बनेको छ । एउटाले अर्कोलाई र अर्कोले फेरि अर्कालाई बेच्छ । पसलको सामान झैँ नारीको मोलमोलाइ छ मुगुमा । एउटी नारीले अनेकौँ पुरुषलाई अँगाल्नुपरेको छ ; अनेकौँ घर,आँगन र मझेरीलाई आफ्नो ठान्नुपरेको छ । पटक पटक उसका नाउँ परिवर्तन हुने गर्छन् । कैले काहीँ त एक डबका जाँड पनि स्वामित्वको आधार बनिदिन्छ ; जीवनको विडम्बना,जीवनप्रतिकै एक अनौठो व्यङ्ग्य ।
बारीका पाटामा स्याउ फलेर पाकेका छन् । डोकाभरि स्याउ लिएर एउटी युवती बेच्न जान्छिन् बजारमा । दिन व्यतीत हुन्छ तर डोकाको स्याउ एक दाना पनि बिक्री हुँदैन । बरु,स्याउ बेच्न जाने पसल्नीको बैँस किन्नेको ताँती लाग्छ त्यहाँ । मुगुमा दाउरा काटेर जीवन निर्वाह गर्ने मनकलाका आफ्नै कथा र बेथा छन् । पहराको टुप्पामा पुगेर बल्ल बल्ल सुकेको रुख काटी एक भारी दाउरा बनाउँछिन् मनकला । त्यस दाउराको भारीमा उनले परिवारको खुसी झलझली देखेकी हुन्छिन् । गमगढीमा दाउरा बेची रकम थैलीमा थन्क्याउन नपाउँदै लात्ती मुड्की गरेर आफ्नै लोग्नेले लगेपछि भोकको साम्राज्यले उनको घरमा गिज्याइरहन्छ । डोल्फु गाउँबाट तीन दिन हिँडेर खाध्यको चामलका लागि लाइन बस्न आएकी आङ फुटीले बोराभरि गाली , विभेद र अपमान मात्र पाइन् । चामलका बोरा त रक्सी,भाले र मह चढाउनेकहाँ पो पुगेका रहेछन् । अनि खाद्यका हाकिम र कर्मचारी पनि रात पर्नासाथ तिनै दावाको होटेलमा लर्बराउने र रमाउने गर्दा रहेछन् । आङ फुटी जस्ता भोकै रहेकोमा केको सुर्ता, गमगढीका सबैजसो भट्टी पसलमा जाँड र बिजुली पानीका लागि खाद्यको चामल पर्याप्त नै छ ।
मुगुलाई अशिक्षा र कुसंस्कारले ग्वाम्लाङ्ग अँगालो मारेका छन् । छाउपडी प्रथा त्यहाँका युवती तथा महिलाका लागि एउटा अभिशाप नै बनेको छ । उनीहरू जिउँदै मृत्युवरण गर्न विवश छन् । उनीहरूलाई आफ्ना अभिभावले शारीरिक परिवर्तनका जिज्ञासा र उत्सुकताबारे अन्धकारमै राखिदिन्छन् । आफ्ना छोरी बहिनीलाई आमा दिदीहरूले सिकाउनु बुझाउनुपर्ने कुरा र दिनुपर्ने ज्ञान दिँदैनन् ; बरु, आफ्नै आमा दिदी र भाउजूले घिसार्दै घरभन्दा टाढाको छाउगोठमा लगेर छोड्दछन् । कति किशोरी र युवती छाउगोठमा एक्लो अवस्थामा क्रूर तथा निर्लज्ज यौन पिपासुका आक्रमणमा परेर बलात्कृत भएका कथा मुगुमा धेरै पाइन्छन् । यसरी कतिपय अवस्थामा मुगुवासीका लागि रक्षक नै भक्षक बनेको कटु सत्यलाई कविले यस कविता सङ्ग्रहमा कलात्मक रूपमा अभिव्यक्त गरेको पाइन्छ । जीवन पीडाको पुञ्ज मात्र होइन । जीवनमा हाँसो,खुसी र आनन्द पनि आवश्यक पर्छ । धेरै मुगुवासीको जीवन बारीमा चरा र बाँदर भगाउन राखेको बुख्याँचाको भन्दा तल गिरेको छ । बुख्याँचा सधैँ एकनास बारीमा उभिएको हुन्छ । उसले दुःख वा पीडा बोध गर्नुपरेको हुँदैन । यहाँको जीवनलाई त त्यस बुख्याँचाले समेत उपहास गरेजस्तो लाग्छ ।
मुलुकको केन्द्रीय राजधानीमा तुइनलाई पुलले विस्थापन गर्ने चर्चा चलिरहेका बेलामा कर्णालीको तुइन नै मुगुवासीका लागि अभिशाप बनिरहेको छ । बिरामीको औषधी लिन जानेलाई तुइनले बाँकी राखेन । कैंयौं छोरी चेली घाँसका भारीसहित कर्णालीका पाहुना बन्न पुगे । जयदेवी रोकाया,बाँचु विक,उजाती बिष्ट,चतुरदेवी बुढालाई तुइनले देखिसहेन । निगालेकी जानसरा रोकायाको प्रेमकथा पनि तुइनले नै सुनाउँदै छ । रत्नबहादुर मल्लको मुटुको टुक्रा समान छोराको उपचारमा पनि त्यही पापी तुइन अवरोध बनेर खडा भइदियो । धेरै मुगुवासीका सपना कर्णालीको तुइनले चकनाचुर पारिदिएको छ । मुगुमा धेरै सरकारी कर्मचारीले स्थानीयको शोषण नै गरे । त्यहाँ सरकारी कर्मचारी धूर्त, जाली र बदमास जस्ता भए । सिधा र सोझा मुगुवासीलाई तिनले लुट्नसम्म लुटे ; चुस्नसम्म चुसे र लुछ्नसम्म लुछे । यसरी यस सङ्ग्रहका धेरै कवितामा मुगुवासीका पीडा र वेदना अभिव्यक्त भएका पाइन्छन् । प्रस्तुत कविता सङ्ग्रहले कर्णाली प्रदेशमा युगौँदेखि व्याप्त कुरीति,अन्धविश्वास,अशिक्षा,गरिबी,दुःख आदिलाई कवितात्मक अभिव्यक्ति दिएको छ । यहाँका यी आञ्चलिक विम्बहरूले राष्ट्रकै उपहास गरिरहेका छन् । समाजको रूपान्तरण हुँदै गरेको वर्तमान परिप्रेक्ष्यमा यस सङ्ग्रहले समग्र मुलुकप्रति नै व्यङ्ग्य गरेझैँ प्रतीत हुन्छ । मुगुमा राज्यको उपस्थितिलाई यहाँका कविताले गिज्याइरहेका छन् ।
अब मुगुमा वर्षौँदेखिका कुप्रथाको अन्त्य हुनुपर्छ ; शिक्षाको ज्योति फैलनुपर्छ ; आन्तरिक तथा बाह्य पर्यटकले राराको सौन्दर्यमा लुटपुटिन पाउनुपर्छ ; त्यहाँका प्राकृतिक स्रोत र साधनको उपयोग हुनुपर्छ ; मुगुका जनताले सभ्य,सम्पन्न र सुसंस्कृत समाजमा बाँच्न पाउनुपर्छ ; उनीहरूले समाजको रूपान्तरण र गणतन्त्रको अनुभूति गर्न पाउनुपर्छ र आफ्ना सपना साकार गर्न पाउनुपर्छ । वास्तवमा यही नै मुगुका लागि प्रकाश हो ; उज्यालो हो र घाम पनि हो । सम्बन्धित क्षेत्र र एकाइलाई केही मार्गदर्शन गर्न सके यो कृति निकै अर्थपूर्ण ,सान्दर्भिक र समीचीन बन्नेमा कुनै सन्देह रहँदैन । यस किसिमको उत्कृष्ट कृतिका लागि कवि पुडासैनी बधाईका पात्र बनेका छन् । अस्तु ।
(काफ्ले पद्मकन्या क्याम्पस, काठमाडौँका सहप्राध्यापक हुन् )