हिमालको आवाज़-९
-साहित्यकार ,दामोदर पुडासैनी किशोर
मेरो प्रिय घाम
तिमीलाई झुक्याएर
जालमा फसाइएको छ
जानेर होस् नजानेर
तिमीलाई पर्खाल पछाडि
कोचिएको छ
कुनै बेला बिस्तारै चुमेको
हो घामले कुहिरोलाई
चुम्दा चुम्दै घाम पो
अहिले बेहोस बनेर
ढलेको छ
कुहिरोकै खेलमा
जन्मेका थियौँ हामीहरू
कुहिरोकै सहारामा
झुण्डिएको छ जीवनयात्रा
हिँड्दा हिँड्दै कहाँ
पुर्याउँछ जीवनले
अथवा,कहाँ पुगेर हराउँछ
जीवनचक्र
कुहिरो ,कुनै जबाफहीन र
सर्वशक्तिमान् बनेको छ
मनहरूले बाटो खोजेका छन्
आँखाहरू बाटो देखाउन असमर्थ छन्
सत्य अँध्यारोबाट निस्कन्छ र ,
उज्यालोमा नाचिरहन्छ
यतिखेर सत्यलाई
सबैतिरबाट लुक्न
बाध्य पारिएको छ
किन कैदमा छन् सुकिला
फूलहरू ?
किन बतासहीन
बनेका छन् रूखहरू ?
बलात् हिँडिरहेका भरिया
र यात्रीहरू पनि
किन परिरहेका छैनन्
कसैको नजरमा ?
तिम्रो घाम पनि बेकम्मा
बनेर लुकेको छ
तिम्रो जून पनि
रोशनीहीन डुबेको छ
काल कोठरीमा
गाउँ ,बस्ती,बाटो,मान्छे ,
पन्छी वा पशु नै किन नहुन्
सबै धूलोका कण कणमा
हराएको छ
धूलो भनेर नहेप
धूलोले ढाक्यो भने
आँखाहरूलाई
जीवनको के कुरा
संसार देखिने छैन
संसार रहने छैन
केही बेर अघिसम्म
चराहरूले शोक गीत गाइरहेथे
शोक गीत गाइरहेथे
गाउँ र शहरहरूले गाइरहेथे
जङ्गल,पहाड र हिमालहरूले
शोक गीत
अहिले सबै शोक गीतहरू
एकै डल्लो परेर
जताततै चहारेको छ
भोलि घाम आउँछ कि
आँधी बाढी आउँछ कि पहिरो
कि देखिन्छन् एकाएक
सुन्दर मान्छे र सुन्दर बस्तीहरू
जहाज उडने समयशारिणी
सेतो धूलोले छोपिएको छ
कहाँ कहाँ बसेर
कस कसले लेख्दैछन्
मायाको विराट काव्य
त्यो पनि
विशाल जालोले छोपिएको छ
कुहिरोलेझैँ
तिमीले पनि सत्य छोप्दैमा
कहाँ सधैँ छोपिन्छ र ?
कुनै दिन कुहिरोलाई
घाँसका टुप्पामा कैद गरेझैँ
फालिन्छन् नक्कली कात्रोहरू
र छर्लङ्ग उभ्याइन्छन्
तिम्रा पाइलाहरूलाई हिमाल बनाएर
-२०७६ भाद्र ३०गते सोमबार याक होटल ,लुक्ला,सोलुखुम्बु
नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।
हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’
नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ ।
–सम्पादक