कविता – बहुलाए पो कि ….?
– रविन न्यौपाने
तिमिले राम्रा देखेको सबै
दृश्यहरू नराम्रा देख्न थाले ।
तिमिले ठिक ठानेका सबै
चिजहरू बेठिक देख्न थाले ।
तिमिले महान् ठानेका सबै
पात्रहरू तुच्छ देख्न थाले ।
तिम्रा गणनामा नपरेका
भुईँका पात्रहरू महान् देख्न थाले ।
बहुलाए पो कि ….?
तिमिले रङ्ग भरेका
कागजहरू फिक्का देख्न थाले ।
तिमिले छुँदै नछोएका
कागजहरू पो रङ्गिन देख्न थाले ।
तिमिले खडा गरेका शालिकहरु
साह्रै बामपुड्के जस्ता देख्न थाले ।
तिमिले शिलान्यास नै नगरेका शालिकहरु पो
विशाल इमारत जस्तो देख्न थाले ।
बहुलाए पो कि ….?
तिमिले लेखेका दस्तावेजहरु
झुटै झुटको सङ्ग्रह जस्तो पो देख्न थाले ।
तिमिले पढ्दै नपढेको दस्तावेज पो
जमिनको सुगन्ध बोकेको देखे ।
तिमिले गर्हौ भनेर छातीमा टाँसेका तौलहरू
हलुका अनुभव गर्न थाले ।
तिमिले हलुका भनेर उपेक्षा गरेका
तौलहरू पो गह्रुँगो अनुभव गर्न थाले ।
सायद बहुलाए पो कि …. ?