Logo

कविता -हिमालको आवाज -३

-साहित्यकार दामोदर पुडासैनी किशोर

म आगो बर्षाउन सक्छु

पानी फिँजाउन सक्छु

जसलाई जती चाहिन्छ

उज्यालो

म निरन्तर दिइरहन सक्छु

कहाँ छन् हिट्लर र

मुसोलिनी

कहाँ जन्मे बुद्ध ,मार्क्स

र गान्धी

कहाँ उठे डार्विन

र शेक्सपियर

ती सबै मेरै हिउँका

मसिना कण न हुन्

किन गरिरहेछन्

मान्छेहरू युद्ध

किन गरिरहेछन्

शान्ति सभा

ती सबै हुन् मेरो लागि

मेरो अघिल्तिर

ओहोरदोहोर गर्दै

बिलाइजाने कुहिरो जस्तै

मैले सबैलाई हेरिरहेछु

तर किन कसैले बुझ्दैन

मेरो निगरानीका चनाखा

आँखाहरूलाई?

-२०७६भाद्र २४ गते मंगलवार ,नाम्चे बजार,सोलु

(प्रकाशित मिति, २०७७ साल असोज १७ गते शनिवार)

नोट – आदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो ।

हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ ।यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ ।

                  -सम्पादक

प्रतिक्रिया दिनुहोस्