Logo

कविता -भावनाको तरङ्ग

मेरो प्रिय मान्छे !
आउ मेरो समीपमा
तिम्रो काखमा पिडाको भारी बिसाएर
न्यानो अङालोमा आराम गर्न चाहन्छु
तिमी सँगको साथले जुनेली रातमा
त्यो झलमल बलेको आकाशमा
भर्‍याङ राखेर ती जून तारा टिप्छु
जब तिमी एक छिन ओझेल हुन्छौ नि
म बाट थाहा छ प्रिय ?
त्यो एक एक पल औँसीको रात बनीदिन्छ
हो ! त्यही अन्धकार लाई चिर्न
तिनै जून तारालाई
आफ्नै नजरको जेलभित्र बन्दी बनाएर राख्छु
जून ताराहरूको त्यै सिङो संसार
आकाशमा उमङ्गको पखेटा फिँजाएर
तिमीलाई चञ्चलताको अङ्कुशले तानेर
सँगै उडाउनेछु
कतै त्यो बतासले मेरो प्रियलाई छुने त होइन ?
ईर्ष्याले आगो दन्केको मन बोकेर झार्नेछु
तिमीलाई फेरी यही आफ्नै सुन्दर दुनियाँमा
अनि निर्धक्कसँग पसाउन थालेको धानभित्र
चखेवाको हाम्रो जोडीले चामल भरौंला
तब यिनै मुहारमा मुस्कान फक्रनेछ
हर्षको उन्माद चढ्नेछ
तिमी मिठो सङ्गीतमा गुनगुनाउनु
त्यही स्वर व्यञ्जन चुँडेर
प्रेमको माला उन्नेछु
मेरो मनको मान्छे
हाम्रो प्रगाढ मायाको महासागरबाट
खुसीहरूका थोपा थोपा संगालेर
हिमालको चुचुरो बनाउँछु
यिनै भावनाका पृष्‍ठभुमिमा
एउटा अटल अमर प्रेम कहानीको
इतिहास रच्छु
तिमी नायक म नायिका
युगान्तर जीवन्त रहनेछौ सिंङ्गो इतिहास बनेर !!
कल्पना पौडेल “जिज्ञासु”
प्रकाशित मिति- २०७७ साल असोज ६ गते मंगलवार 
प्रतिक्रिया दिनुहोस्