Logo

कविता -डाक्टर साहेब

डाक्टर साहेब !
उम्लिनै छाड्यो रगत
लौन जाची दिनु पर्यो …
संगिनले आमाको छाती रोप्दा पनि
बाफै नआउने
पानी पो बग्छ कि नशा नशामा ..
डाक्टर साहेब !
गिद्दहरुले उखुबारीमा
तामाका मुनाहरूलाई
लछारपछार गरिरहँदा
अनि भेरीमा गुलाबका फूलहरूलाई
किचिफाँडो पारेर बगाइदिँदा
धुवाँ नआएको मुटु स्थिर पो छ कि !
लौन जाची दिनुपर्यो …
डाक्टर साहेब !
हुलका हुल हुँडार पसेर
परेवाको बथानै नष्ट पारिँदाको चीत्कार ,
नङ्ग्रा अर्चाप्दै
खोरभित्र बाजहरू पस्दा
चल्लाहरूको सुस्केरा नसुन्ने कानमा
मासु पो पलायो कि !
लौन जाँचिदिनु पर्यो …
डाक्टर साहेब !
खर बारीमा चारैतिर डढेलो लागेर
तापैतापको अग्नि कुण्डमा
पुतलीहरू भस्म भैरहदा
छिसिक्क नपोले जसो गरी
ठिङ्ग उभिएको
बकाइनाको रुखलाई जाची दिनु पर्यो !
कतै समवेदना नै पो मर्यो कि…..
प्रकाशित मिति- २०७७ साल असोज ६ गते मंगलवार
प्रतिक्रिया दिनुहोस्