Logo

अमृतपानको लोभले निम्तिएको विष बमन

हिजो स्वास्थ्यको कुरा गर्नेले आज स्वास्थ्य सङ्कटको समयका स्वास्थ्यलाई सामान्य रूपमा लिनुले जनता सशङ्कित भएका छन् । यसको वास्तविकता के हो जनता माझ उजागर गराउने नैतिक दायित्व तिनै राजनैतिक दलहरूको हुनेछ । एउटा कर्मचारी सेवाबाट बाहिरिएको कारण त्यसको निरन्तरता दिनुपर्छ भनेर सडक तात्ने र एउटा डाक्टरले जनस्वास्थ्यको सवाल उठाउँदा अनसन बस्ने परिपाटी विकसित भएको देशले भोलिको दिनमा कस्तो कार्यदिशा समात्ला भनेर हेर्न बाँकी छ । के आम जनतामा फैलिएको निराशाको ज्वालाले राजनैतिक पद्धतिमा विकसित दुराचार, भ्रष्टाचार र व्यक्तिवादी चरित्रलाई अन्त्य गराउन सक्ला त ? 

                                                                     – डा. उत्तम खनाल (विश्लेषक)

त्य युगमा देवता र दानवको युद्ध भयो । देवताले दानवलाई कुनै जुक्ति गरेपनि युद्धबाट हराउन सकेनन् किनकि उनीहरू ज्यादै बलवान् थिए । दानवलाई जितेर संसारबाट आसुरी शक्तिलाई सदाको लागि अन्त्य गराउने योजना अनुरूप समुन्द्र मन्थन गरेर अमृत निकाल्ने निर्णयमा देवताहरू पुगे तर त्यो काम दानवको सहयोग विना पनि सम्भव थिएन । दानवलाई साथमा लिएर शेष नागको डोरी र मन्दराचल पर्वतको मदानी बनाएर सागर मन्थन गर्नु सजिलो थिएन तर देवताहरूले दानवलाई साथमा लिँदै त्यो काम सम्पन्न गराए । देवता हुनुको नाताले उनीहरूले अमृतको पानगर्ने सौभाग्यपनि । पाए तथापि समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार सखाप बनाउन थालेकाले स्वयं देवताको देव महादेवले त्यसलाई पान गर्नुपर्‍यो किनकि संसार चलाउनका लागि त्यो विष पिउनुपर्ने थियो । महादेवले त्यो विषलाई पिउने नाउँमा सधैँ आफ्नो घाँटीमा राखेर नीलकण्ठको उपमा प्राप्त गरी संसारलाई चलाउनुपर्‍यो र अमृतको सेवन अरू देवताले गरेको हेरेर बस्नुपर्‍यो ।

अध्ययताहरुका अनुसार जगत् हितका लागि बनाइएको सौम्य नीति शास्त्रको रूपमा वेदलाई लिइने गरिएको छ । यसले पूर्ण जगत् हितायका लागि मानिस र अन्य प्राणीहरूको पनि कल्याण गर्दछ । त्यही वेदमा यसोपनि भनिएको छ कि मानिसले कहिलेकाहीँ हिंसापनि गर्नुपर्छ भनेर । तर हिंसा केका लागि गर्ने र केलाई कसले गर्ने भनेर स्पष्ट किटान गरिएको छैन । केही विद्दानहरुले भनेका छन् हिंसाको अर्थलाई सही ढङ्गले व्याख्या गर्न वा गराउन सकिएन भने त्यसको परिणाम भयावह हुन्छ । फलस्वरूप अज्ञानता र अल्पज्ञानका कारण मानिसले आफू बाहेक अन्य सबै प्राणीलाई वध गर्नुपर्छ भन्ने धारणाको विकास गराउन पुगे । परिणाम मानिसले आफू बाहेक सारा निर्दोष प्राणीको हत्या गरेर पुण्य कर्म गरेको दाबी गर्न छाडेन र समाजलाई हिंसा गर्न उत्प्रेरित गरायो ।

आफ्नो अभीष्ट प्राप्तिका लागि उसले जे जति चौपाया वा पशुपन्छीहरूको निर्मम हत्या गराउनुको कारण थियो बुझाइमा भएको कमजोरीपन । जो आफूमा आएको कमजोरी र हुङ्कार थियो अनि जसले ती निर्दोष प्राणीको उद्दण्ड तवरले जतिलाई भेटे समात्दै काटे अनि आफू अनुकूलका मासुका विभिन्न परिकार बनाएर पनि खाए । यसलाई विजयको उन्माद ठानियो र मत्ताहात्तिको चालबाजीमा हुंङकार पनि मच्चाइयो तर निर्दोष आत्माले उन्मुक्ति पाउन सकेन । यी कर्म केवल धर्मका नाममा देवीदेवता भाकल गर्दै पशुपंक्षीहरुको आलो रगतमा होली खेलिनु नै ठानियो ।

के वेदमा लेखेको हिंसाको अर्थ पशु हत्या हो त ? के पवित्र ग्रन्थ वेदले पशु हिंसाका लागि मानिसलाई प्रेरित गरिरहेकै हो त ? यदि हैन भने के हो वेदले भनेको वास्तविक अर्थ ? के अन्य प्राणी भन्दा शक्तिशाली भएकोले नै हो त मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएको ? यी यावत प्रश्नको उत्तरमा बिलकुल त्यस्तो कर्मलाई जोड दिइएको छैन । बरु मानिसले सबै प्राणीको हित गर्नुपर्छ भनिएको थियो वेदमा । अनि वेदले बताए अनुसार हिंसाको अर्थ हो, “मानिसमा कुनै वेला यस्तो कुबुद्धिको घमन्डले वास गर्छ यदि यसलाई आफैले आफैद्धारा मारिएन भने त्यसको जड मौलाउँदै सारा जगतलाई धमिल्याई दिन सक्छ” । फलस्वरूप आफूभित्र रहेको कुविचार र घमन्डको हिंसा गरिएन भने न जगतको हित हुन्छ नत आत्मशान्ति नै मिल्छ । यसकारण कुविचारको हिंसा गर, घमण्ड र तामसीपनको अन्त्य गर अनिमात्र मानव जीवनको अर्थ सार्थक रहन्छ भन्न खोजिएको थियो ।

तर यसको ठिक उल्टो अपव्याख्याका कारण मानिसले आफू भित्र भरिएको लालचीपन, घमन्ड, क्लेश,इर्श्या आदिलाई हिंसाद्धारा अन्य गराउन सकेन बरु उसले त उल्टै प्राणीहरूको निर्मम तरिकाले हत्या गर्दै जगतमा अशान्ति फैलायो । झगडा एवं कोलाहल मच्चियो र बलियाको अगाडी निर्धाको सत्य विचार पनि झुटा सावित हुँदै गयो । जसरी जगत् हितका लागि आफ्ना चेलाहरूलाई बुद्धले कहिल्यै झुटो नबोल्नु भनी अर्ति उपदेश दिए । तर त्यसको अर्थ यो  थिएन कि साँचो बोल्दा कसैको ज्यान जाओस् । यसैकारण बुद्धले स्वयं पनि झुटा बोलेका थिए तर त्यसमा कसैको ज्यान बचाउनका लागि चालिएको सत्कर्म थियो ।

महर्षि भृगुले पनि प्राणी हितका लागि वेद तथा विज्ञानको सामिप्यता परीक्षण गर्न योग, दर्शन र वनस्पति अध्ययनको गहिराई पहिचान गराएका थिए । व्यास ऋषिले वेदलाई सबैले बुझ्ने सरल बनाउन चार भागमा विभाजन गरे । राजनीतिकर्मीले आफ्ना एजेन्डाहरू कार्यान्वयन गराउन वेदकै अनुसरण गर्दै साम, दाम, दण्ड र भेद नीतिको अनुसरण गराए तर सही समयमा उचित कार्यबोध सहितको दिशा पहिचान हुन नसक्नुले वातावरण असहज बन्दै गयो ।

भावना र बिचारहरू सही रहँदा रहँदैपनि कहिलेकाहीँ बुझाइमा आउने कमी र अपव्याख्याका कारणले एउटा विषयको अर्थ अनर्थ हुन सक्छ । स्पष्ट रूपमा बुझाउन नसक्नु पनि कमजोरी नै हो । अहिलेको संविधानले दलहरूले भने झैँ वेदकै नीति सरह अधिकार स्थापित गराएको भएपनि त्यसको अनुभूति नागरिकले गरेका छैनन् । प्रकाण्ड राजनैतिक विधानहरूको सत्तालोलुपता एवं आफू अनुकूलका अपव्याख्या वा अल्पव्याख्याले गर्दा साम्प्रदायिक एकतामाथि आँच आउने गरेका छन् । यसैले होला कुनै एउटा समस्या मत्थर नहुँदै अर्को परिघटनाको रुमाल थापिएको देखिन्छ । कहिलेकाहीँ न्यायालय भित्रैबाट पनि अन्याय भएको कुरा बाहिर आउने गरेको छ । आजकाल अमेरिकामा समेत वेद ग्रन्थको अध्ययन र अनुसन्धान गर्दै त्यसको अनुसरण गर्ने काममा क्रियाशील हुँदा नेपालमा भने यसलाई अनादर किन गरिँदैछ भन्ने आवाज उठेको छ । रुस, जहाँ हिन्दु धर्मको व्यापक अध्ययन हुन्छ र भागवत गीतालाई रुसीहरूले नेपालमा आएर नेपालीहरूलाई सिकाउन पनि थालिसकेका छन् । आज तिनै विश्वका हिमायती मानिने राष्ट्रहरूमा मानिसको ध्यान गुम्बा र मन्दिर तर्फ केन्द्रित भएको अवस्थामा मातृभूमिमा तिनीहरूको अस्तित्व सङ्कटमा रहेको देखिन्छ ।

नेपालीहरूले केवल खान र खुवाउनका लागि देखासिको मार्फत आफ्नो धर्म, संस्कृत, परम्परा र रीतिरिवाजलाई बेचिरहेका छन् । तिनीहरू आफै हवाला दिन्छन् कि भ्रष्टाचार गरिँदैन भनेर तर जसले भ्रष्टाचार गर्दिन भनेर भन्छन् तिनीहरू नै कमाउने खेतीमा व्यस्त भएको देखिन्छ । कोरोनाले आक्रान्त नेपाली समाजमा जनताको हितमा भन्दा आफ्नै स्वार्थ पुरा गराउने क्रियाकलापमा लागेको नेकपाको पार्टी विभाजनको सङ्कट हाललाई टरेको छ तर त्यसको तुष मेटिएको छैन । हामीले जनताका नाममा धेरै गरिरहेका छौ भन्ने दलका खेलाडीहरू आफ्नै स्वार्थ र आसेपासेमा भासिँदै दलीय भागबन्डाका आधारमा सरकारले गरेको नियुक्तिबाट सबैको आँखा खुलिसकेको छ । हिजोका दिनमा वेदकै सरह जनतालाई अमृत चटाउने कबोल गर्नेहरू आज जनता भोकले मर्दा आफू अमृत पिएर डकार्दै हिँडेको कुरा ती भोका पेटहरूले लकडाउनको समयमा देखाईसकेको छ । नियम र कानुनको जप तिनैले गर्ने तर शक्तिका आसेपासेलाई त्यो नियम र कानुनले कुनै फरक नपार्ने कुरालाई पनि साबित गराउँदै गएको पाईएको छ ।

नेपालमा जनताको नाम भज्दै आफ्नो स्वार्थ पूरा गर्न हरेक दलका व्यक्ति नेता हुन चाहने तर नेतृत्व भागबन्डा गराएर समिति पारिने अभ्यास सामान्य बन्दै गयो । पार्टीभित्र पनि निष्ठाको राजनीति गर्नेले कुनै अवसर नपाउने तर नेतृत्वको सधैँ आसपास रहिरहनेले लाभको पद पाइरहने प्रवृत्ति बढेर जाँदा नेपालको राजनैतिक आकाश दलिय अभ्यासको चरणबाट विलय हुँदै गएको भान सबैतिर परेको चर्चा चलिरहँदा दल नै व्यक्ति हो भन्ने कुरालाई साबित गराउँदै आएको ज्वलन्त उदाहरणहरू देख्न सकिन्छ । यसको पुष्टि चाहे त्यो सरकार बनाउन होस् या पार्टी एकीकरण गरिएको भन्ने विषयमा किन नहोस् त्यहाँ विचार र सिद्धान्तको कुनै काम गरेको देखिँदैन बरु पदीय अधिकारका विषयमा भागबन्डा लगाईको भेटिन्छ । अहिलेको सङ्घीयताको अभ्यासका प्रतिफलहरू जनताका नजरमा यस्तै बनेको छ र भन्ने गरेका छन् कि सङ्घीयता त नेताका लागि भाग मिलाउनका लागि ल्याइएको व्यवस्था पो रहेछ । जनतालाई सेवा कुनै दिन नसक्ने तर करको भार बोकाएर पाल्नुपर्ने प्रदेश सरकारको औचित्य समाप्त भएको कुरा कोभिड १९ सङ्क्रमणको घडीले झन् प्रस्ट पारिदिएको छ ।

जनताले भन्न थालेका छन् कि अब किन चाहियो यो जनता मारा शासन प्रणाली ? देश विकास गर्ने हो भने स्थानीय सरकार र केन्द्रीय सरकार नै अत्यन्तै उपयोगी हुने छ जसले वेदकै ऋचाको अनुसरण गराउन सहयोग साबित हुनेछ भन्ने जमात बढेर आएको हुँदा भोलिका दिनमा दलमाथि ठुलै विरोधको आवाज उठ्ने सम्भावना देखिन्छ । उनीहरूले सुरुमा प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउने र त्यसपछि प्रदेश सरकार बनाउँदा राजनीति गर्नेले प्रत्येक प्रदेशमा सभामुख, उप सभामुख, मुख्यमन्त्री र प्रदेश प्रमुख सहित लाभको पद वितरण गरिने अनि जनताले हेरेर बस्नु पर्ने वातावरणले आक्रोशको आँधिवेरि सृजना गराउन सक्ने छ । यो विषम परिस्थितिको सामना गर्न सरकारले जीवन भन्दा धन ठुलो हुँदैन भनेर चैत्र महिनादेखि नै लकडाउन गरायो तर जब अहिले दैनिक १३०० माथिको सङ्ख्यामा व्यापक सङ्क्रमण फैलिँदै गएको अवस्थामा अर्थतन्त्र चलायमान गराउने नाममा विध्यालय र सिनेमा हल बाहेक अरू सबै क्षेत्रहरू खुलाएर अनौठो चरित्र देखाएको कुरालाई कसरी बुझ्ने ? सरकारले जनताको स्वास्थ्यमा ध्यान दियो कि अर्थ सङ्कलनको बाटो रोजेको देखियो ? यदि आज आएर यस्तो निर्णय लिनुथियो भने हिजोका दिनमा कोरोनाको सङ्क्रमण नै नहुँदा आम नागरिकलाई किन त्रसित बनाएर लकडाउन गरायो र नागरिकको जीवन सङ्कटपूर्ण बनायो ? यो सवालमा भोलिका दिनहरूमा सरकार सञ्चालनको जिम्मेवारी लिएको दलसँग जनताले चित्तबुझ्दो जवाफ खोज्नेछन् भने प्रमुख प्रतिपक्ष दलको जनता प्रतिको जिम्मेवारी र कार्यशैलीको बारेमा पनि प्रश्न उठाउने छन् ।

यो समयमा नेपाली अर्थ व्यवस्थालाई चलायमान बनाउनु आवश्यक थियो नै तैपनि कोरोनाको कहरमा दुखेको घाउमा बिस्तारै मलमपट्टि लगाउँदै वास्तविक जीवनमा फर्काउने अभ्यास आजको माग थियो । “सक्नेले खाऊ र गर तर नसक्ने मर” भन्ने रणनीति विश्वका कुनै पनि कम्युनिस्ट सरकारले सोच्न नसक्ने कुराको झल्को आम नेपाली जनताको मानसपटलमा चक्कर मार्न छाडेको छैन । हिजो स्वास्थ्यको कुरा गर्नेले आज स्वास्थ्य सङ्कटको समयका स्वास्थ्यलाई सामान्य रूपमा लिनुले जनता सशङ्कित भएका छन् । यसको वास्तविकता के हो जनता माझ उजागर गराउने नैतिक दायित्व तिनै राजनैतिक दलहरूको हुनेछ । एउटा कर्मचारी सेवाबाट बाहिरिएको कारण त्यसको निरन्तरता दिनुपर्छ भनेर सडक तात्ने र एउटा डाक्टरले जनस्वास्थ्यको सवाल उठाउँदा अनसन बस्ने परिपाटी विकसित भएको देशले भोलिको दिनमा कस्तो कार्यदिशा समात्ला भनेर हेर्न बाँकी छ । के आम जनतामा फैलिएको निराशाको ज्वालाले राजनैतिक पद्धतिमा विकसित दुराचार, भ्रष्टाचार र व्यक्तिवादी चरित्रलाई अन्त्य गराउन सक्ला त ?

संसार चलायमान गराउन जसरी वेदको विकास भयो, समुन्द्र मन्थन गरेर निस्किएको अमृतपान देवताले गर्न पाए त्यसरी नै नयाँ कामको थालनी गर्दा आएको समस्याको दोषको दायित्व लिने हैसियत नेताले बनाउन सक्नुपर्छ अनि मात्र उसले आफूलाई नेताको दाबी गराउन सक्ने हुन्छ । आफूले गरेको गल्तीको आलोचना समेत सुन्न नसकेर आफ्नै कार्यकर्तालाई बोल्न र लेख्नको लागि प्रतिबन्ध लगाउने नेता दलको त हुन सक्ला तर जनताको नजरमा कदापि हुन सक्दैन ।

(प्रकाशित मिति, २०७७ साल असोज ३ गते शनिवार )

प्रतिक्रिया दिनुहोस्