कविता – हिमालको आवाज़-२८
-दामोदर पुडासैनी किशोर
म जतिपटक लडेँ
त्यतिपटक उठेँ
अहिले तिमीलाई अँगालो
मारेर उभिइरहेछु
संसारका कुनै पर्खालहरूले मलाई छेक्न सक्ने छैनन्
सूर्यलाई जस्तै कुनै पर्दाले छेक्न सक्ने छैनन्
म बाँच्नको लागि मात्र उभिएको होइन
म बाँच्नुमा आकर्षण छ एउटा
आकर्षण तिमीसम्म फैलिरहेछ
मेरो आफ्नै जीवनघडी छ
टिक टिक टिक ……
हरेक क्षणको हिसाब लेखिएको छ
जीवनका अध्यायहरूमा
कयौँ भेटिएकाहरू छुटे जीवन
किनारहरूबाट
अहिले तिमीलाई भेटेपछि
उकालाहरू ओरालाझैँ लागिरहेछन्
समय मुठ्ठीमा च्यापेर
तिमी म माथि चढिरहेको बेला
प्रत्येक पलहरूमा म पो
चढिरहेको हुनेरहेछु
तिम्रा आँखाका गहिराइहरूमा
तिमीले मलाई ऐना बनायौ
र हेर्यौ तन र मनको प्रतिबिम्ब
तिम्रै प्रतीक्षामा टाँगिएको मेरो
मनको भित्तामा
एउटा सफा र फराकिलो शिशा
सगर छोएर उभिन्छु
दौडँदै दौडँदै तिम्रा छालहरूका सागर
अँजुलीमा खेलाएर
भर्खर पालुवा पलाइरहेको रूख
बनेर उभिन्छु
पूर्णेको जून किन अल्झियो रूखको
काप कापमा
जून भित्र पनि मीठो पदचापको नयाँ नयाँ
नोटेशन लेखिरहेछु
-२०७६ भाद्र ३१ गते (सोलुखुम्बु,सगरमाथा)
प्रकाशित मिति, २०७७ साल भाद्र २५ गते बिहीवार