Logo

तारा किशन फाउण्डेशनद्दारा न्यूयोर्क फरेस्ट पार्कमा कविता वाचन सम्पन्न

कारोबार आज,भाद्र २४ गते बुधवार २०७७  न्यूयोर्क – गत शनिवार सेप्टेम्बर ५ का दिन न्यूयोर्क स्थित फरेस्ट पार्कको खुल्ला अनि मनोरम प्राकृतिक वातावरणमा बनेको व्यवस्थित कार्यक्रम स्थलमा “नेपाली रचना वाचन” कार्यक्रम भव्य; सभ्य; र छरितो ढंगले सम्पन्न भयो । न त आशनग्रहण; न लम्बेतान मन्तव्य भाषण; न खादामाला । न्यूजर्सी; बोस्टन; न्यूयोर्कमा साहित्य सर्जक एवं साहित्य प्रेमीहरुको उल्लेख्य संख्यामा शानदार उपस्थिति । कविहरुको छोटो मिठो कविता, गजल वाचन । खाजा र पानीको समुचित व्यवस्था । एउटा स्वच्छ अनि फरक अनुभूतिमा उत्कृष्ट कार्यक्रम । कवि किसनसिंह धामी र उहाँको जीवनसंगिनी तारा धामी आबद्ध तारा किशन फाउण्डेशनले आयोजना गरेको यो रचना वाचन कार्यक्रममा राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे प्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कोरोना कहरको त्रासले आक्रान्त समुदायको मनमा रहेको “यो कार्यक्रम कसरी सम्भव र सम्पन्न होला ?” भन्ने आशंकाको बादललाई पनि मज्जाले हटाई दियो । सम्भव हुनसक्दो रहेछ भन्ने कुरा छ्याङ्ग पारिदियो । धेरैले भने – “किसनसिंह धामीले गर्छु भनेपछि गरिकन छाड्दो रहेछ ।”चट्टानमा पनि फूल फूल्दछ” भनेको यहि हो सायद !

यसअघि पनि न्यूयोर्कमा कवि किसनसिंह धामीको अवधारणा र सक्रियतामा नौलो शैलीको कार्यक्रम “फर्मल ड्रेसमा कविता वाचन” सफलतापूर्वक सम्पन्न भएको थियो ।यी कार्यक्रमहरु हेर्दा आगामी दिनहरुमा कवि किसनसिंह धामीले आयोजना गर्नु हुने साहित्यिक कार्यक्रममा कोही छुट्नु हुने छैन भन्ने कुरामा आश्वस्त हुन सकिन्छ । कार्यक्रमको शुभारम्भमा हालै दिवंगत हुनुभएका राष्ट्रकवि माधव घिमिरेज्यू प्रति श्रद्धांजली व्यक्त गर्दै सबै उठेर एक मिनेट मौन धारण गरिएको थियो ।

सो कार्यक्रममा तारा किसन फाउण्डेशनका किसनसिंह धामीले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो भने तारा धामीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । फाउण्डेशनको प्रशंसा र उत्तरोत्तर प्रगतिको कामना गर्दै तथा राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रति श्रद्धा सुमन व्यक्त गर्नुहुदै संचारकर्मी शैलेश श्रेष्ठ; समाजकर्मी राजेश भट्ट; नवराज केसी; सिपिए विराज रिजालले बोल्नु भएको थियो ।

नेपाली रचना वाचन अन्तर्गत कविहरु गोवर्धन पूजा; गीता खत्री; आनन्द श्रेष्ठ; महेश्वर पन्त; किसनसिंह धामी; गीता पन्थ; दीपा राई पुन; नदिया लिबाङ; जसकुमार राई; विकास विष्ट; मणि बांग्देल; जानुका वस्ति ढकाल; संगीता उप्रेती रिजाल; विजया सिम्खडा; ज्योतिकुमार श्रेष्ठ; कुमार न्यौपाने; योगेश आदी; शान्ता घिमिरे; नवराज खडका; हंसराज जोशी; पुष्प अधिकारी गौतम; हेमन्त ब्रम्ह; विष्णुहरी भण्डारी; दीपेन्द्र बस्याल; विराज रिजाल; अर्जुन मैनाली; आरती धामी; सुहाना गुनीले रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित हुन नसक्नुभएको कविहरु डा. मधु माधुर्य; पदमा लिंखा मगर; ममता कर्माचार्यको कविताहरु वाचन गरेर सुनाइएको थियो ।कार्यक्रमको संचालन कवि मणि बांगदेलले कुशलतापूर्वक गर्नु भएको थियो । ज्ञातव्य रहोस् – तारा किसन फाउण्डेशनले केही वर्षहरु देखि नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्दै नेपाली समाजमा पिछडिएका जाति; वर्ग; महिला पुरुष तथा बालबालिकाहरुको सहयोगमा क्रियाशील भएर जुट्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्