गजल
-लेखनाथ खनाल “अङ्कुर”
मान्छे किन अरूलाई गिराउन तल्लीन हुन्छन्
अरू कै पिडाले जलेको हेर्न सौखिन हुन्छन्
सके मीठो बोलिदेऊ कसैलाई किन घोच्नु र ?
तिम्रा ती वचन कसैलाई तीखा संगिन हुन्छन्
ए ! हेर त यताउता सबैतिर उस्तै त भेटिन्छ
मरी जाने चोलामा यस्तो निष्ठुरी किन हुन्छन्
प्रकृतिले कसैलाई पनि अन्याय छैन गरेको
नभुल्नुस् दुखीको पनि त रात र दिन हुन्छन्
जब समय आउँछ पर्दैन ढलाउनु कसैलाई
अन्तिम दिन जो पनि सहारा विहीन हुन्छन् !!
प्रकाशित मिति : २०७७ साल साउन २० गते मंगलवार ,
अर्जुनचौपारी-६ स्याङ्जा, (हाल, युएई )