Logo

कविता – कुरूप कविता

– नमिता दवाडी

एक अत्यास ,छटपटी ,विवशता,कायरताको ,

गर्भबाट यस्तै कुरूप जन्मियो उ !

दोष कसको त? गर्भको या जन्मनेको?

मनभित्र सल्किएको डँडेलो ,

परेलीभित्र थुनिएको भेल ,

रुद्र घण्टीमै अड्किएको आवाज ,

अधरको बिचमा कष्टले चेपिएको मुस्कान

यी सब झेलेर अन्ततः

दाँत बिचबाट चपाइँदै निस्किएको जीर्ण

स्वरूप उ, छि ! कस्तो कुरूप !!

मन गगनमा घरीघरी भरेको उडान ,

चाहेको ठाउँमा अवतरण नभै दुर्घटना ग्रस्त हुँदा ,

कैयन सपना जलेर खरानी भएपछि ,

उही चिहानबाट निस्किएको सपनाको भूत ,

छि ! डरलाग्दो अनि कुरूप ।

हात खुट्टा छिनेर रगत बगाइरहेकी बेली,

सयौँ खुट्टाहरूले किचिमिची पारिएकी चमेली,

पत्र पत्र लुछेर बगरमा फालिएकी गुलाफ ,

अनि पङ्ख काटेर गिराइएकी जुरेली ,

यी सबैको लासबाट निस्किएको दुर्गन्धित

स्वरूप उ, छी ! कस्तो कुरूप!

दिनभरि हजारमा बिक्री वितरण हुने,

साँझ रातो बजारमा विचरण हुने,

त्यो कालो कोटबाट निस्किएको ,

मोसो झैँ स्वरूप , छि कति कुरूप !

मलाई माफ गर्नुहोस् ,

मैले सुन्दर ,सुकोमल अनि

सुगन्धित कविता जन्माउन सकिन ,

अनि समर्पण गरिदिएँ हजुरमा यो कुरूप कविता !

मलाई मेरो पहिलेको सुन्दर नेपाल दिनुहोस् महाराज !

म हजुरलाई पारिजात दिनेछु , सुगन्धा दिनेछु ,

म हजुरलाई सुन्दर कविता दिनेछु,

बाचा भयो !!

गोर्खा नेपाल (हाल, न्युजिल्यान्ड)

प्रकाशित मिति : २०७७ साल साउन १५ गते, बिहिवार

प्रतिक्रिया दिनुहोस्