कविता – कल्पना र अनुभूति
-कल्पना पौडेल ‘जिज्ञासु’
ए मेरो जिन्दगी
जब तिमी देखि टाढा हुने कल्पना गर्छु
मेरो वरिपरिको वास्तविकता फूलबाट
अचानक काँडा बन्न जान्छ
अनि बेसरी मलाई घोच्न थाल्छ
भत्भत् पोल्न थाल्छ मानौँ शरीरबाट
आत्म अलग्याइएको आभास हुन्छ
संसार अन्धकार लाग्छ
बाच्ने कुनै आधार देखिँदैन
अनि डाँको छोडेर रुन्छु
यत्तिकैमा कतैबाट तिम्रो
अन्तरात्मा देखि ध्वनि
निस्किन्छ
मेरी प्रेयसी
तिमी कहिल्यै म देखि टाढा नहुनु है !
तिम्रो माया र साथ बिना म अधुरो छु
मलाई तिम्रो ममताको आँचलमा लुकाएर
राख तिमी बिना मेरो जिन्दगी औचित्यहीन
हुनेछ भन्दै मेरा रुझेका परेलीहरू
ओठको स्पर्शले चुमिदिन्छ
मेरो यो पलपल दुख्ने एकान्तमा तिम्रो
काल्पनिक चुम्बनले मलाई
सारा पीडा र वेदना बिर्साउँछ
एक
तिम्रो बाफिलो सास यति एकाकार
बनिदिन्छ म संसार बिर्सन्छु
हराउँछु आफैँमा मलाई ठुलो
थकानबाट विश्राम मिलेको
महसुस हुन्छ ।
फेरी मलाई न्यानो
अँगालोमा कस्दै
प्रिय !
तिमी निराश नहुनु तिम्रो यो
उदासीनताले मेरो मनभरि
बादलले घेरिदिन्छ
त्यो मिठो स्वप्नको उज्यालोपनमा
औँसीको कालो रात बनेर छिरिदिन्छ
त्यसैले
मेरी मायालु
तिमी सदा हाँस्नु पर्छ है ? हाम्रा यी बिछोडका
शून्यतालाई मिठो सम्झना बनाएर गाँस्नु पर्छ
तिमीबाट कोसौँ टाढा म पनि त
हरपल तड्पेर बाँचेको छु नि
तिम्रा यिनै गुलाबी अधरले दिएको
अनगन्ती मायालाई सँगाल्दै
जीवन शून्य भएपनि तिम्रै कल्पनामा
डुब्दै सम्झना र स्वप्नमा
तिमीलाई भेट्दै.
तिमीलाई भेट्दै.
भौतिक रूपमा टाढा हुनु हाम्रा
बाध्यता हुन् तर आत्माको तार
सँगै जोडिएको छ
अनि म मुस्कुराउँछु
मलाई संसारको सबै खुसी
मिलेको अनुभूति हुन्छ
अनि फर्किन्छु
कल्पनाबाट
आफ्नै वास्तविक जीवनमा
साँच्चै
आहा ! कति मिठो हुँदोरहेछ !
यो मायाको अनुभूति !
प्रकाशित मिति : २०७७ साल साउन १५ गते, बिहिवार