Logo

कविता – साथी म​ तिम्रो

                       – नमिता दवाडी

आज पनि सम्झेँ गाउँलाई रुँदा कोइली वनमा

कहाँ गयौ सखी तिमी सम्झना चैँ मनमा ।

सम्झन्छु नि गाउँ पाखा तिमीसँगै डुलेको ,

त्यो मीठो बालापन तिमीसँग खेलेको छैन भुलेको।

तिमीसँग घण्टौँ खोपी खेलेको अनि जित हारको सानो झगडा

भोलिपल्ट भेट्थ्यौँ हामी बिर्सिएर सबै लफडा।

तिमी पुरुष अनि म नारी थाहै थिएन यो सबै नौटङ्की

कति मिठो साथ तिम्रो खेल्दाखेल्दैको चटारो ,

भनाभन अनि झटारो।

काठी ,चुच्ची ,छुच्ची तिमीले दिएको नाम

बदलामा काले , चमारे , छुच्चो, लुच्चो के गरूँ अरू बयान।

फेरि भोलि चाहियो साथी अनि बोलाउने कुनै बाहाना

अनि झगडापछि यही त हुन्थ्यो तिम्रो पनि चाहना।

अलिपछि यस्तै पन्ध्र सोह्र वर्षको उमेर समूह डेरा गरी बसेको पढ्नलाई,

मिरमिरेमा लालटिन बालेर शुरु भई गोधुलीमा सकिने दश कक्षाको हाम्रो पढाई ।

ऋण ठुलै लागेको छ गुरुहरूको कसरी चुकाउन सकिएला र खै ?

राति मस्त निन्द्रामा निदाई रहेका तिमीहरूलाई भूत बनेर तर्साउँदा सिरक फालेर तिमीले चिच्याएको ,

भोलिपल्ट बदलामा मेरो गृहकार्य तिमीले बुझाएर

मैले पिटाइ खाएको

अनि मिठो बदला भावले तिमी मुस्कुराएको।

देखिन्छ झगडा गरे जस्तै तर त्यो भन्दा मीठो सम्झना

के होला जीवनमा,

तिमी दुख खमा पनि हाँस्न सक्छु साथी ल्याएर मिठो सम्झना यो मनमा ।

जीवनको गोरेटोमा फेरि अर्को झुण्ड भेट भयो साथीको

परिपक्व भइसकेपछि म ,

भइसकेपछि कसैकी श्रीमती ,बुहारी ,भाउजू अनि आमा।

एउटै सम्बन्ध हुन्छ साथीको जो सँग तिमीसँगै आवारा बन्न सक्छौँ

यो सबै परिपक्वताको नामले छेकेन तिमीसँग भेटेपछि फेरी।

कक्षा हापेर सिनेमा हल भरिने गरी लस्कर लाग्थ्यौँ हामी,

विना संकोच गोरखापत्रमा बेचिएको चटपटे स्वाद

मानी मानी खान्थ्यौँ हामी।

टिकटमा जबरजस्ती छुट मागेर हल्ला गर्दै सिनेमा हेरेपछि संसार हाम्रै झैँ लाग्थ्यो

यी सबैमा मैले तिमीलाई तर तिमीले मलाई साथ दियौ प्रिय सखी, राम्रो गरयौँ या नराम्रो कामको लेखाजोखा गर्दिनँ म

तर तिम्रो साथ प्यारो लाग्छ, हाँस्दै रमाउँदै गरेका बात प्यारो लाग्छ ।

त्यसपछि जिन्दगीको अर्को मोडमा तिमी भेटियौ साथी काठमाडौँ खाल्डोमा,

दिनभरको दैनिकी खेपेर स्कुल हाताबाट निस्किएपछि,

खबरदारी र हक जमाउँदै २-४ साथीलाई फोन घुमाएर चिया अड्डा छिरेपछि,

चियाको चुस्कीसँगै निस्किने तिम्रा चुड्‌कीहरू कहिले भुलुँला र म।

यादगार त्यो अतीत चाहेर पनि भुल्न नसकिने ,

तत्कालीन समयमा अनुभूत गर्न नसकेको त्यो स्वर्णिम पल आज मिठो अतीत बनेर मुस्कुराएको छ।

तिम्रो मेरो फेरि भेट होला नहोला साथी सम्झना मनैमा छ

तिमीसँगै हुँदाको मिठो याद बाँकी छ

हाँस्दै रमाउँदै गरेका बात बाँकी छ

अनि जिउन बाँकी जिन्दगीको एक खात बाँकी छ

 हाल – न्युजिल्यान्ड

प्रकाशित मिति ,२०७७ साल, श्रावण ४गते, आइतवार

प्रतिक्रिया दिनुहोस्