कविता – स्पर्श भित्रको अस्पर्शता
– नमिता दवाडी
उत्ताउलो क्षितिज व्यग्र वासनामा सगर चुमी रहन्छ,
एकछिन अधर हटाउन सम्म मान्दैन ,
यता हिमाल ,
युगौँदेखि फुलाएर सेतो प्रेमको फूल कुरिरहन्छ ।
खहरे छिल्लिँदै बगरलाई जताततै छोएर जान्छ ,
चञ्चल स्पर्शले पानी -पानी हुन्छ बगर,
झुम्छ आनन्दमा र व्यग्र पर्खाइमा रहन्छ खहरेको ।
नदी कहिल्यै नसुक्ने मायाको मुहान अँगालेर
चुपचाप बहिरहन्छ।
जून ताराहरूले घेरिएको छ ,
बादलको सिरक ओढेर घरी घरी ,
खोइ के के गर्छ,
यता शान्त समुन्द्र छातीमा जून टाँसेर
अनन्त प्रेमको कथा लेखी रहन्छ,
किनारामा नीलो नुनिलो मसिले।
शीत बनेर रात , छुर्लुप्प भिजेर आफैँ
भर्छ जीवन डालीहरूमा,
बदलामा एउटा मुस्कुराहट सम्म पाउँदैन फूलहरूबाट ,
कृतघ्न फूलहरू ,
रसिलो,कसिलो हँसिलो बनेर कुर्छन् बिहानीलाई,
चुमिन ,चुसिन अनि निचोरिन भमराहरूबाट।
हो !
यिनीहरूले नै उत्तर दिएका छन् मेरा प्रश्नहरूको,
मेरा प्रियतम् ,
प्रश्नहरूको ओइरोले सताउने छैन तिमीलाई सोधेर ,
किन ?
हामी दूर भएर पनि दूर छौँ ,
स्पर्शित भएर पनि अश्पर्शित छौँ,
दृश्यमा भएर पनि अदृश्य छौँ ।
सागर नै गुरु मानेर
म कहिल्यै फर्किने छैन ,
उभिने छैन तिम्रो दिलको मझेरीमा
समयसँगै अनन्त अनुरागको सागर भई
मेरै पथमा बहँदै बनाउनेछु ,
अदृश्य ताज महल बटुलेर गट्टाहरू प्रेम र समर्पणको ।
गोर्खा नेपाल (हाल न्युजिल्यान्ड )
प्रकाशित मिति ,२०७७ साल, श्रावण ३ गते, शनिवार