कविता – हुने हो कमान्डर ?
जिन्दगीको भाग दौडमा ,
जिन्दगीले नै धकेलिदिएर,
पटक-पटक पछारिएपछि ,
सपनाका पर्खालहरू नाघ्न छाडेर
मन मस्तिष्कको चौतारीमा ,
सुईय सुस्केरा हाल्दै,
थुचुक्क बसेकै दिनदेखि ,
म नदी जस्तै अनवरत बगिरहने भएकी हुँ ,
किनाराहरूमा ठोकिए पनि
दुख्यो भनेर सुमसुम्याउँदिन घुँडाहरू ,
कोकेराहरुमा फस्दै र निस्किँदै गर्दाका,
दधारिएका मनका धर्साहरू,
पिडाले टिलपिलाएका नजर ,
शायद ,ऊ देख्न सक्छे र त सोध्छे ।
आमा ! दुखी -दुखी नबगे हुन्न ?
उसको प्रश्नको जवाफ दिन जरुरी ठान्दिनँ ,
फर्काएर मुन्टो अर्कैतिर ,
फेरि बग्ने तयारीमा लाग्छु म !
ऊ अझै हरेस खान्न ,
केही नबोलेरै सब थोक भन्न सिपालु ऊ ,
दिलाउँछे आभास, ऊ भित्र पनि मेरै अंश हुनुको,
मेरै रगत दौडिरहेको उसका धमनी र शिराहरूमा
र भन्छे कम्ता जिद्दी छैन म पनि!
भलै ! तिमी जति अनुभवी छैन म ,
जिन्दगीको म्याराथनमा ।
निर्बाध तेर्स्याउँछे प्रश्न अर्को ,
आमा ! सबैले भन्छन् तिमी फूल जस्ती छौ ,
फेरि किन मुस्कुराउँदिनौ?
म फूल जस्तै छ कि छैन ??
म मुस्कुराउन पर्छ कि पर्दैन ?
एकपछि अर्को ,
प्रश्नका छर्राहरू बर्साउँदै जान्छे ऊ ,
नचलेपछि काम यसले ,
यसरी हान्छे प्रश्नको अर्को कोर्रा !
हातमा उचालेर ,काखमा च्यापेर
जबरजस्त बोल्न सिकाएकी हौ ,
नसोधेका प्रश्नहरूको आफैँ जबाफ दिन्थ्यौ
दन्त्य कथाका बहानामा ,
अब सोध्न र बोल्न सक्ने भएकी छु,
किन बन्ध गर्छौ ओठहरू आमा !!
हो,
यस पटकको मेहनत खेर गएन
उसको कोर्राले मेरो बोली फुट्यो
हत्तपत्त भनेँ,
पर्दैन पर्दैन ! बिना इच्छा चुपचाप बगिरहन,
मन लाग्दा किनारमा अडिन ,लडीबडी गर्न
फ्याँकिदिएर बुर्का बालुवै बालुवा हुन,
कोकेराहरुमा लुका मारी खेल्न र
फूल झैँ मुसुक्क मुस्कुराउन तिमी पाउनु पर्छ,
गाह्रो छैन ,
खाली एउटा युद्ध लड्नुपर्छ विद्रोहको ,
बिना हतियार ,अन्धकारमा मसानहरूसँग ।
तयार छौ भने,
आजै म तिमीलाई कमान्डर घोषित गर्छु,
भरिदिन्छु बारुद बन्दुकहरूमा र
लागिरहन्छु तिम्रै पछि पछि ,
एउटै शर्त छ आमाको यहाँ !
यसमा तिमी पराजित हुन पाउने छैनौ !
र आउन पाउने छैनौ मृत्युको समाचार बनेर !!
नमिता दवाडी ,गोर्खा नेपाल ,हाल : न्यूजिल्यान्ड