कविता – दर्शक हुनुको मजा –
– नमिता दवाडी
जिन्दगी लेख्दिने हिम्मत गरेँ भनेँ भने !
हजुर के भन्नुहुन्छ?
थाहा छ ! भन्नुहुन्छ ,
कवि बहकिएछ।
थोरै बहकिने मन भयो आज ,
अलिकति खोतल्न मन लाग्यो ,
फूल बिझेर खिल पल्टिएको यो जिन्दगीलाई ।।
भोक्ता बनेर लेख्न गार्हो छ,
दर्शक बनी अटाउन खोज्दैछु अक्षरहरूमा
दुखेको जिन्दगी ,
थाहा छ ,
म मान्छे हुँ , मान्छे अरूको दुःखमा सितिमिति रुँदैन
र मलाई अरू रुनु छैन !
भत्किएको जिन्दगीको मानचित्र,
मनको कलमले म जोड्न खोजिरहेछु,
र जान्दछु ,
यो बहकाऊ भन्दा बढी केही होइन ।।
बालापनमा नचाहेरै छुटेका हातहरू ,
दुई थोपा आँसुको जडानले जोडिदिएँ ,
सुन्दर देखियो मेरो जिन्दगीको मानचित्रमा ,
खुल्यो बचपनको आकाश !
जीवन नामले दिएका अनमोल उपहारका डिब्बाहरू,
मुटुभित्रको सुनामी ,
अवरुद्ध गला,
भिजेका परेली,
ठेस लागेर उप्किएका नङ
काँढा कसरी भन्नु आफ्नैले दिएका,
फूल बिझेर सैन पल्टिएको अन्तस्करण
र यी सबैलाई फिका फिका पारेर
औँला ठड्याउँदै उदाएको बाध्यात्मक मौनता ,
यो आफ्नै भोगाइ हो भन्ने बिर्सिएर ,
दर्शक मात्र भएर हेर्दाको मजा ,
आहा !! आहा !! म लेख्न सक्दिन !
तर ,
जरुर लेख्न सक्छु ,
एक पटक मेरै लागि भए पनि
यो अभ्यास गर्दिनुहोस् र मुस्कुराईदिनुहोस्
मेरा प्रिय पाठक बृन्द !!
प्रकाशित मिति, २०७७ साल असार २२ गते सोमबार