Logo

कथा – सप्ताह पुराण

                                                            – लक्ष्मण चौलागाईं विद्रोही

रिजन ब्राह्मणको गाउँ चोरमारा गाउँमा हरि भजनले सप्ताह महायज्ञ पुराणको आयोजना गरेछन्। अनि सोही गाउँको एक घरमा एक जना ९० वर्षका वृद्ध पनि रहेछन् जो कहिल्यै पुराण नसुनेका,सप्ताह के हो ? महायज्ञ के हो ? केही थाहा नपाएका मानिस रहेछन्।
बृद्द शर्मानन्दका छोरा शिक्षक रहेछन्। ४ छोरा ५ छोरीका हजुरबा रहेछन् शर्मानन्द। शर्मानन्दका जेठा छोरा धर्मानन्दले बुवालाई भनेछन्, ” बुवा ! चोरमाराका कोल्टाघरे हरिभजनले सप्ताह लगाउन लागेछन् भोलिदेखि ,पुराण सुन्न जाने हो ?नाति कान्तेले लगिदिन्छ हजुरलाई बुवा ! ,” भनेछन्।

अनि बुवाले भन्नुभएछ, ” कस्तो हो पुराण ?अनि पुराण सुने के हुन्छ ? भन्नुभएछ।

” धर्म हुन्छ नि बुवा ,पाप कटानी हुन्छ,स्वर्ग पुगिन्छ भनेछन्।

जिउभरी कोठी नै कोठी ,आँखी भौं सेतै फुलेका बृद्द बुवाले हुन्छ भन्नुभएछ।

भोलिपल्ट कान्तेले हजुरबालाई प्रवचन स्थल लगेर छाडेर घर गएछ। पण्डित कृष्णदास उपाध्याय भजन भन्दै गरेका भक्तजनहरू नाच्दै गरेका दृश्य देखेर बृद्द रोमाञ्चित हुँदै हेर्दै गेटमा गएर उभिइएछ्न् । अनि पं. कृष्णदासले भजन बिचैमा रोकेर ,’आउनुहोस् ‘ भन्नुभएछ। बृद्दले कहिल्यै प्रवचन नसुनेका आउनुहोस् आउनुहोस् भन्दै उभिराखेछन्। अनि फेरि भजन चल्छ। धेरै बेरसम्म बृद्द यताउति हेर्दै उभिइराखेका देखेर फेरि पण्डितले भजन ब्रेक गर्दै भन्नुभएछ,”यताउति के हेर्दै हुनुहुन्छ ?”

बृद्दले उनलाई लक्षित गरेर पण्डितज्यूले भन्नुभएको भन्ने बुझेनछन् अनि, “आउनुहोस्….. यताउति के हेर्दै हुनुहुन्छ…..?” भन्दै बृद्द उभिइरहेछन्। अनि पण्डितले फेरि भजन निरन्तर गाउन थालेछन्। सबैले हात ठट्टाउदै भजन भनेका भक्तजन नाच्दै गरेका दृश्य हेर्दै बृद्द सोही स्थानमा उभिइरहेछन् । अनि पण्डितज्यूलाई टीठ लागेछ र फेरि भजन रोकेर ‘बस्नुहोस्’ भन्नुभएछ। अनि बृद्द आउनुहोस् /यताउति के हेर्दै हुनुहुन्छ ? बस्नुहोस् भन्दै मन्त्र जप गरे झैँ सोही मनमनै भन्दै उभिरहनुभो बस्नुभएन। फेरि भजन चल्छ। अन्तिममा पण्डितले सबैलाई प्रसाद ग्रहण गर्नको लागि ‘जानुहोस्’ भन्नुभएछ।

बृद्द फनक्क फर्केर आफ्नो बाटो लाग्नुभएछ । मान्छेहरू धेरै यसैले बृद्द कता जानुभयो पण्डितले याद गर्नुभएन । बाटोमा कान्ते हजुरबालाई लिन आउँदै रहेछ। अनि सोधेछ, “हजुरबा पुराण सुन्नुभयो है ?” भनेछ। अनि ,”अँ सुनेँ नाति असाध्यै रमाइलो भो ” भन्दै कान्तेको हात समात्दै घर पुग्नुभएछ। मनमनै आउनुहोस्,यताउति के हेर्दै हुनुहुन्छ ,बस्नुहोस्,जानुहोस् भन्दै बृद्द त्यसैमा निरन्तरता दिँदै हुनुहुँंदोरहेछ। राती सबैले भोजन गरे,बृद्द गोठको चोटमा सुत्ने,गोठको चोटामा अन्नपात राख्ने गरेको रहेछ। अनि म सुत्न गएँ भन्दै जानुभएछ। आउनुहोस् यताउति के हेर्दै हुनुहुन्छ बस्नुहोस् भन्दै बृद्द गोठको ढोका अलिकति ढप्काएर आग्लो नि नलगाई चोटातिर गएर सुत्नुभएछ।

बृद्द निदाउनुभएछ। मध्यराती दुइटा चोर आएछन्। ढोका बिस्तारै खोलेर चोरहरू भर्याङ बाट उक्लेर चोटामा पुगेछन्। चोटामा चोर के पुगेका मात्रै थिए,बृद्दले निन्द्रामा आउनुहोस् भनेछन्। चोरहरू झसङ्ग झस्किएछन्। त्यसपछि बृद्दले देखे भनेर लुक्नलाई यताउति चोरहरूले हेर्दै गर्दा वृद्धले भन्नुभएछ ,

” यताउति के हेर्दै हुनुहुन्छ?”

अब चोरहरूलाई फसाद पर्‍यो। अनि चोरहरू थुन्से घोप्ट्याएको ठाउँमा छेकिएर बसेछन्। अनि बृद्दले ” बस्नुहोस् ” भन्नुभएछ। ला ! अब के गर्ने बृद्दले हामीलाई देखे भनेर चोरहरू अब भाग हरे भनेर आफ्नो साथीलाई भनेर भर्याङ्बाट ओर्लन लाग्दा ‘जानुहोस्’ भनेर बृद्दले भन्नुभएछ।

अब चोरहरूलाई साह्रो संकट पर्यो। बृद्दले उनीहरूलाई झम्टिनुभएन,बडा आदर सत्कारले जानुहोस् भनेपछि चोरहरूले बाटोमा सल्लाह गरेछन्,

“हरे ! हामीले ठूलो गल्ती गर्यौं ,अब भोलि बृद्धकोमा गएर क्षमा मागौँ अनि हामी यस्तो चोरी धन्दा नगरौँ है ?”, भनेर भनेछ। अनि दुवैजना भोलिपल्ट उज्यालो भैसकेपछी वृद्धको पास गएछन् र भनेछन्।

” बाजे ,हामीलाई माफ गर्नुहोस् ।”

“किन बाबु ?”

” हामी हिजो हजुरकोमा चोर्न आएका थियौँ। हजुरले हामीलाई चोटामा पुग्दा बोलाउनुभयो आउनुहोस् भनेर,अनि हामी डरायौँ र यताउति हेर्दा यताउति के हेर्दै हुनुहुन्छ भन्नुभयो। अनि हामी लुक्न थाल्दा, बस्नुहोस् भन्नुभयो ,हामी भाग्यौँ अनि जानुहोस् भन्नुभयो। अनि आज हामी माफी माग्न आएको बाजे ,हामीलाई क्षमा गर्नुहोस् “,भनेछन्।

बाजेले कुरा बुझ्नुभयो,

“ल ल अब देखि राम्रो काम गर्नु ,चोर्नु पाप हो। चोरी लगायत अपराध गर्दा स्वर्ग जान पाइँदैन ,नर्क जानुपर्छ बाबु ।” ,भनेर सुझाउनुभएछ र चोरहरूले अब देखि नचोर्ने ,यस्तो कुकार्य नगर्ने भनेर प्रायश्चित गरेछन्।

 प्रकाशित मिति, २०७७ साल असार २२ गते सोमबार 

प्रतिक्रिया दिनुहोस्