Logo

कलमहरू जागै बस्नुपर्छ

       -दुर्गाप्रसाद फुयाल

अटल बन्दरगाहमा जहाज उभिएको बेला

नदीबाट बालुवा हल्लाउँदै जहाज आउने खतरामा छ

पेट्रोल र ग्यासमा समेत पाइपलाइन बन्न सक्छ

किसानको खेतमा बाढिपहिरो पस्दा नियन्त्रणको बजेट खान सक्छन्

त्यसैले , कलमहरू जागै बस्नुपर्छ !

यहाँ चुचुरोमा घाम उदाउनु अघि नै

बिहानी प्रभाको चीरहरण हुने खतरा छ

यहाँ उन्मादी चक्रव्यूह अस्ताउनु अघि नै

जाज्वल्यमान परिवेशको अनार्जव हुने खतरा छ

त्यसैले, कलमहरू जागै बस्नुपर्छ !

सत्य निरीह बनेर टुलुटुलु हेरिरहेको बेला

कुटिल पराधिनता भित्रिने खतरा छ

झुट मदमत्त ताण्डव मच्चाइरहेको बेला

समय लेण्डुपको अदपमा सेरिने खतरा छ

त्यसैले, कलमहरू जागै बस्नुपर्छ !

यहाँ सुकुमबासीको छातीमा डोजर गुडिरहेको बेला

दैलोमा टेकेको पारिलो घाम हराउन पनि सक्छ

यहाँ कमैयाको गर्धनमा लाठ्ठि नाचिरहेको बेला

ओठमा फुलिरहेको खुसीको पल लुटिन पनि सक्छ

त्यसैले, कलमहरू जागै बस्नुपर्छ !

अतल बन्दरगाहमा जहाज उभिएको बेला

मनोहर चिमाल ओइलाउन पनि सक्छ

नदी, प्रकृति र गैँडा हराउन सक्छन् यतिबेला

रिझाउन छिमेकी र विदेशी उपचारमा जान

त्यसैले, कलमहरू जागै बस्नुपर्छ ,

वर्तमान प्रसव वेदना सुसेली रहेको बेला

गुणादीमा सुगन्ध दिँदै गणतन्त्र र विधि सलबलाउँदै गर्दा

अधिनायकवाद मौलाउन र विधिको शासन हराउन सक्छ

न्यायिक हिरासत हुन्न भन्दै माफीको कानुन बन्न सक्छ

त्यसैले, कलमहरू जागै बस्नुपर्छ !

वार्ता नमान्नेहरू विवादमा जिस्कँदै गर्दा

अनुसन्धान रोकी तस्करी बढ्न सक्छ

अरूलाई कर तिराई नेप्से बदल्नेहरू रमाउन सक्छन्

कागजी मात्रै कामहरूको लेखा परीक्षणमा हरियो लाग्न सक्छ

त्यसैले , कलमहरू जागै बस्नुपर्छ !

न्यायमा भागबन्डा र नियुक्तिको पत्र दिँदा

सुनुवाइमा संकेतले निर्णय गर्न सक्छ

भूकम्पले थिलथिलाको बस्तीमा बाढी पस्न सक्छ

घर नहुनेलाई भन्दा हुनेलाई राहत मिल्न सक्छ

त्यसैले , कलमहरू जागै बस्नुपर्छ !

अधुरो पुलको सपनामा अल्झिएको तुइन तर्दा

पुरस्कारको रहर पत्रकारको हुनसक्छ

जन्मकर र मृत्यु कर तिर्न नसक्दा भ्रूण हत्या हुनसक्छ

तर पनि नागरिकको हक होइन हाम्रो निगाह भन्न सक्छन्

त्यसैले , कलमहरू जागै बस्नुपर्छ !

सिर्जनात्मक उत्प्रेरणा विमुखको मुखमा पुग्दा

निमोठिन र बढारिन सक्छन् सिर्जनाहरू

भोटका लागि झुट सपना बाँढ्न सक्छन्

कामहरू भने समाजका नाममा पार्टीको गर्न सक्छन्

त्यसैले , कलमहरू जागै बस्नुपर्छ !

मापदण्ड नपुगेकोलाई आफ्नो सरकारले झुट गर्ने बेला

अध्ययनमा गएका छोरा, चेलीलाई आरोप लगाउन खोज्लान्

न्यायका लागि अनशनरत र आन्दोलनकारीलाई

अपहरण गरी अपराधी बनाउन सक्छन्

त्यसैले , कलमहरू जागै बस्नुपर्छ !

आफू अँध्यारो भएपनि ब्ल्याक बोर्ड ,

उज्यालो घाम दिन्छ नानीहरूलाई ,

तर , यती निकम्मा छ कि डस्टर ,

न आफू लेख्छ , न अरूले लेखेको देखी सहन्छ ।

त्यसैले , कलमहरू जागै बस्नुपर्छ ।

  उपमहासचिव ,

नेपाल निजामती कर्मचारी युनियन(संघ )

केन्द्रीय कार्यसमिति

काठमाडौँ , नेपाल !

प्रकाशित मिति,२०७५ साल कार्तिक ८ गते ,बिहिवार 

प्रतिक्रिया दिनुहोस्