Logo

नारीलाई

 

                  – गंगा लिगल

बिधानमा पूर्ण अधिकार छ नारीलाई
अब यहाँ पूर्ण सरोकार छ नारीलाई
यो त केवल किम्बदन्ती भयो समाजमा
भन्छन् स्वतन्त्रको भागिदार छ नारीलाई ।।

घरमा कुपोषण भोजन छ नारीलाई
समाजमा शोषणको वजन छ नारीलाई
रात परे हिंड्न डर छ आक्रमणको
घटनै घटना को टेन्सन छ नारीलाई ।।

ईर्ष्या ईर्ष्याले खिच्छ उन्नतशिल नारीलाई
भ्यागुताले झैँ तान्छ प्रगतिशील नारीलाई
माथि लाग्न खोज्ने ती समयको प्रयासमा
तान्दै तल फाल्छ प्रयत्नशील नारीलाई ।।

हिंडन डुल्न सधैँ सशंकित छ नारीलाई
शुन्य समयले आतंकित छ नारीलाई
बचाउ नामले घृणित हात अघि बढ्छन्
हुन्छ यस्तै यस्तै सदा प्रवाहित नारीलाई ।।

कार्यालयमा बढी बढी काम नारीलाई
दिनताको बोझ र कम दाम नारीलाई
तिनलाई सहनुपर्छ चौतर्फी प्रताडना
विकास विकास हल्लामा नाम नारीलाई ।।

प्रकाशित मिति, २०७४ साल चैत्र १ गते, बिहिवार 

प्रतिक्रिया दिनुहोस्