Logo

कथा: गुनी मान्छे

 “मनमा अनेक कौतूहल बढ्दै गयो । म कहाँ छु ? कसरी यो अवस्थामा आएँ ? आज सम्म मैले आफ्नो शरीरलाई नुहाउने समय भन्दा बाहेक यसरी निर्वस्त्र पारेको आफैलाई याद छैन । मस्तिष्कले काम गर्न छाड्यो मेरो । कपडाको खोजीमा बिस्तारै दायाँ बायाँ हात सलबलाएँ । म बिछ्यौनामा रहेछु भन्ने थाहा पाएँ साथमा अर्को आश्चर्य जन्मियो । त्यही एउटै ओच्यानमा नग्न नारी शरीर पनि लडिरहेको हातका स्पर्शहरुले जानकारी गरायो ।”                 

                       –मनोज ढुंगाना 

बिउँझदा चुक घोप्टिए झैँ अन्धकार थियो । अस्तरका बास्ना मगमगाइरहेको थियो । आँखा मिच्दै बिस्तारै टाउको र शरीर उठाएर त्यो अन्धकारमा नियाल्न खोजेँ, अँह, केही देखिएन । अकस्मात हातहरू आफ्नै छातीमा पुगे.., मन चिसो भयो.., बिस्तारै आफ्ना हातले आफ्नै शरीर छाम्दै गएँ….। …..लौ…, बित्यास पो भएछ….., मेरा शरीर पूर्णरुपमा निर्बस्त्र रहेछन् ।

मनमा अनेक कौतूहल बढ्दै गयो । म कहाँ छु ? कसरी यो अवस्थामा आएँ ? आज सम्म मैले आफ्नो शरीरलाई नुहाउने समय भन्दा बाहेक यसरी निर्वस्त्र पारेको आफैलाई याद छैन । मस्तिष्कले काम गर्न छाड्यो मेरो । कपडाको खोजीमा बिस्तारै दायाँ बायाँ हात सलबलाएँ । म बिछ्यौनामा रहेछु भन्ने थाहा पाएँ साथमा अर्को आश्चर्य जन्मियो । त्यही एउटै ओच्यानमा नग्न नारी शरीर पनि लडिरहेको हातका स्पर्शहरुले जानकारी गरायो ।

म अन्योलमा परेँ । आफू सुत्नु अघिका घट्नाक्रमहरु सम्झन खोजेँ, के भएथ्यो…, स्मरण गर्न खोज्छु अहँ, केही सम्झना छैन । तकियाको सर्पोट राखेर आधा शरीर उठाएर भित्तामा ढेसिएँ र आफ्नो मनलाई शान्त बनाउने कोशिाषमा आँखा बन्द गरेँ, केही बेर लामो श्वास लिएँ, बिस्तारै घट्नाक्रम सम्झने प्रयास गरेँ..। ओ हो…, हिजो त म राष्ट्रिय स्तरमा भइरहेको एउटा साहित्यिक कार्यक्रममा पो थिएँ त !

संस्थागत रुपमा निमन्त्रणा आएको थियो राष्ट्रिय स्तरमा पहिलो पटक हुनलागेको साहित्य वाचन तथा स्रष्टा सम्मान समारोहको । आवास व्यवस्था सहितको सो कार्यक्रममा हरेक साहित्यिक संस्थाबाट अधिकतम तीनजना सम्मको उपस्थितिका लागि आग्रह गरिएको निमन्त्रणामा अध्यक्ष ज्यू लगायत अधिकांश कार्य समितिका साथीहरूले आफ्नो कार्य ब्यस्तताको बाहाना गर्न थालेपछि उपाध्यक्षको हैसियतले म र साथमा कार्य समिति सदस्य जमुनाले प्रतिनिधित्व गर्ने निर्णय भयो ।

मेरो साहित्यिक यात्राका कुरा गर्नुपर्दा शुरुका दिनहरूमा म देश काल र परिस्थिति हेरेर मनमा उर्लिएका तरंगहरुलाई जस्ताको तस्तै सामाजिक सञ्जाल मार्फत पस्कन्थे । कहिले टन्नै प्रशंसा पाउँथे त कहिले सुन्नै/पढ्नै नसकिने गाली । गाली र तालिका बिचबाटै म कविता विधामा रमाउन थाले । पेशाले शिक्षक रहेको कारण गलतको विद्रोह र सहीको समर्थन मेरो स्वभाव बनेको थियो । यही धारमा बग्दा बग्दै म कहिले देखि क्रान्तिकारी कविको रूपमा परिचित भएँ आफैले पत्तो पाइन ।

भर्खरै लोकसेवामा नाम निकालेकी जमूना पेशाले गा.बि.स. सचिव हुन् । कतै साहित्यिक कार्यक्रम भनेपछि हुरुक्कै हुन्थिन्, जागिरै छाडेर पुग्थिन् उनी । कनिकुथि लेखेका मुक्तक र गजल सुनाएपछि श्रोताले बजाउने तालीमा असाध्यै आनन्द मान्छिन् उनी । शब्दमा भन्दा पनि आवाज र प्रस्तुतिमा दम थियो जमुनाको ।

साहित्यिक कार्यक्रमकै दौरान एक दिन चितवनका गजल संराटसंग उनको साक्षातकार भयो । आफ्ना गजलहरुलाई श्रोतामाझ पस्कनु पूर्व उनका गजलमा नमिलेका काफिया, रदिफ, बहर र शब्द चयन गजल संराटले संशोधनमा सघाइदिन थाले पछि शब्द पनि दमदार अनि गजल गायिकाको रूपमा उभ्भिन सफल भइन जमुना । उनको उमेर, स्वभाव र गजल प्रस्तुतिका आधारमा उनलाई “चटपटे” को उपमा दिएका थियौँ हामीले ।

माघको दोस्रो हप्ता, हामीले मध्यान्ह बाह्र बजे कार्यक्रम स्थलमा आफ्नो उपस्थिति जनाइ सकेका थियौँ । आयोजकले होटलको रुम नं. १०८ र १०९ को साँचो हाम्रा हातमा थमाइदिए, “ल सर/म्याम, हजुरहरु यो रुममा आफ्ना सामानहरू राखेर फ्रेश भएर दुई बजे सम्म ग्राउड फ्लोरको सभाहलमा आफ्नो रचना लिएर उपस्थित हुनुहोला । कार्यक्रम ६ बजे सम्म चल्ने छ । त्यस पछि दुई घण्टा ककटेल पार्टी अनि डिनर ।” रुम नं. १०८ जमुनाले रोजीन्, १०९ मैले पाएँ । हामी आ–आफ्ना रुममा झोला थन्क्याएर फ्रेश भयौँ र आयोजकले सूचना दिए मुताविक ग्राउण्ड फ्लोर पुग्यौं ।

सभाहल आकर्षक ढंगले सजाइएको थियो, मानौ त्यहाँ कसैको बिहे हुँदै थियो र हामी निम्तालु थियौ । एक भित्ताभरिको भव्य ब्यानरमा लेखिएको थियो “साहित्य वाचन तथा स्रष्टा सम्मान समारोह” । आयोजकले देशभरिका साहित्यकारहरुलाई रचना सुन्ने–सुनाउने अवसर तथा स्रष्टा सम्मान गर्ने कार्यक्रम आयोजना गर्दै पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका साहित्यकारहरुलाई निम्तो गरेको कारण राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका साहित्यकारहरुको मेला लागेको थियो त्यहाँ ।

पहिलो दिन साहित्य वाचन र दोस्रो दिन स्रष्टा सम्मान गर्नेगरि आयोजित कार्यक्रमको पहिलो दिन, कार्यक्रम शुरु हुनुपूर्व दर्शकदिर्घामा बसेका देशभरका साहित्यकारहरु देखेर दङ्ग पर्दै थियौँ हामी । केही दोहोरो चिनाजानीका स्रष्टा थिए भने केही आफूले मात्र चिनेका तर उनीहरूले नचिनेका, पहिलो पल्ट देखिएका थुप्रै अनुहार थिए त्यहाँ ।

कार्यक्रम सञ्चालकले मुक्तक तथा गजलका माध्यमबाट सम्पूर्ण स्रष्टाहरूलाई स्वागत गर्दै कार्यक्रमको शुभारम्भ गरे । प्रमुख अतिथिका रूपमा थिए राष्ट्रकवि माधवप्रसाद घिमिरे । बरिष्ठताका आधारमा सबै स्रष्टाहरूलाई आसन ग्रहण गराउँदै गए । हामीले अनेक विधाका हरेक अनुहारहरु नजिकैबाट चिन्ने अवसर पायौं । सम्झेर के साध्य, पहिलो पटक देखेको र सुनेको नाम ? नेपाली मूलका भारतीय साहित्यकारहरुको पनि विशेष उपस्थिति रहेको थियो कार्यक्रममा ।

दार्जिलिंग, सिक्किम, गुवाहाटी, बनारस, देहरादुन तथा महाराष्ट्रबाटसबै खाले विधाका साहित्यकारहरुको यो जमघटमा आफ्ना मन परेका केही साहित्यकारहरु सँग अटोग्राफ लिने, चिनाजानी गर्ने तथा पुस्तक साट्ने काम गरियो केही समय । विषेशगरि वरिष्ठ साहित्यकारहरु परशु प्रधान, डा. ध्रुब चन्द्र गौतम, कृष्ण धरावासी, राधेश्याम लेकाली, सरुभक्त लगायतका व्यक्तित्वहरुसँग साक्षात्कार तथा भलाकुसारी गर्ने अवसर मिल्यो ।

रचना वाचनका लागि गजल, कविता, लघुकथा, हाइकु, मुक्तक, गीत, नाच गर्दै सबै खाले रचनालाई क्रमैसँग वाचनका अवसर दिइएको थियो । पुष्प अन्जलिको चोटीलो गजल थियो, “देश भित्र यतिधेरै संग्राम देखिरहेछु, बन्द हड्ताल र चक्काजाम देखिरहेछु”, धनराज गिरीको ब्यंग्यात्मक लघु कथा सुन्न पाइयो । सँगै अमला अधिकारीको गजल “के भो के भो आज भोलि सोचीरहेछु, नांगिउँ कि कुर्ता खोली सोचीरहेछु” वाचनले माहौल निकै तातेको थियो । पालोमा रहेका स्रष्टाहरु आफ्ना तयारी गर्दै थिए, अनि हाम्री चटपटे नानी पनि प्याट्ट मेरो पाखुरामा पिटेझैं गरी भन्दै थिइन् ।

सर म पनि श्रृंगारिक गजल गाउँछु है, वाह वाह धेरै पाइन्छ क्या .. ?

“हो नि, यो जाडोमा आगो बाल्न पर्छ है तिम्रो गजलले” मैले पनि समर्थन दिएँ ।

फुरुंग हुँदै “लौन कुन चाहिँ गजल गाउँ त म ?” भन्दै डायरी खोतल्न थालिन् उनी । अरूका एक सा एक रचनाहरू सुन्न पाएर त्यसै

त्यसै दंगिएको त थिए नै, आफूले एउटा समय सान्दर्भिक कविता वाचन गर्ने तयारीमा थिएँ ।

जमुनाको गजलले साँच्चै पो आगो लगायो “यो तन, यो मन भोग गर्ने राजा चाहियो, तयार कोही छ भने बैण्ड बाजा चाहियो”

साहित्यानुरागीहरुको भिडबाट राजा बन्न चाहनेहरुले निक्कै हुटींग गरे, वन्स मोर.., वन्स मोर.. को हल्ला पनि मचियो तर समयको पावन्दीका कारण उनलाई पनि दोहोर्याउन पाउने अनुमति दिइएन । मञ्चबाट ओर्लिएर आफ्नो स्थान सम्म आउँदा सयौँ भन्दा बढी बधाई र अभिवादन खाँदै आइपुगिन् उनी । मैले पनि हात मिलाएर तारिफ गरिदिएँ “साँच्चै आगो बाल्न सफल भयौ तिमी” भनेर ।

केही ब्यंग्यकार स्रष्टाहरु पनि थिए जसले ब्यंग्यकै माध्यमले देशको राजनैतिक परिवेश र राज्य व्यवस्था प्रणाली माथि चोटीलो प्रहार गरे । शेखर अस्तित्वले गजल के हो र कस्तो हुनुपर्छ भन्ने सन्दर्भ जोड्दै मिठो गजल लयमै प्रस्तुत गरे, “बहरको नाश गर्दैमा गजल कसरी भनुँ साथी, सबैले वाह भन्दैमा गजल कसरी भनुँ साथी ?”

कार्यक्रम प्रस्तोताले मेरो नाम बोलाउँदा छाँगाबाट खसेजस्तै भएँ, लौ मेरो पनि पालो पो आएछ । मानौ सोचेको थिइन कि यति चाँडै मेरो पालो पनि आउला भनेर । तुरुन्तै आफूलाई सम्हाल्दै मञ्चमा चढेँ । देश विदेशका वरिष्ठ साहित्यकारहरुका माझ आफूले प्रस्तुति दिन पाउँदा मन साहै्र आनन्दित थियो । साराका नजर म माथि टिकिरहेको र मैले के बोल्छु भनेर प्रतिक्षारत स्रष्टाहरूलाई यथोचित सम्बोधन गरेँ, आफ्नो छोटो परिचय सहित वाचन सुरु गरेँ आफ्नो कविता, “अभिभावक खोज्दै मेरो देश ।”

अरूको रचना वाचन हल्ला धेरै थिए भने मेरो कविताले सबैलाई मौन बनायो, गहिराइमा डुब्न बाध्य बनायो । कविता सकिंदा आफ्नै आँखा रसाएको थाहा भएन, सबैको आँखा छलेर आँसु पुछेँ, तालिका पर्रा छुटाउँदै मौनता भङ्ग गरे दर्शकदिर्घाका साहित्यिक मित्रहरुले । जमुनाले पनि मेरै अगाडी आँसु पुछेर सहानुभूति प्रकट गरी, “हजुरले यसरी सबैलाई रुवाउन चाहिँ नहुने हो के सर, श्रृगारिक कविता वाचन गर्नुभएको भए सबै हाँस्थे नि ।”

साँझ साढे सात बजे सम्म मिठा मिठा रचना सुन्न पाइयो । अन्तत् स्रष्टा सम्मान भोलि बिहान आठ बजे यसै सभाहलमा गरिने र खाना खुवाएर सबै साहित्यकारहरु बिदाइ गर्ने सूचना सहित सभाध्यक्ष ज्यूले सभा विषर्जन गरे ।

हेर्दाहेर्दै होटेल व्यवस्थापनका कर्मचारीहरुले सभाहललाई बार सहितको डाइनिंग हलमा परिणत गरे । वेहराहरुले टेवल टेवलमा सेवा दिन थाले गीत गाउन इच्छुकहरु मन्चमा चढेर गाउन थाले, बाध्यबादनका समूहले सङ्गीत दिए । नाच्न जान्नेहरु नाच देखाउन थाले । अनि म चैँ तमासे भएर आनन्द लिन थालेँ बियरको चुस्की लिँदै ।

“ओ हो सर हजुर पनि नाच्नु पर्‍यो नि आउनुस् न ?”

चटपटे जमुना मलाई तान्न आइपुगी, “मलाई कम्मर हल्लाउन आउँदैन जमुना, म हेरेरै मज्जा लिन्छु” भन्दा पनि उनले जवर्जस्ती मलाई नाचका केही स्टेपहरु सिकाएर नचाएरै छाडीन् ।

“गुड मर्निङ् सर….”

आवाजले मेरो एकाग्रता भङ्ग गर्‍यो, आँखा खोल्दा उज्यालो भइसकेको र आफूलाई जमूनाको सामु पाएँ । हल्का गुलाबी सारीमा सजिएकी जमुनाले उभिएर मुस्कुराउँदै “गुड मर्निङ्” दोहोर्याइन् । मेरो मुटुको चाल बढेर धड्किएको आवाज बाहिरै सुनिए झैँ लाग्न थाल्यो, निधार भरि चिटचिट पसिना उम्रिए । शब्दहरू सबै घाँटी मै अड्किए । म सँग बोल्नका लागि शब्द केही भएन, हतार हतार कम्बल तानेर आफ्नो नाङ्गो शरीर ढाक्ने कोशिस गरेँ ।

मेरो अवस्था देखेर जमूनाको मुस्कान हरायो, बिस्तारै मेरो नजिक आएर खाटमा बसी र भन्न थालिन् ।

“दोष हजुरको केही छैन सर, व्हिस्की मेरा लागि मनका पीडा भुलाउन सहयोगी उपचार थियो । हिजो हजुरले बियर पिउँदै गर्दा मैले नै हजुरलाई व्हिस्की पिउन उक्साएँ । मेरै लागि हजुरले पिउनु भयो र बियर र व्हिस्कीको ककटे्लका कारण हजुरलाई छिट्टो नशाले छोयो । शुरुमा हजुरलाई कर गरेर नचाएको थिए मैले, पछि त आफैँ नाच्न थाल्नुभयो ।

धेरै स्रष्टाहरु हजुरको नाच हेर्न जम्मा भए, साथमा नाचे, सबै खुसी भए । हजुर एकपटक नाच्दा नाच्दै लड्नु भयो, सबैले सघाए उठाउन, त्यति बेला शरीर नियन्त्रणमा नभए पनि होसका कुरा गर्दै हुनुहुन्यो । केही स्रष्टाहरुले हजुरलाई धेरै लागेको भनेर रुममा लैजान भने, पूर्वेली स्रष्टा माधव पोख्रलजीको सहयोगमा यहाँ सम्म ल्याएँ । हजुरको रुमको साँचो हजुरको पकेटबाट तत्काल निकाल्न नसकेपछि हजुरलाई मेरो रुममा ल्याएँ ।

केही परे याद गर्नुहोला है जमुनाजी, म रुम नं. १११ मा छु भनेर माधबजी आफ्नो रुम तिर लाग्नु भयो । करिब आधा घण्टा जति हामी त्यो एैना अगाडीका कुर्सीहरुमा बसेर गफ चुट्यौँ । हजुरकै आग्रहमा मैले केही गजल पनि सुनाएँ । हजुरले वाह् वाह् सँगै मेरो हत्केलामा हल्का चुम्बन गर्नु भयो । म लाजले रातो भएँ र अव छुट्टीनु नै बेस जस्तो लागेर हजुरको पकेटबाट रुमको साँचो लिएर “गुडनाइट” भनेर आफ्नो ब्याग लिएर बाहिरिनै लाग्दा अचानक हजुरले उल्टी गर्नुभयो ।

भुँईभरी साँझ खाएका खानेकुराहरु असरल्ल देखिए हजुरको उल्टीमा । मलाई झनक्क रिस पनि उठ्यो । बिस्तारै रिस शान्त भयो हजुरको वेहोसी देखेर । हजुरले लगाएका सबै लुगा उल्टीले भिजेका थिए । होटलको स्टाफ बोलाउने बिचारमा टेलिफोन उठाएँ तर हजुर हाँसोको पात्र हुने डरले बोलाइँन । बाथरुम लिएर गएँ र ह्याण्ड सावरको मद्धतले सबै फोहर सफा गरिदिएँ, टावलले पुछेर पलङमा ल्याइ बसाएँ र म कपडा फेर्न बाथरुम गएँ ।

फर्केर आउँदा हजुरले दोस्रो चरणको उल्टी गर्नु भएछ । मैले होटेल स्टाफ नबोलाएर गल्ती गरेजस्तो लाग्यो मनमनै । फेरि हजुरलाई बाथरुम लिएर गएँ र सफा पारेर ल्याएँ । भिजेको लुगामा हजुर काँप्न थाल्नु भयो । मैले सकिनसकी हजुरको भिजेको कमिज र पेन्ट उतारी दिएँ, छाती चिसो नहोस् भनेर सेन्डो पनि उतारी दिएँ । हजुरको लाज छोप्ने एउटै मात्र कपडा बाँकी थियो हल्का चिसैै भएपनि खोलिदिने हिम्मत म मा रहेन ।

तौलियाले मजासँग पुछिदिएर पलङमा सुताइदिएँ र ब्ल्याँकेट ओढाइदिएँ । रुममा पुरै दुर्गन्ध फैलिएको थियो । उल्टीको सबै फोहरलाई बाथरुमको अर्को तौलियाले सफा गरिदिएँ । हजुरको कपडा पनि धोएर सुकाइदिएँ । दुर्गन्ध कम गर्न आफ्नो पर्फ्यूम झिकेर भूइमा छर्किदिएँ ।

रात निक्कै छिप्पीसकेको थियो । साँढे बाह्र नाघिसकेको रहेछ । नाइटिमा अर्को रुममा जाने हिम्मत पनि आएन र विकल्प सोच्न थालेँ । अन्तःत भगवानलाई सम्झेर लाइट बन्द गर्दै पलङको अर्को कुनामा घुस्रिएँ । हजुर अझैपनि हल्का कामिरहेको महशुस भयो । हजुरको ब्याग अर्को रुममा भएकोले मैले लगाइदिने केही पाइन ।

हजुरको बिजोग कम होस भनेर मैले सक्दो प्रयास गरेँ, सारा बल प्रयोग गरेर अँगालोमा बेसरी बाँधे । त्यसको असर हजुरमा पर्‍यो वा परेन थाहा भएन तर मैले चारसय चालिस भोल्टको झट्का खाएँ । पुरै पाच वर्षपछि म कुनै पुरुष सँग एउटै बेडमा थिएँ ।
भर्खर १८ वर्ष हुँदा पढाइ अधुरै छाडेर भागि बिहे गरेको थिएँ कमलसँग । बिहेको दुई वर्षपनि नपुग्दै उ टाइफाइडको सिकार भएर मलाई छोडेर गयो । घरका सबैले मलाई “लोग्ने टाकुवा” को संज्ञा दिन थाले, घरमा बसी नसक्नुको हेपाइमा परेको थाहा पाएर बुवाले माइति ल्याएर राख्नु भयो । छुटेको पढाइ शुरु गरेँ र लोक सेवा लढेर अहिलेको यो अवस्थामा आइपुगेँ ।

चार सय चालिसको भोल्टले मनभरि डर त पैदा गराएकै थियो । हजुरको बेहोसीकै बाहानाले म मा हिम्मत जुट्यो, यो अवसर यो अवसर गुमाउन चाहिन मैले, भरपुर फाइदा लुटेँ । (आँखाभरीको आँसु पुछ्दै पलङ बाट उठ्दै) मेरो भोलिको भविष्य के हुन्छ मलाई थाहा छैन । तर आजको कुरामा मलाई रत्तिभर पछुतो छैन सर, बरु धेरै खुसी छु । हजुरको यो गुन मेरो जीवनको अविस्मरणीय क्षण हो, म कहिल्यै भुल्ने छैन । बरु हजुरको ब्याग ल्याइदिएको छु, तयार भएर निस्किनुस् । तल कार्यक्रम शुरुहुने बेला भइसक्यो ।”

आफ्नो कुरा राखेर जमुना मुस्कुराउँदै बाहिर निस्किइ, मेरो मनभरि ज्वारभाटा उमारेर । थाहा छैन मलाई त्यो वेहोसीको कुरा…। उनले मलाई लुटिन् वा म उनी द्धारा लुटीएँ । तर जमुना भन्दै थिइन् “हजुरको यो गुन मेरो जीवनको अविस्मरणीय क्षण हो, म कहिल्यै भुल्ने छैन ।”

मानौ केही नै भएको छैन झैँ गरी निस्किइ उ, तर मेरा चिसा लुगाहरु सबै कुर्सीमा सुकाइएका थिए, म निर्वस्त्र थिएँ । मैले टन्न जाँड धोकेर छादेका फोहरहरु सबै कसैलाई थाहै नदिइ उसैले सफा गरी.., मेरो इज्जत बचाइदिएर उसले पो मलाई ठुलो गुन लगाएकी छ त… ।
म उनले बयान गरेकी रातभरिको दृश्यहरू अनि बयानै नगरेर पनि छर्लङ्ग पारेकी दृश्यहरू परिकल्पना गर्दै टोलाइरहेँ ।

प्रकाशित मिति, २०७४ साल मंसिर २१ गते, बिहिवार

प्रतिक्रिया दिनुहोस्