Logo

त्यो सेती भिर

 

 त्यो सेती भिर

शायद गजबको नै छ होला

कस्तो मोह जागेको

त्यो सेती भिरप्रती

जहाँ कयौँ सपनाहरूको हत्या हुँदै छ।

 

सृष्टिको संरचना त्यो सेती भिर

बहुत चमत्कारी रहेछ

डोको नाम्लो बोकेर गएको मानव

कस्तो महान

बाँसको काम्रो र कयौँ जन्तीका साथ

सेतो कपडामा फर्किँदाे रहेछ ।

 

दोष थिएन त्यो सेती भिरको

कयौँ आँसुको खोली बगाउन

न त दाेष नै थियाे निएतीकाे

बस् दाेष थियाे त

ती सामाजिक मूल्य र मान्यताकाे ।

 

हाम्रो हजुरबाहरुले भन्ने गर्थे रे

नजानु बाबु त्यो सेती भिरमा

तर नियतीले ठगिएका

ती लाचार र विवश बाहरुनै

त्यही सेतीको मायामा डुब्न् पुगेका रहेछन् ।

 

हे सेती भिर

न त तिमी मनमोहक छौ

न त तिमी अप्सरा नै

त्येही पनि किन बढ्दै छ तिम्रो सुन्दरता

के सेती भिर कुनै जादू टुना त गरेनै नि हैन ?

 

त्याे सेती भिर

जस्लाई मैले घृणा गरिरहेकाे थिएँ

त्याे त आज आँखा अगाडि

 झल्झली अाँउदै छ

बरु चरेस खान्छु हरेस खान्न भन्थेँ

तर आज चरेसका साथमा हरेस पनि खाँदै रहेछु ।

 

आँसुकाे खाेलि बगाउन

मलाई पनि कहाँ मन छ र ?

साेचेकाे थिइन कि ती

तप्प तप्प झर्ने आँसुले

आज एउटा सिङ्गो

सागर नै खडा गर्छ भनेर ।

 

हरेक पाइला पाइलाप्रती

मलाई सेती भिरको याद आउँछ

लाग्छ सेती भिर त आज

आफ्नै मनको मायालु काली बन्न पुगी

बस आँउदै छु तिम्रो समीप सेती भिर ।

 

आज सेती भिरको टुप्पोमा बसेर

एउटा लाचार र विवश कलिलो केटो

लेख्दै छ खुसीका साथ एउटा मृत्यु पत्र

र भन्दै छ ,अाँउदै छु तिम्रो समीप हजुरबा

उही तिम्रो प्यारो सिङ्गाने नाति ।

— सुनिल तिमल्सिना 

 डल्लु,चागल , काठमाडौँ

प्रकाशित मिति, २०७४ साल मंसिर २१ गते, बिहिवार

प्रतिक्रिया दिनुहोस्