क्षितिजलाई पच्छ्याउँदै -दीपा ‘राई’ पुन
घामले पाइला टेक्न अगाडि
बादलको पैह्रो खसेपछि
सम्झनाको पर्खालमा उभिएर
युगौबाट क्षितिज
आफ्नै प्रेमको पहाड थामेर
घाइते बाँचिरहेछ
हरेक प्रहर छाडि जान्छ
आफ्नै आँखा अगाडिबाट
प्रिय प्रिंय लाग्ने सहयात्रीहरू
मुटु गाँठो पारेर हेरिरहन्छ
छाडिएका पाइतलाहरू
समुद्रको छालले मेटिएको
आफ्नै मुटुको टुक्रा खसेर
सागर मै कतै बिलाएको
तिमी आयौ र जाँदैछौ
भाग्यको तिम्रो आफ्नै कित्ता टेकेर
क्षितिजदेखि क्षितिजसम्म
तिम्रै सपनाका फाँटहरू
तिम्रै खुशीको मुहार
तिम्रै रहरको बगैचा
जीवन जीउनुको कला लिएर
मेरो आँखाको क्षितिज
मौन भाषामा भनिरहेथ्यो
म क्षितिजलाई पच्छ्याई रहेथे की
क्षितिज मलाई पच्छ्याई रहेथ्यो
पहाड उसैको विश्वासमा उभिएकोथ्यो
हिमाल उसैको भरोसामा हाँसिरहेथ्यो
जुन ताराहरू च्याई च्याई मुस्कुराउँथे
घाम उसैको काखबाट ओर्लिएर
साँझमा कुमबाट हाम फाल्दै
हरेक दिन लुकामारी खेलिबस्थ्यो
म त्यही क्षितिजको यात्रामा छु
या जीवन पारी जाने यात्रामा..!
प्रकाशित मिती, २०७४ साल ,मंसिर १७ गते ,आईतबार
हाल ,बोस्टन अमेरिका