Logo

कविता – आदिम लय

 

            -प्रकाश रम्घाली

  गीत गाउदै-गाउदै उडुन्

  —चराहरु आकाशमा

 बादलले पटक्कै नछेकोस्

–जून-ताराको सुन्दरता

 नथाकी पुरा गरोस्

–जूनले धर्तिको यात्रा

 र, कृपया घामले

 —ठट्टा नगरोस् मान्छेहरुसँग ।

 —नदी सभ्यताको लागि बगोस् —

पहाडहरु उभियून् सिमानाको रक्षार्थ !

गाउनुपर्ने बाँकी

 —दुखको गीत नहोस्

नओईलाउन अबोध ओठबाट

–फूलजस्ता मुस्कानहरु

र, नबल्झियोस् देशको पीडा

परदेशीहरुको छातीमा ।

ताजै हुन् स्मृतिका कलशमा

–फूलका सुगन्धहरु

 बिरानो नहोस्

–कसैको सिमान्तकृत आवाज

र, मेटियुन् विभेदहरु

–सिसा कलमको अक्षर झैं ।

बिरानो भईसकेको

–सारङगीको तारबाट

फेरि जन्मियुन्

–झलकमान गन्धर्वका स्वरहरु

ईन्द्रेणी सुखबाट

–नछुटोस कुनै यौटा रङ

र, नचुडियोस्

–कसैको सनकमा लालुपाते देश ।

हिड्नु छ भने हिडोस्

आफ्नै विचारसंग असहमति राखेर

समय तर, जानु अघि

— निशर्त:

छाडी जानु पर्ने छ

पहाड जत्तिकै पुरानो

–चराहरुले गाउने गीत

र, नदीझै बगि हिड्ने

–मानिसहरुको आदिम लय !

    हाल,तनहूँ 

नोट: प्रस्तुत कविता कवि विमल स्मृति पुस्तकालय धरानद्दारा हालसालै आयोजित “राष्ट्रिय कविता प्रतियोगिता “मा द्दितिय पुरस्कार प्राप्त गर्न सफल भएको छ

              – सम्पादक 

प्रतिक्रिया दिनुहोस्