Logo

पर्खालभित्रको राजधानी : नियात्राको उत्कृष्ट रचना

 १.पृष्ठभूमि

 दामोदर पुडासैनी ‘किशोर’(२०१९) समसामयिक धाराका महत्त्वपूर्ण निबन्धकार/नियात्राकार हुन् । उनको निबन्धकार व्यक्तित्व निकै खारिएको,माझिएको र टल्किएको छ । यात्राका प्रेमिल तरङ्गहरू (२०६५)बाट थालिएको उनको निबन्ध यात्रा नमेटिएका चित्रहरू (२०७०),मायालु हुम्ला (२०७१),सिमानाका रङ्ग : सिमानाका तरङ्ग (२०७२) हुँदै पर्खालभित्रको राजधानी (२०७३)मा पुगेर उत्कर्ष बिन्दुमा पुगेको देखिन्छ । यस लेखमा उनको भर्खरै प्रकाशित कृति पर्खालभित्रको राजधानी निबन्धसङ्ग्रहमा उपल्लो मुस्ताङ भ्रमणका सन्दर्भमा उनले सँगालेका अनुभूतिहरूलाई केलाउने प्रयास गरिएको छ ।

२.विषय प्रवेश

दामोदर पुडासैनीको पर्खालभित्रको राजधानी पुस्तक रत्न पुस्तक भण्डारबाट प्रकाशित नवीनतम नियात्रा सङ्ग्रह हो । यसमा लेखकले मुस्ताङ जिल्लामा गरेको यात्रालाई १९ नियात्राहरूमा सजाएका छन् । लेखकको यो पाँचौं नियात्रा सङ्ग्रह हो । यसमा उनले दुई समयमा गरेका यात्रालाई प्रस्तुत गरेको देखिन्छ । यसका धेरै नियात्राहरू २०७१ साल असार १५ गतेदेखि १८ गतेसम्मका चार दिनमा लेखकले म्याग्दीको बेनीदेखि मुस्ताङको लोमन्थाङसम्म गरेका यात्राका अनुभूतिमा केन्द्रित छन् । कृतिको पछिल्लो भागका तीन नियात्रा २०६९साल भदौ १३ र १५गते मुक्तिनाथ र जोमसोमको वरपरका झोङ,छुक्साङ,ठिनी आदि गाउँमा गरेको भ्रमणमा आधारित छन् । कृतिको अन्तिम रचना चाहिँ लेखकले सुदूर भविष्यको कल्पनामा विचरण गरी तयार पारेका छन् । यसमा लेखकले आजको ६०वर्षपछिको वैभव तथा सुसमृद्धिले सजिएको मुस्ताङको परिकल्पना गरेका छन् । उनको निबन्धलेखनमा यो एक नयाँ प्रयोगको रूपमा देखापरेको छ ।

 लेखक पुडासैनीको प्रस्तुत कृति मूलतः उपल्लो मुस्ताङमा केन्द्रित छ । यो क्षेत्र हिमाली सौन्दर्य र बौद्ध संस्कृतिको अपूर्व सङ्गमका रूपमा रहिआएको छ । बादलको पछ्यौरी ओढेर बसेका हिमगिरि चाँदीझैं टलक्क टल्केका छन् । त्यसको अलि तल नाङ्गा र खैरा पर्वत शृङ्खला छन् । तिनमा एउटा मोहनी छ ,मादकता छ । एउटा सानो शहर यिनै हिमाली शृङ्खलाको काखमा बसेको छ । चारैतिर पर्खालले घेरिएको यो शहर लोमन्थाङ बिहान सूर्योदय नहुँदै बौद्ध मन्त्र र स्तुतिहरूले गुञ्जायमान बन्छ । चोक चोकमा चैत्य,छोर्तेन,माने र बुद्धमूर्तिहरू छन् । यहाँका बासिन्दाका हृदयमा बुद्ध धर्मप्रति अटुट आस्थाका गजुरहरू चुलिएका छन् । लेखक यही हिमाली शहर लोमन्थाङको यात्रामा रमाएका छन् ।

 धेरै वर्ष पहिले हरियालीयुक्त दुबोको चौरमा सेता भेडाहरू मस्तसँग चरिरहेको सुन्दर दृश्यले आमे पाल भन्ने व्यक्तिको हृदयमा अनौठो प्रभाव पार्छ । तिनै आमे पालले ल्हो(हरियो दुबो) र मान्थाङ(चौर)को संयुक्त रूप लोमन्थाङ नाम दिएर यस ठाउँमा बस्ती बसाले । आमे पाल नै लोमन्थाङ वा मुस्ताङका पहिला राजा बने । उनले अग्लो पर्खालले घेरेर यस शहरमा बस्ती बसाले । तिब्बती रहन सहनमा रमाएको यस शहरमा सन् १९०३मा नेपाल घुम्न आएका जापानी भिक्षु इकाई कावागुची पुगे र संसारभरि लोमन्थाङको प्रचार गरिदिए । आफू आफूमा नै हराइरहेको र रमाइरहेको यस शहरलाई सडक सञ्जालले जोडिएको एक दशकमात्र भयो ।

 धर्म,संस्कृति,वेशभूषा,चालचलन आदि सबै तिब्बतसित मिल्ने भएकाले पर्यटकहरू यसलाई सानो तिब्बत भन्ने उपनाम दिने गर्छन् । वर्षको धेरै समय हिउँ पर्ने लोमन्थाङमा अहिले विदेशी पर्यटक र बौद्ध धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्छ । यहाँ भिक्षुभिक्षुणी,लामालमिनी र आनीहरूको ओहोर दोहोर छ । नेपालको राजसंस्थासँगै मुस्ताङे राजा विस्थापित भए पनि उनको १०८कोठा र गजुर भएको दरबार अद्यापि लोमन्थाङमा उभिएकै छ । मुस्ताङबासीले बिर्सेका छैनन् अहिलेसम्म ती राजालाई । लोमन्थाङ एक अनुपम सांस्कृतिक र प्राकृतिक आदर्शको बिम्ब बनेको छ । यहाँको छोर्दे,जोम्पा,लाखाङ,थुक्चेन,ढाकार जस्ता गुम्बाहरूले बौद्ध संस्कृतिलाई जीवन्त बनाइराखेका छन् । लेखक पुडासैनीको लेखनीले आफ्नो कृति पर्खालभित्रको राजधानीमा यसै हिमाली शहर लोमन्थाङलाई राम्ररी चिनाएको छ ।

 लोमन्थाङ पर्खालभित्र रमाएको छ । पहिले पहिले पर्खालबाहिर घर बनाउने अनुमति नै थिएन त्यहाँ । यो आमे पालले बसालेको थिति हो । तिब्बततिरबाट छिरेका उनी चीनियाँ संस्कारबाट प्रेरित थिए होलान् । विश्वका आठ आश्चर्यमध्ये एक चीनको पर्खाल देखेका उनले लोमन्थाङलाई सुरक्षित राख्न अग्लो पर्खाल बनाएका होलान् । त्यस पर्खालको भित्तो अहिले वर्तमान युवा पुस्ताका मनका भावना र मायाप्रेमको अभिव्यक्तिको मञ्च बनेको छ । यस पर्खालले लोमन्थाङवासीका गतिविधिलाई अहोरात्र नियालेर बसेको छ । वास्तवमा पर्खाल अवरोधको प्रतीक हो । सङ्कीर्णताका पर्खाल उभ्याउनुको साटो अब विश्वभ्रातृत्व,उदारता र आदर्शका पुलहरू निर्माण गर्नुपर्छ । विश्वलाई भावनात्मक एकताले आबद्ध गर्ने बेलामा अग्ला पर्खालको निर्माणले हाम्रा पाइलाहरू अग्रगमनमा कसरी अग्रसर होलान् र ? त्यसैले लेखक लेख्छन् ,

 पर्खाल ठड्याउन लालायित बन्नुभन्दा किन आकर्षित बन्दैन मान्छे पुल निर्माण गर्न ?मन मनका पर्खाल ढालेर पुल जोडेको हेर्न रुचाउँछु म । (पृ१२६)संसार अब पर्खालभित्र नअटाउने भइसकेको छ । संसारका अग्ला अग्ला पर्खालहरू भत्काउँदै मनहरूलाई जोड्ने पुलहरूको निर्माण हुन थालिसकेका छन् । यसको पुष्टिका लागि लेखकले जापान,बेलायत,बेल्जियम,नेदरल्यान्ड आदि मुलुकका राजसंस्था त्यहाँका जनताका हृदयमा रमाएको दृष्टान्त प्रस्तुत गरेका छन् । मधुर मुस्कान र हार्दिक कोमलताले अग्ला पर्खालहरू सहजै ढालिदिन्छन् अनि सदाचार ,सद्भाव र आत्मीयताका आलिङ्गनले तिनलाई धूलिसात् पारिदिन्छन् । अब लोमन्थाङ पर्खालभित्र कुँजिएर बस्नुहुँदैन । बुद्धका आदर्श विचारले क्षितिजलाई छिचोल्नुपर्छ भन्ने महत्त्वपूर्ण विचार लेखकले यहाँ अभिव्यक्त गरेका छन् । तिब्बत वा चीनको सिको गरेर पर्खाल ठड्याएर बसेको यस शहरलाई बीस किलोमिटर पर तिब्बत अत्याधुनिक सुविधामा रमाउन थालेपछि त्यसको हावाले अवश्य छुनुपर्छ भन्छन् लेखक ।

 मुस्ताङलाई गुफाहरूको राजधानी पनि भनिन्छ । मुस्ताङमा हजारौं गुफाहरू छन् । खास गरी छुक्साङदेखि लोमन्थाङका बीचमा शयौं गुफा तथा ओडारहरू रहेको जानकारी लेखकले दिएका छन् । मुस्ताङवासीको जन्मदेखि मृत्युपर्यन्त गुफासँग निकट सम्बन्ध रहेको छ । शिशु जन्मेपछि नाभीको अंश गाड्नेदेखि मृत्युपछिको अन्तिम संस्कार पनि गुफामा नै गर्छन् मुस्ताङवासीहरू । फ्रान्सका अध्येता डिमित्री पायेरले मुस्ताङका गुफाहरूको अध्ययन गरिरहेको जानकारी पनि लेखमा उल्लेख गरिएको छ ।

 मुस्ताङमा यध्यपि बहुपति प्रथा कायम छ । एउटा परिवारमा पाँच भाइ छोरा छन् भने तिनले पाण्डवकी द्रौपदी जस्तै एउटी दुलही भित्र्याउँछन् र तिनैसँग पाँचै दाजुभाइले आ-आफ्ना जीवन यात्रा अघि बढाउँछन् । मातृसत्तात्मक व्यवस्थामा बाँधिएका छन् मुस्ताङीहरू । त्यहाँका पत्नीले आफ्ना पतिहरूलाई ड्युटीमा खटाउने गर्छन् । आफ्नो आदेश विपरीत हिँड्ने पतिलाई पत्नी स्वयमले सजाय दिन्छन् । चराउन लगेको घोडा नै हराएको र दोचा किन्न दिएको सम्पत्ति रक्सीमा स्वाहा पारेर मातेपछि धावाले आफ्नो लोग्ने मिङ्मालाई दया नै नराखी पिट्छिन् । शरीरबाट तरतरी रगत बग्दा पनि उनलाई लोग्नेप्रति करुणा जाग्दैन । त्यसै गरी बौद्धमा बेपार गर्न पठाएको कान्छो लोग्ने बदमास बनेर अर्कै केटीसँग लहसिएपछि स्वास्नी पेमा ढोमाले बेस्सरी भकुरेको रोचक बयान पढ्न पाइन्छ लजालु लोमन्थाङ निबन्धमा ।

 यस किसिमका रहस्य र रोमाञ्चले भरिएको मुस्ताङको लोमन्थाङ पुग्न लेखकलाई निकै अड्चन र विघ्नहरूसित जुध्नुपरेको थियो । म्याग्दीको बेनीमा नै आफ्नो वाहन थन्क्याएर सिन्डिकेटले रजाइँ गरेका सवारी साधनलाई समात्नु परेको थियो । विभिन्न चुनौतीको सामना गर्दै यात्राका पाइला अघि बढ्छन् । सडक भए पनि गन्तव्य सहज छैन त्यहाँ । बसका चालक र सहचालकको शासन छ । यात्रुहरू तिनका लागि आमदानीका स्रोत मात्रै हुन् । तिनीहरूसित जतिसुकै तुच्छ व्यवहार गरे पनि हुन्छ । बिचरा यात्रुहरू ! तिनका हेला,तिरस्कार,अपमान तथा दुव्र्यवहार सहेर यात्रा गर्न विवश छन् । यातायात व्यवसायीको अत्याचारको बयान गरिसाध्य छैन । तिनीहरू सभ्य मान्छे,पशु र सरसमानलाई एउटै कित्तामा राख्ने गर्छन् ; सबैलाई रुपैयाँसित जोख्ने गर्छन् । त्यसैले लेखक लेख्छन् ,

(क) बेनीबाट लोमन्थाङ पुगेर फर्कनु पुनर्जीवन पाउनु जस्तै हुन्छ । (पृ ५६)

(ख) पाइला पाइलामा ठोकठाक पारिरहनुपर्ने गाडी ; आफ्ना वाहेक अरूका गाडी प्रवेश गर्न नदिने स्थानीय

यातायात व्यवसायीको सिन्डिकेट ; आफूलाई राजा र यात्रुलाई पत्रु ठान्ने चालकको मानसिकता देख्दा

बित्थामा यात्रा गरियो भन्ने मान्दछ यात्रु । (पृ ५७)

(ग) गाडीको चक्का गाडियो यात्रुले उचाल्नुपर्ने र धकेल्नुपर्ने । चालकले जेजस्तो अश्लील शब्द बोलेपनि यात्रुले जी हजुरी गर्नुपर्ने ।

 कसैले तर्क र मर्मका कुरा गर्यो भने गाडी रोकेर बीचैमा ओरालिदिने । (ऐ) यसरी यात्रा गर्नुपरेको छ । त्यसमाथि ठाउँ ठाउँमा सवारी साधन बदल्नुपर्ने बाध्यता छ । बेनीमा चढेको मोस्टाङ जिपले तितरको रुप्से झरनासम्म मात्र पुर्याएर छोडिदिन्छ । रुप्से झरना पार गरेर अर्को बसमा कोच्चिएर यात्रा थालिन्छ घासा पुगेपछि त्यसले पनि विश्राम लिन्छ । घासामा ठेलमठेल गरी अर्को बसको टिकट लिनुपर्छ । त्यसले जोमसोम पुर्याएर फालिदिन्छ । जोमसोममा ओर्लेर हतार हतार लड्दै पछारिँदै कालीको पुल पार गरेपछि छुक्साङसम्म अर्को बसमा कोचिनुपर्छ । छुक्साङमा ओर्लेर चैलेसम्म फेरि पैदल यात्रा गर्नुपर्छ । यसरी एकै दिनमा गरिएको यस यात्रामा चारओटा सवारी साधन बदल्नुपर्छ भने ठाउँ ठाउँमा ओर्लेर पैताला खियाउनुपर्छ ।

यात्राका क्रममा सञ्चालकहरूका अनेकौं हेला र अपमान सहनुपरे पनि कालीगण्डकीका छचल्काले यात्रुलाई गन्तव्यमा पुर्याउन अनन्त ऊर्जा दिइरहन्छन् । वारिपारिका नीलगिरि र धवलागिरिले जोस र जाँगर बढाइरहन्छन् । उच्च हिमशृङ्खलालाई स्पर्श गर्दै यात्रा गर्दाको रोमाञ्चक अनुभूतिले हृदयलाई आनन्दित तुल्याइरहन्छ । हिमाली परिदृश्यको अनुपम सौन्दर्य पान गर्न पाउँदा लेखक आनन्दविभोर बनिरहन्छन् । यात्रा अवधिका सहयात्रीसँगको संवाद र स्थानीय वासिन्दासँगको वार्तालापमा लेखक रमाइरहछन् । लेखक कविहृदयी छन् । ठाउँ ठाउँमा उनी भावुकताको महासागरमा चुलुम्म डुब्दछन् । त्यहाँको प्रकृति र जनजीवनले उनलाई मोहित तुल्याएका छन् । रुप्सेको सौन्दर्यको बयान गर्दै भावुक बनेर उनी लेख्छन् ,

(क) प्रेमपूर्ण मुस्कान र मुस्कानपूर्ण प्रेम दुवै एकै ठाउँमा पाएपछि लाज,डर,घिन,ईष्र्या सबैबाट मुक्त भएकोछु म । मैले रुप्सेका हरेक

 जलकणमा प्रेमका रङहरू देखिरहेछु । (पृ२४)

(ख) मेरी रुप्से ! मेरी प्रेयसी !! प्रेमको झरनामा डुबेपछि संसारकै सर्वोच्च समाधिमा पुगिरहेछु म ।(पृ२५)

(ग) तिमीलाई भेटेपछि संसार नै बिर्सेको छु मैले । (ऐ)

(घ) आँखाहरू तिमीबाट छुट्टिन मानेका छैनन् ; पर्वतका चुचुरादेखि कालीका काखसम्म दौडिरहेछन् ;

  शरीर तिम्रै अङ्ग अङ्गमा लुकामारी खेल्न लालायित भइरहेछ । (ऐ)

 रुप्से जस्तै नीलगिरिको सान्निध्यले लेखकलाई निकै भावुक    तुल्याएको छ । उनी लेख्छन् ,

(क) घरी बादलु घुम्टोले अनुहार छोप्छे ; घरी घामको लेदो मुहारमा पोतेर चम्कँदै अघि बढ्न धाप
दिन्छे । (पृ४९)

(ख) नीलगिरि सााथैमा छिन् मेरी । उनी मलाई हेरेर अघाउँछिन् । म उनलाई हेरेर अघाउँदिनँ ।
उनले नै डोर्याएर त्यहाँसम्म पुर्याएकी हुन् मलाई ।…मेरी नीलगिरि अझै अग्लिएकी हेर्न चाहिरहेछु मैले । उनीसँगको मेरो यात्रा अझ उच्च र सुनौलो बनोु्स् भन्ने आकांक्षा छ । (ऐ)

(ग) मेरी नीलगिरिलाई छपछपी छ्यापिदिएँ कालीको पानी । नीलगिरिले फिँजारिरहिन् ममाथि प्रेमका कोमल प्वाँखहरू । (पृ ५३)

(घ) चैलेको आँगनमा पहिलो पाइला परेपछि एक पटक अँगालोभरि बाँधूँ जस्तो लाग्यो मलाई नीलगिरि(ऐ)

(ङ) श्वेत साम्राज्यमा ठिङ्ग उभिएर जिस्क्याइरहिन् मलाई नीलगिरिले । (पृ ५५)

(च) प्रेमिल वर्षामा निथ्रुक्क भिजेको त्यो साँझ कसरी बिर्सन सकौंला र तिमीले र मैले । ( ऐ)

(छ) मेरी प्यारी नीलगिरि उठिसकेकी रहिछन् मभन्दा धेरै अघि ।

 सूर्यसँगै टल्केका सेता दन्तलहर र संसारभर उज्यालो छर्ने उनको मधुर मुस्कानले म मात्र होइन सूर्य लोभिएर लट्ठ परिरहेथ्यो । (पृ७०)  यी त चयन गरिएका केही उद्धरण मात्र हुन् । यात्राका सन्दर्भमा लेखक जहाँ जहाँ पुग्छन् त्यहाँको प्रकृतिसँग मितेरी गाँस्न र स्नेहको आलिङ्गनमा आबद्ध हुन खप्पिस देखिन्छन् । लेते,मार्फा,कागबेनी ,मुक्तिनाथ,झोङ,चैले ,छुक्साङ,ठिनी आदि ठाउँहरूले त्यत्तिकै मुग्ध तुल्याएकाछन् उनलाई । प्रकृतिको मानवीकरण गर्ने अनौठो खुबी छ लेखक पुडासैनीसित । त्यसै गरी उनी वर्णनीय विषयवस्तुलाई विविध उपमाले सिँगार्न सिपालु छन् ।

३.अन्त्यमा

लेखक दामोदर पुडासैनी ‘किशोर’ ले यस नियात्रा सङ्ग्रहमा मुस्ताङको प्रकृति र जनजीवनलाई नजिकैबाट नियालेका छन् । उनी मिलनसार व्यक्ति हुन् । जहाँ पुग्यो त्यहाँको समाज वा व्यक्तिसँग तुरुन्त घुलमिल गर्न सक्ने विशेषता छ उनीसित । यात्राका क्रममा बस तथा जिपका चालक हुन् वा सहचालक ; बाटो हिँड्ने बटुवा हुन् वा भेडाचौँरी चराउने गोठाला गोठाल्नी ; स्थानीय किसान हुन् वा बेपारी उनका साथी बनिहाल्छन् अनि सुरु भइहाल्छ भलाकुसारी र अन्तरङ्ग बातचित । बिरानो ठाउँका मान्छेको मन जित्ने कला छ लेखकसँग । त्यसैले यस सङ्ग्रहका नियात्राहरू रोचक,यथार्थ र तथ्यपूर्ण बनेका छन् । प्रस्तुत कृति मुस्ताङको जनजीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्न सफल देखिन्छ ।

 प्रस्तुत कृतिको भाषाशैली निकै लोभलाग्दो छ । लेखक नियात्राको थालनीमा नै शीर्षकको सारवस्तुलाई सूक्ति झैं प्रस्तुत गर्छन् । समग्र निबन्ध सोही सारवस्तुमा उभिएको देखिन्छ । विषयवस्तुलाई प्रस्तुत गर्ने शैली निकै रोचक र मर्मस्पर्शी छ । उनको भाषा खँदिलो र स्तरीय छ । कवि व्यक्तित्वका धनी पुडासैनीका नियात्राका पङ्क्तिहरू उत्कृष्ट गद्यकविता झैं लाग्छन् । कुनै स्थान वा विषयले हृदयलाई छोएपछि उनी भावुक बन्न पुग्छन् । त्यसपछि उनी गद्य लेखाइ चटक्क छोडेर कविता लेख्न थालिहाल्छन् । यस सङ्ग्रहमा पनि पाठकले बीच बीचमा कविताको स्वाद चाख्न पाउँछन् । विषयवस्तु र शैलीका बीचमा राम्रो संयोजन पाइन्छ । उनका निबन्धले पाठकलाई मोहनी नै लगाउँछन् । उत्कृष्ट कृतिका लागि लेखकलाई बधाइ ज्ञापन गर्दै आगामी दिनमा यस्तै नियात्रा पढ्न पाइयोस् भन्ने कामनाका साथ ।

        —चूडामणि काफ्ले

 सहप्राध्यापक,त्रि.वि.पद्मकन्या क्याम्पस

प्रतिक्रिया दिनुहोस्