Logo

गजल – म

ढुङ्गाको मूर्ती पुजेर धार्मिक हुन खोज्छु म
गङ्गाको फोहोर पानीले पाप धुन खोज्छु म

 

अस्तब्यस्त छु आफैँ,भ्याउदिन स्याहार गर्न
आश्रममा बाउआमाको पाउ छुन खोज्छु म

 

आफैँ दु:खी छु, नानाथरी व्यथा छन् मनमा
तैपनि ती दु:खी मान्छे देखेर रुन खोज्छु म

 

यथार्थ लुकाएर हिंडेको  छु यता स्वाङ पार्दै
पित्तलमा जलप लगाएको सुन खोज्छु म

 

 मेरो स्वार्थमा केही हेर्दिन दायाँबायाँ अहँ
जस्लाई घात गर्छु उसै सँग गुन खोज्छु म

 

कताकता अल्मल छु साँघुरो बन्द कोठामा
अनि रातमा टल्टल चम्किने जून खोज्छु म

 

 हज्जारौं पशुको बलि चढाएर मन्दिरमा
अन्नमा कहीँ भेटछु कि भनी घुन खोज्छु म !!

 

  लेखनाथ खनाल “अंकुर”

अर्जुनचौपारी- ६ दरौं, स्याङ्जा ।

प्रतिक्रिया दिनुहोस्