Logo

गजल

 
     – अन्जान श्रेष्ठ
 
     बहर ए मुजारे
 
  अखरब रुक्न : २२१ २१२२ २२१ २१२२
 
 आफन्तका चिनारी यसरी पो आइदिन्छन्
 
 झिल्को निभाउँ भन्दै आगो लगाइदिन्छन्
 
 सुन्ने भए यथार्थ दुश्मनहरूको सुन्नुस्
 
 आफ्नाहरू त चिल्ला गुणगान गाइदिन्छन्
 
 
 कर्के नजर लगाउँछन् दु:खी दरिद्र देखे
 
निर्जीव शिला पुजेर देउता बनाइदिन्छन्
 
 मन स्वच्छ राख्नेलाई संसार स्वच्छ देख्छ
 
प्रतिविम्ब हेरि व्यर्थै ऐना फुटाइदिन्छन्
 
 
 कहाँसम्म अन्धभक्त बन्ने खुबी रहेछ ?
 
नुनकै सोझोको खातिर घरबार डुबाइदिन्छन्
 
 
पीडा सुनाउँछ पीडित सुनुवाइ हुन्छ ठानी
 
माछो र भ्यागुताको खेल झैं बनाइदिन्छन्
 
       ( तनहुँ दमौली )
 
 प्रकाशित मिती २०७४ साल श्रावण ३२ गते, बुधबार
  
        
प्रतिक्रिया दिनुहोस्