Logo

कविता : एउटा प्रश्न

 
   – नवराज क्षितिज
  आफैं निर्लज्ज भएको 
आफैले थाहा नपाउने 
निर्जीव सरकारको अगाडि 
तिम्रा जायज मागहरु राखेर 
अनशन बस्नु भनेको , 
तिम्रो मानसिक  सन्तुलन 
 ठिक नहुनु हो !
पटकपटक गरि १३६ दिनभन्दा बढी
तिमि अनशन बस्नु र 
लाटो सरकारले  
तिम्रो मागको ईशारा
 बुझेजस्तो गर्नु
विचित्र परिस्थिति वीच 
कस्तो संयोग भैरहेछ ?
तिम्रा मागहरु प … र, परको 
धमिलो आकृति जस्तै 
भैसकेको छ सरकारलाई 
तिम्रा मागहरु प्रति 
चासो नदेखाउनु   भनेको 
तिमीलाई घुमाउरो पाराले 
मार्ने चेतावनी दिनु हो ,
जसरी नन्द प्रसाद अधिकारीलाई 
मारेका थिए !
तर पनि  तिमीले नबुजेझैँ 
गरी  तिम्रा मागहरु  राख्नु भनेको 
तिम्रो मानसिक सन्तुलन ठिक नहुनु हो 
डाक्टर गोविन्द !
तिम्रा मागहरुले आतंक मच्चाएको छ 
घुसखोर र दलालहरुले  देखेको  सपनामा 
बाढी पसेर बगर बनाइदिएको छ 
तिम्रा मागहरुको सम्बोधन नहुनु भनेको 
आतंकबाट बच्न गरिएको याचना हो 
यी कुराहरु बुझ्दाबुझ्दै 
तिमि तिम्रो मागप्रति 
दृढ हुनु भनेको 
तिम्रो मानसिक सन्तुलन गुमेको होइन ?
   सेलाउदै गरेको
 सरकारी मस्तिष्कले 
तिम्रा मागहरु बिर्सने चेष्टा गर्दैछन् 
उनीहरुले नचाहेको विषयमाथि 
पटकपटक 
झिंगा झैँ भन्किरहने तिम्रो बानी 
उनिहरुकाई पटक्कै हेर्न मन छैन 
तिम्रा हर्कतले उनीहरुको 
मान हानी हुन सक्छ ,
सोच्नु पर्दैन तिमीले ?
तिमि डाक्टर भएर पनि 
नन्द प्रसादको  बाटो पच्छ्याउनु 
मानसिक सन्तुलन बिग्रनु हो ।
 डाक्टर गोविन्द !
तिम्रो महँगो माग 
गरिब सरकारले  स्वीकार्न सक्दैन 
तिमि जस्तो पागल मान्छेको 
खिया लागेको दिमागले 
सोचेर भनेका कुराहरु 
बौदिकताले भरिएको सरकारले 
पत्याउदैन पनि !
त्यसैले ,
छोड तिम्रा मागहरु आजै, 
उठ !
अनि जाउ राँची 
ठिक बनाउ मानसिक सन्तुलन 
र 
उतै बस उतै !
तिमि जस्ता मानसिक सन्तुलन
 गुमाएकाहरुका लागि 
यो देशमा ठाउँ छैन !
न तिम्रा कुराहरु नै सरकारले सुन्नेछ ,
न तिमि जस्ता पागलहरुको  यो देशलाई खाँचो नै छ !
तर 
तर   निकम्मा सरकारलाई 
एउटा प्रश्न …
धैर्यताको बाँध फुटेपछि
त्यसले पार्ने असरहरुको 
लेखाजोखा गर्न सजिलो होला र ?
प्रकाशित मिती २०७४ साल श्रावण २९ गते आईतबार  
            हाल,आवुधावी युएई 
प्रतिक्रिया दिनुहोस्