कविता : एउटा प्रश्न
– नवराज क्षितिज
आफैं निर्लज्ज भएको
आफैले थाहा नपाउने
निर्जीव सरकारको अगाडि
तिम्रा जायज मागहरु राखेर
अनशन बस्नु भनेको ,
तिम्रो मानसिक सन्तुलन
ठिक नहुनु हो !
पटकपटक गरि १३६ दिनभन्दा बढी
तिमि अनशन बस्नु र
लाटो सरकारले
तिम्रो मागको ईशारा
बुझेजस्तो गर्नु
विचित्र परिस्थिति वीच
कस्तो संयोग भैरहेछ ?
तिम्रा मागहरु प … र, परको
धमिलो आकृति जस्तै
भैसकेको छ सरकारलाई
तिम्रा मागहरु प्रति
चासो नदेखाउनु भनेको
तिमीलाई घुमाउरो पाराले
मार्ने चेतावनी दिनु हो ,
जसरी नन्द प्रसाद अधिकारीलाई
मारेका थिए !
तर पनि तिमीले नबुजेझैँ
गरी तिम्रा मागहरु राख्नु भनेको
तिम्रो मानसिक सन्तुलन ठिक नहुनु हो
डाक्टर गोविन्द !
तिम्रा मागहरुले आतंक मच्चाएको छ
घुसखोर र दलालहरुले देखेको सपनामा
बाढी पसेर बगर बनाइदिएको छ
तिम्रा मागहरुको सम्बोधन नहुनु भनेको
आतंकबाट बच्न गरिएको याचना हो
यी कुराहरु बुझ्दाबुझ्दै
तिमि तिम्रो मागप्रति
दृढ हुनु भनेको
तिम्रो मानसिक सन्तुलन गुमेको होइन ?
सेलाउदै गरेको
सरकारी मस्तिष्कले
तिम्रा मागहरु बिर्सने चेष्टा गर्दैछन्
उनीहरुले नचाहेको विषयमाथि
पटकपटक
झिंगा झैँ भन्किरहने तिम्रो बानी
उनिहरुकाई पटक्कै हेर्न मन छैन
तिम्रा हर्कतले उनीहरुको
मान हानी हुन सक्छ ,
सोच्नु पर्दैन तिमीले ?
तिमि डाक्टर भएर पनि
नन्द प्रसादको बाटो पच्छ्याउनु
मानसिक सन्तुलन बिग्रनु हो ।
डाक्टर गोविन्द !
तिम्रो महँगो माग
गरिब सरकारले स्वीकार्न सक्दैन
तिमि जस्तो पागल मान्छेको
खिया लागेको दिमागले
सोचेर भनेका कुराहरु
बौदिकताले भरिएको सरकारले
पत्याउदैन पनि !
त्यसैले ,
छोड तिम्रा मागहरु आजै,
उठ !
अनि जाउ राँची
ठिक बनाउ मानसिक सन्तुलन
र
उतै बस उतै !
तिमि जस्ता मानसिक सन्तुलन
गुमाएकाहरुका लागि
यो देशमा ठाउँ छैन !
न तिम्रा कुराहरु नै सरकारले सुन्नेछ ,
न तिमि जस्ता पागलहरुको यो देशलाई खाँचो नै छ !
तर
तर निकम्मा सरकारलाई
एउटा प्रश्न …
धैर्यताको बाँध फुटेपछि
त्यसले पार्ने असरहरुको
लेखाजोखा गर्न सजिलो होला र ?
प्रकाशित मिती २०७४ साल श्रावण २९ गते आईतबार
हाल,आवुधावी युएई