Logo

कविता – म मुर्दा बनेर ज्यूँदा भनिनेहरुको तमासा हेरिरहेछु !

– शेखर ढुंगेल  (बरिष्ठ लेखक तथा साहित्यकार)

म मुर्दा बनेर ज्यूँदा भनिनेहरुको तमासा हेरिरहेछु !

गिज्याउदै छन् मलाई ज्यूँदा भनिनेहरु

नालायक तमासे बाहेक के गर्न सकिस् ?

सम्झन्छु त्यो दिनहरु,

ति ठुटाहरु भाँचेको बुटाहरुमा डोको भरेको ति बाङ्गा औंलाहरु

अहिले सोझा भएका रहेछन माझी देखि छोरी औंलासम्म

सुनको तार बेरिएको रहेछ  । 

भैंसीको पिठ्युँबाट लड्दा भाँच्चिएको दाँत सुनले भरिएको

हेहेहे …….बधाई छ परिवर्तन म मुर्दा भएर हेरीरहेछु !
 
गाडीमा जुत्ता फुकालेर चढ्ने त्यो सिधा गाउँलेले
 
मलाई देखेर खितखित गर्दै, 
 
निक्कै ओहर दोहर बढाएको छ मेरो वरिपरी
 
थाहा छैन खोइ किन हो उ मलाई चिढ्याउने गर्दछ
 
चिनेन कि चिन्न चाहेन म भ्रम बोकेर हेरीरहेछु  !
 
के उ उही हो ?
 
के उ उही हो जो मेरो घरको भाडा नतिरी भागेको थियो
 
सुनसान रातमा अर्को टोलमा डेरा सरेको थियो
 
आज मेरो घर मोलमोलाई गर्न आइपुग्यो । 
 
मैले बेच्न इन्कार गरें उसले नचिने जस्तो गर्यो
 
उसले मलाई मुर्ख भन्यो अरुले हो मा हो लगाए
 
मैले हाँसी हाँसी धन्यवाद भने  । 
 
हो म यो शहरमा मुर्ख बनेर तमासा हेरीरहेको छु
 
ज्यूँदा भनिनेहरुको नृत्यमा मनोरञ्जन गरिरहेको छु
 
म बिकाउ छैन म बिकेको छैन  !
 
मैले मेरो बिबेक बेच्न पसल थापेको छैन
 
त्यसैले,
 
हो म मुर्दा झै शान्त छु कसैको ढोका कुर्न गएको छैन  । 
 
हो म मुर्दा बनेर यो शहरमा ज्यूँदा भनिनेहरुको तमासा हेरिरहेको छु
 
हरपल मरी रहेका आफू बाँच्न अरुलाई मार्ने ज्युँदाहरु भेटिरहेको छु
 
स्खलित ज्यूँदाहरुको नैतिकता,
 
मर्दै गएको ज्यूँदाहरुभित्रको मानवियता,
 
त्रास र तनावमा अग्निझैँ रन्किएको अनुहार हेरिरहेको छु
 
म पनि हाँस्छु कहिले काँही पटकपटक
 
र यो शहरमा मरिरहेका ज्यूँदाहरुको तमासा हेरिरहेको छु  । 
 
अधिकारिलाइ मार्ने राज्य यहाँ हाँसीरहेको छ
 
डा .के.सी.लाई मार्छ यो पक्का छ
 
यहाँ गाडी भन्दा सस्तो मानिसको मुल्य छ 
 
म मुर्दा भएर ज्यूँदाहरुको तमासा हेरिरहेको छु  !
 
एक दिन होइन दुइ दिन होइन सातौं दशक भयो तमासा हेरिरहेको छु
 
बलात्कारीहरुलाई गलामा सम्मानको माला लगाउनेको भिड छ ।
 
माटोको अवमुल्यन गर्नेहरुको अट्टहासले त्रसित शहर निरिह छ
 
खोइ कस्तो चस्मा पहिरिएका छन् कुन्नि ?
 
मेरा अगुवाहरुले,
 
मैले अश्लिल देख्ने उनीहरु श्लिल देख्न थालेका छन्
 
मैले देखेको लज्जा,
 
उनीहरुका लागि इज्जत र मज्जा भएको छ  ।
 
म स्वाभिमानको दृश्य देखाउँदै थिएँ
 
उनीहरु घुँडा टेकेर टाउको ठाडो पारेको
 
राष्ट्रबादको परिभाषा गर्दैथिए,
 
 साँच्चिकै मेरो सदाचार मुर्दा भएको  छ  !
 
अत्याचारिले छातीमा टेक्दा ऐया समेत नगर्ने भएको छु
 
हो म यो शहरमा मुर्दा बनेर ज्यूँदाहरुको तमासा हेरीरहेको छु
 
तर म विश्वस्त छु,
 
एकदिन एउटा आँधीवेहरी उठ्नेछ
 
अँध्यारो भएर भुमरी आउनेछ
 
र मलाई ब्युँताउनेछ ।
 
त्यस दिन अन्यायी अत्याचारी ब्यभिचारी भ्रष्टाचारीहरु
 
टाढा पुग्नेछन र मुर्दा बनेर पश्चातापको आँसुमा डुब्नेछन् ।
 
म ज्यूँदो भएर मुर्दाहरूको तमासा हेर्नेछु …….
 
       
                 हाल ,अमेरिका
 
 प्रकाशित मिती २०७४ साल श्रावण २७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्