कविता – उत्खनन
– नवीन प्यासी
एउटा यस्तो दुनियाँमा अवतरण हुनेछु
जहाँ मेरो लागि मात्र उदाएको सूर्यले
मलाई नै डढाउने छ र खरानी बनाउनेछ
जुन खरानीमा
मेरो लागि मात्र भनेर खस्नेछ झरी
बगाउनेछ मलाई फिँजहरुको ढाडमाथि
र छोडिदिनेछ कुनै बगरको अतृप्त ओठ छेउमा
जहाँ म सिउँडी उमार्नेछु
जुन सिउँडीको काँडाको टुप्पोमा बसेर
आफ्नै मुटुलाई घोचिरहनेछु
र सुनिरहनेछु आफ्नै क्रन्दन युगयुगसम्म !
तर यदि भुलवश
मेरो कारणले कमल उम्रिएछ भने
फूल बनेर फक्रिनेछु र मगमगाउनेछु
मलाई लिन बतास आउनेछ र डोर्याउनेछ
जाँदाजाँदै थाक्नेछु कहिँकतै उकालीहरुमा
र बिसाउनेछु पुतलीको पखेटाको ओसिलो कुनामा
जब पुतलीले मलाई बोकेर
उड्दै उड्दै तिम्रो बगैँचा अगाडी आइपुग्नेछ
तिमी मोहित हुनेछौ र पछ्याउनेछौ पुतलीलाई
पुतली,
उड्दै उड्दै जानेछ
र हराउनेछ मेरा आफन्तले बनाइदिएको
मेरो स्मृति पार्कमा
जब तिमी
रिसले त्यो पार्क भत्काउन लगाउनेछौ…
त्यहाँ तिम्रो मधुरो तस्बिर
र मेरा केही कंकालहरु बाहेक केही भेटिने छैनन्।