पर्खाल
-शिखर भट्ट
पर्खाल बनाइन्छन्
कहिले ढल्छन्/कहिले उभिन्छन्
ती पर्खालको भित्तामा नाराबाजी लेखिन्छन्
मार्क्स लेनिनका बाणिहरु कोरिन्छ्न्
फुलको चित्र बनाइछन्
त्यै पर्खालमा अढेस लगाएर मजदुर घन्टौँ सुस्ताउछन् ।
त्यै पर्खालका भित्ताहरुमा,
मैले ज्यामितिका सवालहरु हल गरेँ
त्यै पर्खालमा,
केमेष्ट्रीका सुत्रहरु लेखी याद गरिरहेँ
केही कोमल हातहरु कुची बोकेर आए,
त्यो भित्तामा चन्द्र/सूर्य बनाए
देश बनाए ।
यहि पर्खालमा टाँसिए सूचनाहरु
पर्खालमै कोरिए बुद्दका सन्देशहरु !
मैले यहि पर्खालको भित्तामा,
हल गर्न खोजेँ आफ्नो जीन्दगीको वासलात !
एक असहाय बच्चा आयो
अनि कोर्यो पर्खालमै
आफ्नो आमाको अनुहार !
यस्तै पर्खाल
एक मध्यरातमा खडा भएको थियो
र सुनौलो बिहानिको शुरुवातमा देश दुई हिस्सामा सास लिइरहेको थियो ।
यस्तै पर्खाल
खडा भयो फेरि सम्बन्धको बिचमा
र मेरो आफ्नै भाइ छिमेकी बनिदियो
यस्तै पर्खालको छेलो पारेर
कसैले च्यातिदिए फुलमाया दिदीको कपडा
र गाडिदिए स्तनमा दाँतहरु !!
पर्खालहरु बिचारको बिचमा उभिए
सम्बन्धको बिचमा ठडिए
दाजु-भाइको अंश छुट्यायो यसले,
विभेद गरिदियो,बिभाजन गरिदियो !!
काश !
यस्ता पर्खालहरु देशको सिमानामा उभिन्थे त,
आज घरमो भित्तामा माला सहित झुन्डिएको हुदैन थियो होला,
मेरो सिपाही दाइको तस्वीर !!