Logo

यादहरुको सिम्फोनी

प्रकाश रम्घाली
 जब छोईन्छु,
तिम्रो यादको मुलायम हत्केलाले
 मलाई फिका लाग्छ,
अलिकति बादलले छेकेको
आकाशको ओठ र,
अधेँरीरातमा जूनले गाएको सिम्फोनी गीत !
जब छोईन्छु,
तिम्रो यादको गोधुँली साँझले
मलाई फिका लाग्छ,
अलिकति चराले नुगाएको गुराँसको हाँगा र,
उन्मुक्त लहरमा बगिजाने खोलाको सुसेली !
जब छोईन्छु,
तिम्रो यादको रेशमी केशले
मलाई फिका लाग्छ,
अलिकति पहाडले छेकेको
क्षितिजको मुहार र,
बतासको चुच्चोले च्यापेर
उडेको ईन्द्रेणी साँझ !
जब छोईन्छु,
तिम्रो यादको मौसमी झरिले
बगाई दिन्छ आँखाको डिलबाट
मौनताको तस्विर र,
सेलाउदै जान्छ छातीभित्र
मुटुको तापक्रम !
यादहरुले मात्र
यसरी कतिन्जेल जिउँन सकुँला र ?
नसोच्नु पर्ने कुरा……..
सोचिरहेछु- यतिखेर !
         ■■■

 
प्रतिक्रिया दिनुहोस्