Logo

पर्खाल नाघिरहेको आदिम शहर

                             दामोदर पुडासैनी ‘किशोर’

नचाहेरै उभिन्छन् पर्खालहरू पाइलामा । उपलब्धीको एउटा जस राजा बनिरहन खोज्छ सधैँभरि । परिवर्तनलाई इख्याउन खोज्छ एउटा आदिम शहर । उज्यालो हुनु अघिदेखिनै ब्युझिसकेको छ ल्होमान्थाङ । भेडाहरू, चौँरीहरू, खच्चरहरू, घोडाहरू, कुखुरा र कुकुरहरूले बस्तीमा बिहान ओर्लिसकेको सङ्केत दिँदैछन् । चैत्य, छोर्तेन र गुम्बाहरूबाट फैलिरहेछ धूपको मुस्लो र पर परसम्म स्पर्श गरिरहेछ मान्छेका नाकका पोराहरूमा । आङदुङ , स्यामा , सुर्की पहिरेर ठिम्बु र ज्यन्जेन भिर्ने महिलाहरू भेटिन्छन् बाटा, गल्ली र चोकहरूमा । स्यामु , फुङ्स्यो , केनम् भिरेर घप्टी हल्लाउँदै हिँडिरहेका पुरुषहरू पनि भेटिन्छन् शहरका कुनाकानी, सडक र साँघुरा गोरेटाहरूमा । बिहान हुनु अघिदेखिनै गुञ्जायमान छ शहर बौद्ध मन्त्र र बौद्ध स्तुतिहरूमा । शहर होइन कुनै विशाल तीर्थस्थल लाग्दैछ ल्होमान्थाङ । मन्त्र जप्दै र स्तुति गाउँदै समय बरवाद पारेर मात्र कहाँ मिल्छ र शक्ति, कहाँ भेटिन्छ र शान्तिको सुवास, काम नगरी मन्त्र जपेर मात्र माला बनाउनुको के अर्थ छ र जिन्दगीको । बिहानभर मन्त्र जप्ने र माला गन्न छोडेर जाँगर नउमारेसम्म जय र स्तुतिले मात्र उम्रन सक्तैन कुनै सिर्जना । काम र प्रार्थना दुबैमा अब्बल देखिन्छन् ल्होमान्थाङबासीहरू ।
                        हाम्रा चार पाइला ल्होमान्थाङ चिन्न रौसिएका छन् बिहानैदेखि । हाम्रा चार आँखा हेरेर अघाएका छैनन् मायालुलाई । खुसी छन् मायालु, आँखाहरूबाट नूतन शहरको स्पर्श पाउँदा । माया निस्फिक्री फैलिएको छ शहरभरि । शहरका हरेक बार्दली, सिकुवा छाना, आँगन, भित्ता र चोटा कोठामा फैलिरहेछ मायाको सुगन्ध । माया पुजा, माया खुसी, माया रङ्ग र माया गति बनेर फैलिरहेछ शहरभरि । बैँसका चिल्ला पाताहरूमा सल्वलाइरहेछ माया निरन्तर । मायाको स्पर्शमा मस्किदै हिँडिरहेछौँ हामी मानेहरू घुमाउँदै ।
हामी मिष्टिक होटलबाट बाहिरियौ र केही उत्तरतिर बढ्यौँ ।
                       थुम्कानै थुम्काहरू पर्खाल बनेर उभिएका छन् ल्होमान्थाङका । थुम्काहरू चैत्यहरू जस्ता छन्, प्रकृतिले मेहनतसाथ बनाएका । गोलाकार र चुलिँदै उकालिएका । थुम्काका चुचुरामा लिङ्गो गाडेर तोरणहरू फहराइदिएका छन् मान्छेहरूले । प्रकृतिमा कृति थपिदिएपछि साँच्चै सुहाएको छ दृश्य । थुम्काहरूमा हरियो परियो छैन । केबल छन् पहेँला थुम्काहरू । बौद्ध बस्त्रले ढाकिएजस्ता ।
ल्होमान्थाङ शहरका दायाँ बायाँबाट मौन शान्ति प्रसार गरिरहेका प्राकृतिक चैत्यहरूबाट फैलेको हावाले शान्त र शालिन बनाइरहेछ मान्छेहरूलाई । हामी दुई भने शहरभरि छरिएर रहेका छोर्तेन र चैत्यहरूलाई छुँदै हिँडिरहेछौ, छापे मानादेखि बिटुमिनका ड्रम जत्रा मानेहरू चार हातले घुमाउँदै हिँडिरहेछौँ । त्यो शान्त प्रदेशमा शान्तिको मुटुमा रहेर यात्रा गर्दा धर्म होइन शान्तिको अनुभूति गरिरहेछु मैले । मेरी शान्ति घामभन्दा चहकिलो बनेर खुलेकी छिन् मलाई पाएर ।  हामी पर्खालको किनारनै किनार हिँडिरहेछौँ । कुनै समय पर्खाल बाहिर कुनै घरहरू बनाउन पाइदैनथ्यो भन्दै हुनुहुन्थ्यो सुरेन्द्र दाइले । अहिले पर्खाल बाहिर पनि फैलदै रहेछ ल्होमान्थाङ शहर ।
                        सन् १३८० मा अमे पालले ल्होमान्थाङ शहर बसाए र शहर बाहिर पर्खालले घेरे, मैले पढेको थिएँ इतिहास । ल्होमान्थाङ शहर २३० मिटर लम्वाई र १५० मिटर चौडाइमा चारपाटे तर पूर्व पश्चिम फैलिरहेछ । बजारलाई घेरेको छ बाक्लो र अग्लो पर्खालले । पर्खालको बीच बीचमा सुरक्षाकर्मीले निगरानी गर्ने बुर्जाहरू पनि छन् । उत्तरपूर्वमा रहेको ठुलो ढोकानै शहर प्रवेश गर्ने ढोका हो । हिमाली क्षेत्रका पर्खाल र द्वारहरूले सुरक्षा र सम्वृद्धिको झल्को दिन्छन् । शहरको शोभाको लागि, शहरको सुरक्षाको लागि र शहरको सम्मानको लागि बनाइयो होला लेमान्थाङ पर्खाल । अहिले पनि अग्लो, सेतो र बलियो ढङ्गले उभिइरहेछ माटोका बाक्लो गारो भएका घरहरू र ठुलो र बाक्लो पर्खालले घेरिएको छ ल्होमान्थाङ । ‘पर्खाल भित्रको राजधानी’ नामले पनि चिनिएको छ ल्होमान्थाङ । हामीले शहरको उच्च भागमा उक्लिएर हेर्यौं , कतै कतै पर्खालमै उक्लिएर पनि हेर्यौं । शहर बाहिर पनि असंख्य रहेछन् ढुङ्गे पर्खालहरू ,बस्ती छेक्न बनाइएका, बाली छेक्न बनाइएका, बिरुवा छेक्न बनाइएका, वायु छेक्न बनाइएका र वस्तु छेक्न बनाइएका । ती नाङ्गा पाखाहरूमा पर्खालनै पर्खाल पो फलाएका रहेछन् मान्छेहरूले । त्यसो त मार्फाबाट उकालो लागेदेखिनै पर्खालनै पर्खालका प्रशस्ती देखिन थालेका हुन् मुस्ताङभरि ।

पर्खालको कोलाजभित्र कुतकुतिरहेछ ल्होमान्थाङ ।
       

                 कसैको लागि अवरोध हो पर्खाल । कसैको लागि विभाजन हो पर्खाल । कसैको लागि सिमा हो पर्खाल । कसैको लागि सुरक्षा हो पर्खाल । मुटुभरि हराभरा बनिरहेको मायालाई कसैले नगरोस् आक्रमण र कहिल्यै नचुहियोस् कतैपनि । प्रेमी प्रेमिकाहरू हृदयदेखिनै गर्दैछन् मखमली पर्खालको आव्हाहन ।
               छोर्दे गुम्वाको बाहिरपट्टि पर्खाललाई दायाँ पारेर हिँडिरहेछौँ हामी । बाक्लो कुहिरो फुसफुसाएझैँ झर्न थाले जलकण ।’ पानी पर्यो पानी पर्यो ,नौलो परिवेश महसुस गर्दैछन् ल्होमान्थाङवासी । कि हिउँ कि शुष्क वायु बाहेक केही नभेटिने लेमान्थाङमा पानीका छिटा सगुन र आशा बनेर बर्सिदैछन् ।
             ‘ए… ए… ए… ए’— हिँड्दा हिँड्दै दुवैजनाले झ्याप्प समात्यौं एकअर्कालाई । एकै डल्लो पारेर छोर्तेनको छेको लाग्यौँ । छोर्तेन हाम्रो लागि पर्खाल नबनिदिएको भए हामी दुईको आन्द्रा उधिन्थे होला भालाजस्ता सिङधारी झोपाहरूले । शहरका साँघुरा गल्लीहरूमा कहिले कुकुरको झम्टाइमा, कहिले झुमा झोपा र घोडाहरूको ठेलमठेल र पेलमपेलमा पर्नु सामान्य भएको छ । पर्खालभित्रका गल्लीहरूमा उकुसमुकुसिएर उछिट्टिएजस्तो लाग्छन् ती जनावरहरू ।
            टासिदेलेक , वेलकम टु ल्होमान्थाङ, दावा याङगेन प्लस मिङ्मार ग्याल्वो, पासाङ वाङ्मो प्लस फुर्पु छिरिङ, ल्हाक्पा ग्याल्जेन प्लस पासाङ छोमो, विलियम गोल्डमेन प्लस क्याथेराइन फिशर, रूपा बराइली प्लस जीवन निरौला, शत्रुधन यादव प्लस रमा घिमिरे, आइ लभ यु सुमित, आइ लभ यु माया, आइ अलवेज लभ यु मधु, श्रीप्रसाद सुवेदी, २०७१।७।९, बुद्ध भगवानको कसम म तिमीलाई हृदयदेखिनै माया गर्छु सुमिना, नयाँ नेपाल गणतान्त्रिक नेपाल, लभ यु ल्होमान्थाङ, गणतन्त्र चाहिँदैन, राजा मास्न पाइँदैन— यस्तै यस्तै लेखिएका छन् पर्खालका भित्ताहरूमा । त्यस बाहेक ‘नौ हाते पटुकीलाई बाह्र हाते सारी, एउटी थिई मोटी काली त्यसले माया मारी’, ‘उकालो डाँडामा राम्रो रानीवन, फिरन्ते यो गरिबको ज्यान मात्रै हो धन’, आनीबानी हेर्ने होइन रूपै हेर्छन् केटा, घुस खाने नेताज्यूको बाह्र हातको फेरा’– यस्तै यस्तै पनि कति लेखिएका छन् कति । अझ तिब्बती भाषामा लेखिएको त हामीलाई कालो अक्षर भैंसी बराबर नै भयो । कता कता ट्रक साहित्यजस्तो पनि लाग्छ भित्ते साहित्य । बिचरा भित्तो युगौँयुगदेखि लेमान्थाङबासीहरूको मेला जात्रा हेरिरहेछ, झगडा मिलाप हेरिरहेछ, राम्रा भन्नेहरूको नराम्रा कर्तुत पनि हेरिरहेछ, कयौलाई छेकिरहेछ, कयौलाई सेकिरहेछ, आपूm भने जसले जे लेखेपनि सहिरहेछ, जसले जे देखाएपनि हेरिरहेछ, जसले जति किला ठोके र ठेले पनि चुपलागिरहेछ । शासनले प्रशासनले र शक्तिको आडमा बवन्डर मच्चाउने निरिह मान्छेको स्वरूप जस्तो पनि छ भित्ता ।
                        समयको धरहरा बनेर उभिरहेछ ल्होमान्थाङ पर्खाल । प्रत्येक इँटा र ढुङ्गाहरूमा मान्छेको स्पर्श नभै बन्दैन पर्खाल । इतिहासको चाङ पनि हो पर्खाल । भित्ता भेटिने बित्तिकै मनका कुण्ठाहरू लेख्न तम्सन्छ मान्छे । स्नानागारहरूमा, शौचालयहरूमा, मन्दिर, चर्च र मस्जिदका भित्ताहरूमा लेखिएका सङ्केतहरूले खोलिरहेछन् इतिहासमा रहस्यहरू । इजिप्टका पिरामिडका भित्ताहरूमा कोरिएका मानव सभ्यता अङ्कित चित्रहरू, अमेरिकाको उचिता माउण्टेनका गिर्जाघरका भित्ताहरूमा टाँसिएका प्रेम, भगवान र मान्छेका गतिशिलताका चित्रहरू म्यान्माको स्वेडगाउँ पगोडाका छेउछाउमा लेखिएका प्रकार र प्रार्थना वासिङ्टन डि.सी.को लिङ्कन मेमोरियल पार्कमा सिगमरमरमा लेखिएका बिरता बहादुरी र मानव बन्ने सूत्रहरू र हाम्रै तिलौराकोटका गाह्राहरूमा कोरिएका समयका तस्वीरहरू छोएका क्षणहरू उदाउँछन् मेरो मानसपटलमा ।
                       चित्रहरू हुन् वा लेखौट, समय र घटनाका तुलफूल बनेर टाासिन्छन् समयका पर्खालहरूमा । कसैको लागि अवरोध, कसैको लागि सुरक्षा, कसैको लागि रहस्य, कसैको लागि प्रतिष्ठा, कसैको लागि आदि र कसैको लागि अन्त्य बनेर उभिरहेछन् पर्खालहरू संसारभर । स्वतन्त्रताका जरा र हाँगाहरू दूर क्षितिजसम्म दौडाइरहेको बेला पर्खालका भित्ताहरूमा ठोक्किनु गतिमै गोलमाल सिर्जना हुनु हो । मान्छेका मनहरू बीचमा पर्खाल ठडिन थाल्यो भने मनहरू नै उभिन्छन् बिद्रोहमा र ढालिदिन्छन् पर्खालहरू गर्ल्याम्गुर्लुम् । भत्काइएको बर्लिन पर्खालको अवशेष अघिल्तिर उभिएपछि थाहा पाएँथे मैले कुनै बेला स्वतन्त्रता भन्दा ठुलो केही मान्दैन मान्छेले मान्छे बिरुद्ध उभिएका पर्खालहरू टिकेको देखेको छैन मैले आजसम्म । नारायणहिटी होस् वा केशरमहल, बागदरवार होस् वा बबरमहल, हरिहरभवन होस् वा रबिभवन, सिंहमहल होस् वा फोहरा दरबार सबैका पर्खालहरू निरिह बने मानव सागरको बेगमा ठोक्किएर ।
पर्खाललाई पैदलले नाघेर मान्छेका मनहरूलाई दरबारका चोटा कोठा र बार्दलीहरूमा उभ्याएको देखें मैले जापानमा । मान्छेको आस्थाहरू च्यापेर मान्छेसँग निर्वाध अङ्कमाल गरिरहेको भेटें मैले रानी एलिजावेथलाई वकिङ्धम दरबारको पर्खाल बाहिरसम्म । पर्खाल नभएपछि कति मजाले सुमसुम्याइरहेछन् मान्छेहरूले आफ्ना आस्थाहरूलाई बेल्जियम र नेदरल्याण्डमा । प्राप्तिको पवित्र प्राण मानिरहेछन् मान्छेहरूले पर्खाललाई लेमान्थाङमा । चीनको ग्रेटवाल गाइँगुइँ गर्दैछ भेटेका हरेकसँग इतिहासका चिल्ला पत्रहरू पल्टाउँदै । युरोपेली र अमेरिकीहरू पर्खाल निर्माण गर्नु सट्टा बगैंचा बनाउन आतुर छन् । पर्खाल त व्यक्तिवादी सोचको संरक्षक पनि हो । स्वार्थको सहारा पनि हो । डर र शङ्काको सुमसुम्याई पनि हो । जतिजति इष्र्या, लोभ, मोह र अहंकार बढ्छ मान्छेमा त्यति नै ठूला ठूला बनाउन थाल्छ मान्छेले पर्खाल । लेमान्थाङ पर्खालकै छेउमा उभिएर सोचे मैले ।’ कसैको प्रेम पनि कसैको लागि पर्खाल बन्न सक्छ’– ठीकै भन्नुभयो मित्रले ।

पवित्र भयो भने प्रेमको स्तम्भ बन्न सक्छ पर्खाल ।

नेपालको धरहरा होस् या आग्राको ताजमहल दुवै हुन् प्रेमको बलिया पर्खाल । बौद्ध सम्पदा, राजा र जनतालाई घेरोभित्र पारिरहेछ पर्खालले लोमान्थाङमा । हजारौँ वर्षको हिउँ खपिरहेछ, हवा सहिरहेछ, घाम खपिरहेछ, उस्तै उस्तै देखिँदा देखिँदै सधैँ परिवर्तनशील छ संसार । ल्होमान्थाङका आरोह र अवरोहको निर्दोष साक्षी बनिरहेछ पर्खाल ।
                     अप्ठ्यारा, पीडा र अवरोध भनेकै पर्खाल हुन् जिन्दगीका । जिन्दगीका पनि तह तहमा पर्खालहरू छन् । पर्खालहरू छन् र पो जोश, जाँगर र सपनाहरू छन् जिन्दगीका । प्रेम पनि त पर्खाल हो एउटा, अथवा एउटा बाँध हो, जो निश्चित शर्त र खुसीहरूका बगैँचामा फक्रने गर्छ । कयौँ पर्खालहरू त आफैँ बनाइरहन्छौ मनमा हामीहरू । दिग्दारीहरू, असन्तोषहरू र चिडचिडाहटहरू कसैगरि पनि नपसुन् मनमा भन्ने जारी हुन्छ अभिप्राय । त्यसको लागि गतिशिलता, कार्यमा सजगता, परिवारको ढाडस, मित्रहरूको आत्मीयता, प्रेमको सामिप्यता र औषधिका सहाराहरू पर्खाल बनेर उभिन्छन् ।
                       ‘ठीक समयमा उपयुक्त पर्खाल निर्माण गर्नुमा विशेष महत्त्व रहन्छ । पर्खाल निर्माण गर्नु, पर्खालको सुरक्षा गर्नु, पर्खाल कमजोर पार्नु र पर्खाल भत्काउनु यत्तिकैमा त चलिरहन्छ जिन्दगी । आखिर, जिन्दगी भनेको त पर्खाल सिर्जना र विनाशको खेल पो रहेछ कति काम सोचेर पनि सम्पन्न गर्न सकिँदैन, कति ठाउँ चाहेर पनि पुग्न सकिँदैन । इच्छामा भाँजो आइपर्नु पनि पर्खाल बाहेक के हो र अरू ? ल्होमान्थाङ पर्खालको पश्चिमी कुनामा पुग्दा पर्खाल दर्शनमा डुबिसकेका थियौँ हामी दुवै ।
‘टाँसिदेलेक’ ,पर्खाल छेउकै साँघुरो गल्लीबाट निस्कँदै गरेका दुई बहिनीहरू हामीलाई नै लक्षित गरि हाँसेपछि हात जोडे मैले ।
‘नमस्कार’, कहिले आउनुभएको हजुरहरू ? पहिला पनि आउनुभएको थियो कि ?’,हृदयदेखिनै खुलेर मुस्काउनु भयो बहिनीहरू । खुला पर्वत जस्तै खुला दिल हुनु र हावाझैँ खुलेर हाँस्नु कति सुन्दर बानी छ ल्होमान्थाङवासीमा ।
ल्होमान्थाङको ठुलो पर्खालभित्र पनि घरहरू मात्र होइन असङ्ख्य पर्खालहरू रहेछन् । कुनै पर्खालमा घोडा, खच्चर र भेडाहरू थुनिएका छन्, कुनैमा डुङ्डुङी गनाइरहेछन् मलमूत्रहरू, कुनैमा हरिया रूखहरू र कुनैमा ढुङ्गा छापिएका आराम कक्षहरू देखिन्छन् । केही छैन भने पनि घर घरलाई भने मज्जैले घेरिएका छन् पर्खालहरूले ।
                  ‘तपाईँले बोक्नु भएको झोला र यी पर्खालहरू उस्तै उस्तै लाग्छन् मलाई’, आङफुरी बहिनीको रङ्गिन झोलालाई इङ्गित गरेँ मैले । ‘दुवै उस्तै त हुन् नि आफ्नोलाई छोप्ने अरूलाई रोक्ने । आखिर वस्त्रहरू पनि पर्खाल हुन्, शरीर पनि हृदयको लागि पर्खाल हो, घर पनि पर्खालहरूको जमात हो, ताला पर्खालको पहिलो भेट हो’,आङफुटी र पेम्पा साङ्मोका तर्कहरूमा खुसी भयौँ हामी सबै ।
एउटा मुस्कान र केही शब्दको साटासाटले तोडिदोरहेछ मान्छे बीचको पर्खाल । परिचित होस् वा अपरिचित जो सुकैसँग पनि जुनेली मुहारमा अघि सर्ने, जोसँग पनि मनका कुरा खोलेरै बोल्ने पर्खाल बिनाको व्यवहार छ लेमान्थाङेहरूको । पर्खालनै पर्खालको घेराहरूमा बसेर खुला चौरझैँ हल्किनु विशेषतानै छ उनीहरूको ।
                  ‘ओठहरूबाट मन्त्रहरू खसेको सुनिदैन, हातहरूमा माने घुमेको देखिँदैन, बौद्ध आस्थाको शहरमा तपाईँहरू मात्र देखिनुहुँदैन अपवाद’,दरबारको दायाँ मोहडामा कोट्याएँ मैले बहिनीहरूलाई ।
‘यहाँको माटोका हरेक कणमा शान्तिको जमरा जम्जमाईरहेछन्, हावाको हरेक गतिमा घुलिएको छ शान्ति र सुगन्ध, शान्त संसारमा उदाउँछ घाम र शान्ति छोड्न परेकोमा बिरक्तिदै अस्ताउँछ उ । हिउँ, पर्वत, हिमनदी र ढुङ्ग्याने आकृतिहरूमा कोरिएका छन् शान्ति नै शान्ति । प्रकृतिले नै बनाएको छ करोडौ चैत्य, गुम्बा र छोर्तेनहरू यहाँ । प्रकृतिले नै हुर्काइरहेछ असीम शान्ति । मान्छे स्वयं क्रुर, अपराधी र अन्यायी नबन्ने हो भने बुद्धको पुकारा गरेर समय बरबाद बनाइरहनुको के अर्थ, बुद्धमूर्ति र उनका छोर्तेनहरू उभ्याइरहनुको के अर्थ ? मान्छेले संसार नबिगार्ने हो भने शान्ति पुकार्नुको आवश्यकता छैन । हामी पुकारबाट होइन आचरण सुधारबाट शान्ति ल्याउने अभियानमा छौँ । बहिनीहरूको दर्शन पक्का मानववादी थियो । मानववादी अभियन्ता उत्तमजी भने मिष्टिक होटलमै रहनु भएकोले सुन्न पाउनु भएन त्यो कुरा ।
       ल्होमान्थाङ बजार पश्चिमबाट पूर्वतिर विस्तारै ओरालो झरेको छ । उत्तरतिर पहेंलपुर डाँडानै डाँडाको बीचमा एउटा अर्को अग्लो डाँडो छ । त्यसमा बौद्ध ध्वजा पताकाहरू फर्फराइरहेछन् । माथितिरबाट कुहिरो क्रमशः झरिरहेछ ध्वजा पताकाका अक्षरहरू कोट्याउँन । त्यो केसरजोङ किल्लाको भग्नावशेष रहेछ । केसरजोङ किल्लामा चढेर ल्होमान्थाङको सर्वाङ्ग नियाल्ने इच्छा उर्लेको थियो, तर त्यहाँ पुग्न झण्डै तीन घन्टा हिँड्नुपर्ने कुरा बुझेपछि किल्लालाई आँखैले कन्याएर चित्त बुझाउनु बाहेक अरु केही उपाय सुझेन । अलिपर कोरेला पारि तिब्बत भेट्ने बाटोको रेखा पनि प्रष्ट देखिन्थ्यो । इच्छा भएर पनि तिब्बतका बिशाल मैदानहरू चाहार्ने अभियानलाई समयले पर्खाल लगाइदियो । समयको पर्खालको अगाडि सवैले निरिह नबनी सुख्खै छैन । 

बरिष्ट नियात्राकार दामोदर पुडासैनी हालसालै

शंकर लामिछाने युबा निवन्ध पुरस्कार बाट बिभुषित हुनुभएको छ 

प्रतिक्रिया दिनुहोस्