Logo

कविता : सन्दर्भ निर्वाचन

 
           ई. राजेन्द्र पौडेल
 फटाहा वेमानी अघि अघि बढे यो मुलुकमा
भरोसा का खम्बा पलपल ढलेका छन यहाँ
सधैं यस्तो भोग्दै कति सहिरहूँ सार्थक जुनि
चुनौं सच्चा मान्छे सकल दुनियाँको हित हुनी
भनी पैसा सत्ता पछि पछि दगुर्ने हरु सित
बस्यो चुल्ठे मुन्द्रे पलपल गुहार्ने किन रित
बुझौं यस्तो धन्दा अब पनि कतै चल्छ कि भनी
चुनौं सच्चाँ मान्छे सकल दुनियाँको हित हुनी
हुँदा पेसा सेवा तर महल त्यो बन्छ कसरी
पजेरोमा कुद्ने कुन छ दरिलो स्रोत यसरी
गरी लेखा जोखा अबत गतिलो छान्नु छ गुनी
चुनौं सच्चा मान्छे सकल दुनियाँको हित हुनी
चुन्यौं नेता कैयौं तर मुलुकको हालत उही
गयौं गिर्दै गिर्दै असफल हुँदा छानिन सहि
सुनौं आत्मा भित्रै सहि गलतको वास्तब ध्वनी
चुनौं सच्चा मान्छे सकल दुनियाँँको हित हुनी
कसैका चिप्ला त्यी मधु बचनमा लठ्ठ नपरी
कतै पैसा झार्लान् तर पनि कुनै लोभ नगरी
नखानूँ रक्सी त्यो छम छम ननाच्नूँ फनफनी
चुनौं सच्चा मान्छे सकल दुनियाँको हित हुनी
हाल काठमाण्डौं

 

प्रतिक्रिया दिनुहोस्