कविता : प्रवासको चित्कार
बिमला शर्मा ढुङ्गाना
प्रिय तिम्रा ती यादहरु
मेरो मनको बाटो हुँदै
समुन्द्री छाल सरि उर्लिदै
मेरा यी नयन सम्म आएर
आँशु बनेर पोखिन्छन्।
र… दिनमा सुर्यको किरणले सुक्दछन
त रातमा सिरानी सम्म भिजाउछन् निथ्रुक्क हुनेगरी
अनि न, यी ठुला महलहरुले
छेक्न सक्छन्
तिम्रा यादहरु लाइ
न कुनै आँधीहुरिले रोक्न नै सक्छन्
बारम्बार आइरहन्छन्
कहिले सपना बनेर त
कहिले कल्पना बनेर
अनि दिनमै डुबाईदिन्छन् याद बनेर।
साँझ बिहान चल्ने मन्द बतासले
पनि तिम्रै
याद बोकेर आइदिन्छन्
अनि मेरो दिलको ढोका उघारी दिन्छन्
अनि तिम्रै आवाजमा मलाई पुकारी रहन्छन ।
हो, हाम्रो थाप्लोमा साहुको ऋणको बोझ भएकोले
म नचाहदा नचाहदै
अथवा बाध्यताले गर्दा
ती कलिला मुनाहरु
मेरा मुटुका धड्कन हरु छाडेर
प्रवास आएकी हुँ
उनिहरुको पनि याद उस्तै आईरहन्छ
हरेक प्रहर कोल्टे फेर्दै निदाउने कोशिश गर्छु ।
तर सक्दिन उहि यादले मन धमिलो बनाइदिन्छन
र त रातमा कसैको बच्चा रोएको आवाज
गुन्जियो भने पनि
मेरै सन्तानको आवाज जस्तै लाग्छ
अनि फेरि यी आँसुका भेल बग्न सुरु गर्छन्
तर यो व्यथा कस्ले बुझ्ने यो मुग्लानमा ?
तिमीले.. सगरमाथाको उचाईबाट
मलाई नियाल्न मिल्ने भए,
थाहा पाउथ्यौ,
म मृतसागरको देशमा जलेर जिएको
बिछोडको पीडाले छट्पटाई रहेको ।
अनि मात्रै बुझ्थ्यौ होला
प्रवासी पीडा
कहिले तिम्रा तस्बिर हरुसंग यी नयन टोलाई दिन्छन ।
बर्षौ भयो मैले यी तस्विरसँग
आफ्ना दु:ख पोखेको पनि
खै ! यी तस्बिरले न कुनै जवाफ दिए
न म रुदा मेरा आँसु पुछे
भविष्यको खुशीको निम्ति
बर्तमानमा दु:खी बनेकी छु म
रोए पनि ती मुटुका धड्कनहरु को
आँखामा कहिले आँसु झर्न नदिनु
र आफू पनि कहिले दुखी नबन्नु।
र म यो परदेशी भुमिमा
तिम्रा यादहरु मुटु भित्र गाँठो पारेर
अनि हराएका खुशीहरु बोकेर
छिट्टै फर्कनेछु र तिम्रै समिप्यमा आउनेछु।
हाल ईजरायल