Logo

कविता : प्रतिज्ञा

           जानकी पन्त ” जून “
बाँधिएको मन लाइ खुल्ला आकाशमा उड्न दिने,
कुण्ठिएको मुटु लाइ धर्तिमा खुल्न दिने
परिवर्तन खोज्ने पाइलालाई सागर झैँ बग्न दिने,
बोझिलो मन लाई हावा झैँ हल्का झुल्न दिने
कुण्ठित जीवनलाई प्रकृतीमा रम्न दिने,
मनको आवाजलाई ध्वनि झैँ गुञ्जन दिने
निरस रहरलाई रंग मा रंगाई दिने,
नमेटीएका छापलाई सधैलाई मेट्न दिने
नकोरिएका भाग्य आफैलाई कोर्न दिने,
नभेटीएका खुशीलाई आफैमा भेट्न दिने
 दवेका जिज्ञासा,
मरेका आशा अनि,
कुण्ठिएका भावनालाई  जीवनमा जाग्न दिने
गतिशील मस्तिष्कमा रुकेका,
अनिश्चित यात्राको अस्थिरतालाई
 यात्रामा चल्न दिने,
अन्तर चेतनामा सधै रुमलिने
द्दन्द र प्रतिद्दन्द लाई मन  संगै बग्न दिने
जीवनका तिता भोगाईमा दुखेका बेदना,
अतितका चस्केका सम्झनाहरुलाई
नयनमा टुक्रेका सपना,
हृदयमा दबेका चाहना र
जीवनका अधुरा सपनाहरुलाई
मोडिएको भाग्यको रुझेका भावना र
मनको अन्तरालमा दबेका तिर्सनाहरुलाई
फेरि फूल झैँ फुल्न दिने,
मिठो सुवास छर्न दिने,
पूर्णिमा को जून झैँ धर्तीमा उदाउन दिने
तुफान पछिको परिवर्तनलाई
अनि शिशिर पछिको बसन्तलाई
जीवनमा फेरि स्वीकारेर,
जीवन देखि कत्ति नआत्तिएर ,
मृत्यु देखि कतै नभागेर,
आफै देखि कत्ति नथाकेर उज्यालो दियालो को मृगतृष्णामा
त्यहि सडक पारि सम्म पुग्ने एउटा मेरो प्रतिज्ञा !
काल्पनिक संसार देखि बहिरिएर आफू मै सम्हालिने,
आफूमै अंगालिने मेरो प्रतिज्ञा !
यो हो मेरो आफै संगको
आफ्नै आत्मविश्वास को एउटा परिक्षा !
जीवनको दुर्भाग्य लाई,
भाग्यमा परिवर्तन गर्नलाई,
फेरि मौका दिने मेरो प्रतिज्ञा !

हाल : लन्डन , बेलायत 

प्रतिक्रिया दिनुहोस्