Logo

सम्हालेर राख

             -उषा शेरचन
आमा ! तिमी निश्चिन्त भएर हाँस

आमा ! तिमी निश्चिन्त भएर बाँच

यो इतिहास भूमिमा

हामी भावी सन्ततिका लागि इतिहास रच्दछौँ

देखिरहेका छौं

अहिले हामी बसन्त भइरहेका छौं

अहिले हामी नदी भइरहेका छौं

अहिले हामी एउटा सिङ्गो वर्तमान भइरहेका छौं

तिमी जोगाइमात्र राख विश्वासको आकाशलाई

गोरेटो–गोरेटोमा हामी हुनेछौं

घुम्ती–घुम्तीमा हामी हुनेछौं

विश्वास गर

पसिना–पसिना हामी हुनेछौं

गत–रगत हामी हुनेछौं

आमा ! सन्ततिका आँखाहरुलाई

दृश्य यहाँ बेग्लै हुनेछ

कविता यहाँ बेग्लै हुनेछ

धुन यहाँ बेग्लै हुनेछ

आमा ! ‘त्यो’ बर्तमान नै बेग्लै हुनेछ

पछ्यौरीभरिको ‘आकाश’ पनि बेग्लै हुनेछ

सम्हालेर राख तिम्रो त्यो पछ्यौरीलाई

त्यहाँ हाम्रो आस्था छ

त्यहाँ हाम्रो आकाश छ

त्यहाँ हाम्रो विश्वास छ

आमा ! आकाश सुन्दर छ !!

आमा ! आकाश शान्त छ !

आमा ! आकाश विशाल छ !!!

  -हाल काठमाण्डौं

प्रतिक्रिया दिनुहोस्