Logo

दस्तावेज

 हो , उनिहरुले दस्तावेज माग्नेछन्

हामि इतिहास बन्नुअघि ..

हाम्रा भावी सन्ततिहरु

यसै मौन रहने छैनन् ,

एक दिन अवश्य उनिहरु हामी संग इतिहास माग्नेछन्

हामी बुढ्यौली को भुमरीमा रन्थनिएर

सकि नसकि भद्दा चस्मा मिलाउदै

देशको च्यातिएको नक्शा खोज्नेछौं

‘अल्जाईमर ‘ ले खाएको दिमागमा

बिगत का पाना पल्टाउदै,

धुमिल यादहरुमा

हाम्रो इतिहास खोज्ने प्रयास गर्नेछौं ।

अहँ , हाम्रा भावी सन्ततिहरू

यसै मौन रहने छैनन्

उनिहरूले हामी संग

दस्तावेजहरु माग्ने छन्

हामीले गरेका

संघर्ष र प्रत्येक भोगाईहरूका

हामीले गरेका निर्णय र हरेक रोजाईहरूका

त्यतिबेला ,

हामी इतिहास र बर्तमान को संघारमा उभिएर ,

थरथराएका कम्जोर हातहरुले

धुलो भित्र पुरिएका अतित खोज्नेछौं ।

कनी कुथी रगत पसिनाको

कथा पस्किने प्रयास गर्नेछौं ।

अहँ , हाम्रा भावि सन्ततिहरु

चुप पनि हुने छैनन्

उनिहरु ‘लाटो बुंगो’को कथामा

मख्ख पर्ने छैनन्

हरेक घटित घटनाहरुको

ठोस प्रमाण माग्नेछन्

प्रश्नको ठेली हुनेछ हाम्रो सामु

चित्त बुझ्दो जवाफ,

बुझाउन सकिने र बुझिने इतिहास,

सिंगो देशको नक्सा र स्पष्ट दस्तावेजहरु

मागिने छ हामीसँग ,

उनिहरुले महसुस र मनन गर्न सक्ने

थुप्रै सत्य तथ्यहरुको अभावमा

ननिहुरियोस् शीर हाम्रो ।

तेरो र मेरोको भागदौडमा लुछाचुँडी गर्दा

देशको नक्सा नच्यातिएला र ?

छिना झमटी गर्दा

इतिहासको पाना मा दाग नलाग्ला र ?

त्यसैले ,

तिमी र म ,

समग्रमा हामी इतिहास बन्नुअघि

आऔं न एउटा प्रण गरौ संगै ,

हराएका र लोप हुन लागेका हाम्रा दस्तावेजहरु ,

हाम्रा चिनारी गाथा र संघर्ष का कथाहरु ,

इतिहास का पानाहरु

धुजाधुजा भएर च्यातिनु अघि

देशको नक्शालाई सुरक्षित गरौ

भाबि सन्ततिको अघिल्तिर

लाजले शीर झुकाएर होइन ,

गर्वले छाती फुकाएर भन्नसक्ने

देखाउन सक्ने र चिनाउन सक्ने

आजको जिउँदो बर्तमान लेखौ

अथवा भावी सन्ततिको लागि

तिमी र म , समग्रमा हामि आफै

इतिहास बन्नुअघि ,

आउ फेरी मिलेर संगै ,

एउटा नयाँ सिंगो इतिहास लेखौं …।

भाबि पुस्ताका लागि दस्तावेज लेखौं

एभरेष्ट सूर्य बोहरा

हाल अमेरिका

प्रतिक्रिया दिनुहोस्