डा. राजेन्द्र बिमल
दामोदर पुडासैनी ‘किशोर’
घाम लोभ्याउने एउटा चहकिलो गोलमोहर भनुँ
वा, फैलदै फक्रदै सबैलाई छहारी दिने
एउटा लोभलाग्दो बटवृक्ष
जो मधेशमा उम्रियो
शीतलता, भने छर्दैछ हिमाल भन्दा पर परसम्म
उसको शरीर भरि तेजिला आँखाहरू छन्
र, गहिरा दिमागहरू छन् अङ्ग अङ्गमा
आवाजभरि वर्षन्छन् सिर्जनाका पत्रहरू
उठ्छन् मौनतामा मानवता उचाल्ने प्रगाढ चिन्तन
क्षण क्षणमा विष पिइरहन बाध्य छ उ समाजबाट
मर्दैन, हारेको छ मृत्यु ऊसँग
साहसी नीलकण्ठ बनेर
छर्दैछ नवीन बिचार संसार उचाल्ने
उसको एक दृष्टि अघिल्तिर
कयौं शकुनीहरू पुक्लुक्क पुक्लुक्क ढल्ने गर्छन्
ऊ घामको माझबाट ब्युँझियो
रोपिरह्यो हिमरापमा अँध्यारो प्रदेशबाट मान्छे उचाल्ने बिउहरू
अचेल उसले खेती गरेका गराहरूमा
खुबै फस्टाएका छन् विश्व मानवताका सूर्यमुखी फूलहरु
देश हाँक्छु भन्नेहरूनै
टुक्रा टुक्रा पार्न खोज्दैछन् देशको मानचित्रलाई
उनीहरू छिनाल्न खोज्दैछन् सारङ्गीको तारलाई
र, क्षत विक्षत पार्न खोज्दैछन् एउटा लोभलाग्दो इन्द्रेणीलाई
विभाजन गर्न खोज्दैछन् भूगोलमा, जातमा र रङमा
उ भने निरन्तर नेपाल आमाको नवीन चित्र कोरिरहेछ
र, कोरिरहेछ
सबै सन्ततिको अनुहार मिसिएको नवीन नेपाली सुस्केरा
मान्छेसँग मान्छेको मन तोड्न खोज्नेहरू
हारिरहेछन् निरन्तर उसको अघिल्तिर
उसको अघिल्तिर उभिएपछि
मान्छेहरू, निर्माण गर्न थाल्नेछन्
प्रेमको नौलो सगरमाथा
थाल्नेछन् उसैको किनारबाट
उत्साहको एउटा अपराजित यात्रा
मलाई भने
झर्याम झुरुम फुटेका आकाशहरू बटुलेर
हरेक बिहानहरू ऊ जस्तै मुस्काउँदै ओर्लने
मानवीय उत्सर्गका सुनौला फूलहरु फुलाउन मन लाग्छ
उसको अघिल्तिर उभिएपछि
उसले हिमाल ढल्न दिनेछैन
र, भासिन दिनेछैन मधेशलाई
वर्तमानका कलिला हाँगाहरूलाई शीतल जूनले सेकाएर
बहुरङ्गी सुगाहरू नचाउँछ र हत्केलामा
उ आफैँ भने आगो हो
तनतनि पानी प्युँछ हिमालको
र हलो जोत्दै सीताका उर्वर फाँटहरूमा
उमारिरहन्छ मान्छे ब्युँझाउने चराका दुलही स्वरहरू
ए मान्छेहरू हो
हामीहरूले उसलाई अझै राम्ररी चिन्न सकिरहेका छैनौँ
उ भने
हाम्रै लागि खुशीको कुमारी उज्यालो उमार्दै
चाहारिरहेछ
हाम्रै पाइलाको अघि अघि
हाल काठमान्डौं