सिमानाका रङ्ग सिमानाका तरङ्ग’को शैली वैज्ञानिक अध्ययन
चारुभा घिमिरे
१. विषय प्रवेश
यात्रालाई अक्षरमा ढाल्नु यात्रा र जीवन दुवैलाई रङ्गीन र प्रतिफलमुखी बनाउनु हो । यात्रा कुनै क्षणमा पुगेर रोकिन सक्छ, तर यात्राले जन्माएका अक्षरहरू युगयुगसम्म बाँचिरहन्छन् (पुडासैनी, २०७२) भन्ने धारणा राख्ने नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ वि.सं. २०३४ सालदेखि नेपाली साहित्य सिर्जनामा छुट्टै छाप राख्न सफल साहित्यकार हुन् ।
यात्राका क्रममा साक्षात्कार भएका भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक बिम्बलाई विषय बनाएर कविता र नियात्रा लेखनमा कलम चलाउने पुडासैनीका यात्राका प्रेमिल तरङ्गहरू (२०६५, नमेटिएका चित्रहरू (२०७०), मायालु हुम्ला (२०७१) र सिमानाका रङ्ग सिमानाका तरङ्ग (२०७२) गरी जम्मा चारओटा नियात्रा सङ्ग्रह प्रकाशित छन् । सिमानाका रङ्ग सिमानाका तरङ्ग लेखनका दृष्टिले तेस्रो र प्रकाशनका दृष्टिले चौथो नियात्रा सङ्ग्रह हो । पुडासैनीले यस नियात्रामा श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र बङ्गलादेश भ्रमणका क्रममा भेटेको समाज, संस्कृति र भूगोललाई विषय बनाएका छन् । प्रस्तुत समालोचनामा ‘सिमानाका रङ्ग सिमानाका तरङ्ग’ नियात्राको शैली वैज्ञानिक आधारमा विश्लेषण गरिएको छ ।
२. विषय विस्तार
शैली शब्दको उत्पत्ति ‘शील’ धातुबाट भएको हो । संस्कृत ग्रन्थहरूको ‘शील’ शब्दलाई विभिन्न अर्थमा प्रयोग गरिएको पाइन्छ । ‘शील’ धातुबाट निर्मित शैली शब्दको अर्थ ढङ्ग, ढाँचा, वरिपाटी, तरिका, रीति, मार्ग, वृत्ति भन्ने हुन्छ (पौडेल, २०६९, ३४) । समालोचनाका क्षेत्रमा प्रचलित ‘शैली’ शब्द अङ्ग्रेजीको ‘स्टाइल’ शब्दको नेपाली रूपान्तरण हो । यसको अर्थ भाषिक अभिव्यक्तिको पद्धति अर्थात् वक्तृत्व शक्ति, लेखकको अभिव्यञ्जना पद्धति, उसको वैयक्तिक विशेषता, विशिष्टता, व्यक्तिको आचारविचार र ढङ्ग ढाँचालाई जनाउँछ (ढकाल, २०७०, ३४) । रचनाकारको विशिष्ट रचनाप्रकार वा अभिव्यक्तिलाई शैली भनिन्छ (शर्मा, २०५९, ३) ।
भाषा विज्ञानको सहयोग लिएर कुनै पनि साहित्यिक कृतिको शैली वैज्ञानिक अध्ययन गर्ने समालोचना प्रणाली शैली विज्ञान हो । शैली विज्ञान साहित्य समीक्षाको नवीनतम, वस्तुनिष्ठ, प्रायोगिक, भाषापरक, वैज्ञानिक र सिर्जनात्मक सिद्धान्त तथा पद्धति दुवै हो । यसले वस्तुपरक दृष्टि र व्यवस्थित ढङ्गबाट साहित्यिक कृतिको भाषिक विश्लेषण, यथार्थवादी मूल्याङ्कन गर्छ (शर्मा, २०५९, १९८) । यसका दृष्टिमा कृति ‘सङ्कथन’ हो । कृतिको भाषा वस्तु हो । यस कृतिको रूप पक्ष र अर्थ पक्षको अध्ययन गर्छ ।
कृतिको शैली वैज्ञानिक विश्लेषणको सामान्य प्रारूपअन्तर्गत चयन, अग्रभूमिकरण र शैली चिन्हको अध्ययन पर्दछन् । चयनभित्र कृतिमा पाइने विशिष्ट भाषिक चयनको निर्धारण र विश्लेषण पर्दछ । अग्रभूमीकरणअन्तर्गत विचलन र समानान्तरता पर्दछन् । विचलन भनेको प्रचलित व्याकरण र मान्यतालाई बिगारेर सौन्दर्यगत विशिष्टता ल्याउनु हो भने समानान्तरता भनेको कृतिमा प्रस्तुत कुनै भाषिक एकाइ दोहोर्याएर कृतिमा सौन्दर्यगत विशिष्टता ल्याउनु हो । शैली चिन्हक भन्नाले कृतिमा पाइने प्रायिक र विरल शैली चिन्हकहरूको निर्धारणलाई बुझिन्छ । कुनै कृतिको शैली वैज्ञानिक विश्लेषण र व्याख्या केबल चयनका आधारमा वा केबल अग्रभूमीका आधारमा वा केबल शैली चिह्नकका आधारमा वा केबल शैली चिह्नकका आधारमा वा सबैका आधारमा गर्न सकिन्छ (शर्मा, २०५९, ३४) कृतिको शैली वैज्ञानिक विश्लेषणको प्रारुपका आधारमा कृतिको विश्लेषण गर्दा भाषाका स्वनिम, लेखिम, शब्द, वाक्य, सङ्कथन र अर्धको स्तरमा गर्न आवश्यक मानिन्छ । कृतिको संरचना हेरी यी मध्ये कुनै एक, दुई वा सबै स्तरको विश्लेषण गर्न सकिन्छ (ऐ.) ।
प्रस्तुत समालोचनामा विवेच्य कृति सिमानाका रङ्ग सिमानाका तरङ्गको शब्द र वाक्यको स्तरमा रहेर विश्लेषण गरिएको छ । साथै शैली वैज्ञानिक विश्लेषणको प्रारूपका रूपमा चयन र अग्रभूमीकरणलाई मात्र लिइएको छ ।
२.१ सिमानाका रङ्ग सिमानाका तरङ्गमा चयन
भाषाका वर्ण, शब्द, व्याकरण, अर्थ आदि सबैमा विकल्पहरूको सम्भावना हुन्छ । तिनै सम्भावित विकल्पहरूमध्ये उपयुक्त विकल्प छनोट गर्नु चयन हो । लेखकले आवश्यकताअनुसार नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियाविशेषण, विभिन्न स्रोतका शब्द चयन गर्न सक्छन् । त्यस्तै उखान, टुक्का, अर्को भाषाका शब्द पनि चयन गर्न सक्छन् । त्यस्तै वाक्यअन्तर्गत सरल, संयुक्त, मिश्र, सूक्तिमय, वैचारिक र विशिष्ट अर्थयुक्त वाक्य चयन गर्न सक्छन् ।
प्रस्तुत समालोचना पुडासैनीले चयन गरेका शब्द, पदावली, वाक्यको मात्र अध्ययन गरिएको छ । ती आधारमा हेर्दा पुडासैनीको यो नियात्राले विशिष्ट महत्त्व राख्दछ ।
२.१.१ सिमानाका रङ्ग सिमानाका तरङ्गमा शब्द चयन
२.१.१.१. तत्सम शब्द
प्रस्तुत नियात्रालाई प्रभावोत्पादक बनाउन पुडासैनीले तत्सम शब्दहरू धेरै ठाउँमा प्रयोग गरेका छन् । उपयुक्त स्थानमा उपयुक्त किसिमले तत्सम शब्दहरूको प्रयोगका कारण प्रस्तुत नियात्रामा भाषिक चमत्कार सिर्जना भएको पाइन्छ । वाक्यहरूमा उपयुक्त शब्दहरू चयन गर्न सक्नु आफैँमा नयाँ आविष्कार पनि हो । पुडासैनीको लेखनीमा यो सजगता पाइन्छ । उनले प्रयोग गरेका यस्ता तत्सम शब्दले संभावनाहरूलाई फराक बनाउन मद्धत गर्दछ । जस्तै ः शालीन (पृ. २), क्षेमकुशल (पृ. ४), रूपान्तरण (पृ. ९), पारदर्शी (पृ. १२), विपरीत (ऐ.), प्रेक्षालय (६३), षोडशा (६४), असीम (६७), परीक्षण (७३), जीर्णता (ऐ.), सुवर्णभूमि (८६), रक्तपिपासु (९३), निर्वाण (१०१), दीपशिखा (१०३), अष्टाङ्गिकमार्ग (१०५), स्वीकृति (११२), सीमाहीन (११६), नृत्याङ्गना (११७), देदीप्यमान (११९), शैशवकालीन (१२२), कीर्तन (१२६), वितण्डा (१३१), वेदध्वनि (१३८), विषज्वाला (ऐ.), स्निग्ध (१४५), प्राङ्गण (१४६), कान्तिहीन (१५०), अनुरक्तता (१५६), प्रद्योत (१७२), सर्वोच्चानन्द (१८६), निमेषभर (१९७) आदि ।
२.१.१.२ आगन्तुक शब्द
नियात्रालाई रोचक बनाउन लेखकले नेपाली भाषा बाहेक अन्य भाषाबाट आएका प्रशस्त शब्द प्रयोग गरेका छन् । यस अध्ययनमा अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा आएका र लेखक पुगेका देशका पात्रहरूले बोलेका शब्दहरू पनि समावेश गरिएका छन् । यसरी सम्बन्धित पात्रले आफ्नै मौलिक भाषा प्रयोग गर्नाले स्थानीय रङ्ग टपक्क टिपिएको प्रष्ट हुन्छ । स्थानीय र पात्रहरूको स्थानीक भाषाको कारण पुडासैनीका नियात्रा पढ्दा पात्रहरूसँग प्रत्यक्ष कुराकानी गरेको महशुस हुन्छ । यो पनि सिमानाका रङ्ग सिमानाका तरङ्गको मौलिक र प्रवल पक्ष हो ।
अङ्ग्रेजी आगन्तुक शब्द
पुडासैनीको नियात्रामा प्रशस्त अङ्ग्रेजी आगन्तुक शब्द प्रयोग भएका पाइन्छ तर त्यसमा अत्यन्त स्वाभाविकता छ । केही उदाहरण निम्नअनुसार हेरौँ—
सिटवेल्ट (३), सर्ट (७), पाइन्ट (ऐ.), टिसर्ट (ऐ.), युनिभर्सिटी (८), ग्रिन गोल्ड (१३), माइल स्टोन (१८), ग्रेटवाल (२३), ब्ल्याक मुन (२७), गार्डेन (३९), पार्लियामेन्ट (४१), एयरलाइन्स (५१) प्यालेस (५५), डिपार्टमेन्ट (५६), मसाज (५८), सोकेस (६१), प्याराडाइज (६२), एयरपोर्ट (७१), प्राइभेट (८६), ट्याक्सी (९०), रेस्टुरेन्ट (९५), मार्केट (९६), बेट्रेस (९७), इन्डिपेन्डेड (१०६), फ्रक (११४), नोस्टाल्जिया (१२२), क्यामेरा (१२५), एरिया (१३६), अर्केस्ट्रा (१३८), सपिङ कम्प्लेक्स (१५४), ब्याडमेन्टन (१६२), सेन्ट्रल (१७८), क्यान्सर (१८६), म्यानपावर (१९४) आदि ।
अङ्ग्रेजी बाहेक अन्य भाषाका शब्द
पुडासैनीले थाइल्याण्ड, श्रीलङ्का, म्यान्मा र बङ्गलादेश भ्रमण गर्दा त्यहीको जनभाषालाई टपक्क टिपेका छन् । जस्तै ः
आइबोवान (३६), मिङलाबा (७९), ओकासालोका (८७), सात्तालोका (ऐ.), सङ्खरालोका (ऐ.), चेजुटिङबारे (९८), प्यालेस्वङ्क्वेचापासो (ऐ.), छिट्टे (१०८), बेदोमाममेबु (ऐ.), तुम्ही (१६७), अनेक (ऐ.), भाल (ऐ.), आमी (१६८), तुमाके (ऐ.), भालोबासी (ऐ.), तुमी (ऐ.), खुब (ऐ.), भालो (ऐ.), लोक (ऐ.), जकात (१७०), बिस्मिल्लाहअल (१७१), दिपेचाइ (ऐ.) इत्यादि । यी र यस्ता शब्द प्रयोग गरि लेखिएका कारण पुडासैनीको नियात्रामा सांस्कृतिक सजीवता र मानवीय मर्म अत्यन्त प्रबल रूपमा उठेको छ ।
२.१.१.३ झर्रा शब्द
झर्रा शब्दले मानवीय व्यवहारको स्वभाविकता झल्कन्छ । नियात्राकारले प्रस्तुत कृतिमा प्रशस्त झर्रा शब्द प्रयोग गरेका छन् । यसले पात्रलाई नेपालीपनको स्वाद चाख्न दिएको छ । जस्तै ः
गुडुल्को (२), सिगौरी (ऐ.), पुख्र्यौली (१०), लिपपोत (११), लम्लट्ठ (१२), बग्रेल्ती (१३), खुर्मु¥याउनु (१९), भड्खारो (२३), तिरिमिरी झ्याइँ (२४), थुतुनो (५०), जुहारी (ऐ.), मरन्च्याँसे (११४), झ्याइँकुटी (११५) आदि ।
२.१.१.४ अनुकरणात्मक शब्द
अनुकरणात्मक शब्दले पाठकलाई साङ्गितिक मिठास दिन्छ । प्रस्तुत कृतिमा नियात्राकार पुडासैनीले प्रशस्त अनुकरणात्मक शब्दहरू प्रयोग गरेका छन् । यस्ता शब्दले पात्रलाई ठेट नेपालीपन प्रदान गरेका छन् । जस्तै ः
जुरूक्क (२), एक्कासि (५), कुटुक्क (११), चिटिक्क (ऐ.), भुतुक्कै (१२), टुप्लुक्क (१४), ज¥याकजुरुक (१५), लुसुक्क (२४), कुरुमकुरुम (३६), निथु्रक्क (८३), ढकमक्क (९५), टुक्रुक्क (९८), टुलुटुलु (१२१), क्वाप्लाक्क (ऐ.), झ्वाम्लाङ्ग (१५७), चिटिक्क (१६२), झुलुक्क (१६७), ढपक्क (१६९), भकभकी (१७३), ढ्याङढ्याङ (१७४), टुसुक्क (१८०), लुपुक्क (१८१), बुङ्बुङ्ती (१८६) आदि ।
२.१.२ ‘सिमानाका रङ्ग सिमानाका तरङ्ग’मा पदावली चयन
प्रस्तुत कृतिमा लेखकले स्वनिर्मित पदावली प्रयोग गरेका छन् । जसले कृतिलाई आलङ्कारिकता प्रदान गरेको छ । जस्तै ः
शालीग्राम स्पर्श (७), कोलाहल कुप्रनु (१७), प्रेमका केस्रा (२९), गाभिनी सपना (४१), शारदी सुकिलो (४९), बराठिएको बहर (६१), नाङ्गा जुरेली (६३), उमेर उम्रनु (१००), माटो ब्युझाउनु (११०) आदि ।
दामोदर पुडासैनी ‘किशोर’ मा नवशब्दहरू निर्माण गर्ने क्षमता शक्तिशाली रूपमा रहेको छ । प्रकृति र मानवीय कृतिको विश्लेषण गर्दा आत्मानुभूति प्रकाशमा ल्याउँदा उनी कतिपय शब्द आफैँ निर्माण गर्दछन् र पाठकहरूलाई बेग्लै स्वादको रमरमीमा पु¥याइदिन्छन् ।
२.१.३ सिमाना रङ्ग सिमानाका तरङ्गमा उखानको चयन
सान्दर्भिक उखान–टुक्काले अभिव्यक्ति यथार्थपरक बन्दछ । पुडासैनी उपयुक्त स्थानमा उपयुक्त उखान टुक्का प्रयोग गर्दछन् । यसले पाठकको मनमा उनको अभिव्यक्ति चिरस्थाई र सुरुचीपूर्ण बन्न सक्तछ । जस्तै ः
अचानाको पिर खुकुरीले जान्दै (५३), खोलो त¥यो लौरो बिस्र्यो (७३), गए सरकारी नुन आए सुनै सुन (७४), बर्मा गए कर्मसँगै (१११), मर्नुभन्दा बहुलाउनु निको (ऐ.), मौका आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन (११२, शोक न सुर्ता भोक न भकारी (१२०), वनको चरो बनमै रमाउँछ (१५५), अरूको लाख आमाको काख (ऐ.), बोट न बिरुवा नौ मुरी तोरी इत्यादि ।
२.१.४ सिमानाका रङ्ग सिमानाका तरङ्गमा वाक्य चयन
दामोदर अक्षर, शब्द र वाक्यलाई विभिन्न कोण र रूपबाट खेलाउन खप्पिस लेखक हुन् । उनका लेखनमा वाक्यगत मोहकता निम्न उदाहरणबाट झल्कन्छ ।
२.१.४.१ सरल वाक्य
क) “क्यान्डीका महिलाहरूले दायाँबाट सप्को पारेर सारी पहिरन्छन् ।” पृ. ८
ख) “हाम्रा पसलहरूमा चामल बेच्न राखेझैँ काजुका डङ्गुर रहेका देखिन् ।” पृ. १२
ग) “वर्षको एक दिन, दाँत नै दर्शन गर्ने पर्व मनाइन्छ ।” पृ. १९
घ) मूर्ति र मन्दिरको बीचबीचमा तुलसीका मठहरू छन् ।” पृ. १२५
ङ) मैले सात दिन सात रात छर्लङ्ग बिताएको छु ।” पृ. १७४ आदि ।
२.१.४.२ संयुक्त वाक्य
क) “आउने जोसुकैले केही गर्छु नभनी जादैन तर देश फर्केपछि कसैले केही गर्दैन ।” पृ. ५४
ख) “मेरी जेठी सासुको परिवार अहिले पनि बर्मामै छ र बर्मेली नागरिक नै हो ।” पृ. ७६
ग) “हामी पनि लागेका छौँ मित्रभित्रै तर खुलस्त कहाँ बोल्न मिल्छ र ।” पृ. ७७
घ) तपाईंले यिनीहरूको बढुवा गराउन र तलब बढाउन सक्नुहुन्छ ?” पृ. १५३
ङ) “राजदूतको अघिल्तिर केही नभन्ने नत्र तीन बजेसम्म उतै बस्थ्यौँ हामी ।” पृ. १६५
२.१.४.३ मिश्र वाक्य
क) “प्रकृतिको सुन्दरतालाई सुम्सुम्याउने हो भने कुनै पनि खग्रासको सिप्किनु सहनु पर्दैन ।” पृ. १८
ख) “मान्छेले आपूmले जानेजति सबै गहना र वेषभुषा पहि¥यायो देवतालाई र देवता सधैँ असल र राम्रा हुन्छन् भन्ने आफ्नो कल्पनालाई सार्थक ठान्यो ।” पृ. ४३
ग) सुरुको मोललाई तीनले भाग गरेन भने तीन न तेह्रको हुन बेर लाग्दैन… । पृ. ९१
घ) “हामी चढेको विमान भने दौडिरहन्छ मात्रै उड्ने सुरसार गर्दैन ।” पृ. १९२
ङ) “कतै आपूm पुग्नाको साटो मृत्युको खबर मात्र घर पुग्यो भने एउटा पीडा जन्मन्छ शून्यतामै ।” पृ. १९५
२.१.४.४ सुक्तिमय वाक्य
क) “भेटिनु र छुट्टिनु घटनाको किलिक्क तस्बिर बाहेक होइन रहेछ अरु ।” पृ. ५७
ख) “नाङ्गो हुनु शून्य हुनु हो, समाधिमा पुग्नु हो ।” पृ. ६७
ग) “मान्छेको जात मान्छेबाहेक अरू केही हुन सक्दैन ।” पृ. ७६
घ) “परिश्रमलाई पूजा ठान्नेहरूको मन सन्तोषी हुन्छ, पवित्र र निर्मल हुन्छ ।” पृ. ८४
ङ) “सुख भनेको मनको सन्तोष हो ।” (ऐ.)
च) “बाल अवस्थामा शान्त र शालीन हुन्छ प्राणी । युवामा हिंस्रक र आक्रामक । छट्पटीको दोसाँधमा बित्छ वृद्धवय ।” पृ. ८७
२.१.४.५ वैचारिक वाक्य
“मान्छेले चाहे हरेक ढुङ्गाहरू देवता बन्दछन् ।” पृ. २१ “मान्छेको बहादुरी युद्ध होइन ।” पृ. २९ “आस्थाको नाममा निरीहहरूको हत्या नटुङ्गिएसम्म मान्छे मार्नु सामान्य हुनेछ ।” पृ. ३३ “मान्छेलाई विभक्त गर्ने प्रमुख हो ईश्वर ईश्वर रहेसम्म विभाजित हुन छोड्दैन मान्छे ।” पृ. ४० “समयको एउटा बिम्ब मात्र हुन् बुद्ध ।” पृ. १०१ “उत्तर नदिएरै त टिकिरहेछन् बुद्धहरू ।” पृ. १२२ “अप्ठेरोको अर्चापेको जिन्दगी मात्र बन्न सक्छ धारिलो ।” पृ. १६०
२.१.४.६ विशिष्ट अर्थयुक्त वाक्य
“सबै युद्धहरू सुसाउँदै आउँदैनन् ।’ पृ. ४ “धर्मान्धहरू र राजनीतिक पिछलग्गुहरू समाजका सर्जक हुनै सक्दैनन् ।” पृ. ३६ “जनताको उत्साहलाई कुरुमकुरुम चपाएको छ युद्धले ।” पृ. ३६ “यो पीडा स्वादिष्ट लागिरहेछ ।” पृ. ३८ “संसार भेटिने र छुट्टिनेको रोमाञ्चक रङ्गमञ्च ।” पृ. ५० “लुकीलुकी हेरिरहेछु पुरुषले नारीका नाङ्गा अवयवहरू ।” पृ. ६० “आफ्नो बाहेक कहाँ खोलन सक्छ र मान्छेले अरूको मन ।” पृ. ६७ “मस्ती खोज्नेले गस्तीसँग डराएर हुँदैन ।” पृ. ८४ “गहना देखाउनका लागि हुन लगाउनका लागि होइनन् ।” पृ. ९२ “मनले भनेपछि मुखले सुनाइरहनु पर्छ र ?” पृ. १०८ “रोजेभन्दा बढी खुसी भेटेपछि कहाँ छेकिरहन सक्दो रहेछ र योजनाले ।” पृ. ११५ “समयभन्दा पहिले केही पनि हात पर्दैन कसैलाई ।” पृ. १३४ “फुल फुलाउनु महान काम हो, फुलाउने बालाको नामको शिलालेख कोर्नको के अर्थ ?” १८२ ।
२.२ सिमानाका रङ्ग सिमानाका तरङ्गमा अग्रभूमीकरण
२.२.१ सिमानाका रङ्ग सिमानाका तरङ्गमा विचलन
विचलन मानकको उल्लङ्घन हो । विचलनले साहित्यिक भाषालाई आलङ्कारिक बनाउँछ । विचलन सोद्देश्य हुन्छ, निरर्थक हुँदैन । प्रस्तुत नियात्रामा पनि विचलनको प्रयोग गरिएको छ । विचलनको प्रयोग शब्द र वाक्य दुवै तहमा भएको छ ।
२.२.१.१ कोशीय विचलन
प्रस्तुत नियात्रामा पुडासैनीले कतिपय ठाउँमा नयाँ शब्द निर्माण गरी प्रयोग गरेका छन् । यसरी नयाँ शब्दको प्रयोग गर्नु कोशीय विचलन हो । जस्तै :
दम्स्याइलो (१), उच्छाइलो (२), शालीग्रामे (७), बराठिएको (ऐ.), हरिहल्ल (१५), थुम्क्याइलो (१६), विथोल्याइँ (९६), चौड्याइलो (९८), बेस्सरी (११०), कुतकुतिनु (१४७), गफिँदै आदि ।
प्रस्तुत नियात्रामा शब्दका तहमा मात्र नभई पदावलीका तहमा पनि विचलन भएको पाइन्छ । जस्तै ः
युद्धको खेती (५), रङ्गको राप (४७), समर्पणका झुल्का (१०९), बतास ब्युतनु (११४), नसाले नुहाउनु (११५), तुवालो च्यात्नु (१४२), नाङ्गो घाम (१४७), उज्यालो पोखिनु (१५६), छिपछिपे पसिना (१६१), रोमान्टिक रहस्य (१८०), फक्रेको दिल (१९८) आदि ।
२.२.१.२ व्याकरणिक विचलन
लिङ्ग, वचन, पुरुष, काल, पक्ष आदि व्याकरणिक कोटि, वाक्य, उपवाक्य, पद समूह आदिको व्यवस्थित अनुक्रममा अतिक्रमण हुनु व्याकरणिक विचलन हो । प्रस्तुत कृतिमा पदक्रम विचलन भएका अधिकांश वाक्य प्रयोग गरिएको पाइन्छ । जस्तै ः “कालोले कति सुन्दर बनाएको यहाँका मान्छेलाई ।” (७) “छाता ओडेका छन् जोडीहरूले ।” (२५) “मलाई बचाएर किन मा¥यौ भगवान् मेरो मुटुलाई ।” (४१), “रक्षक, भक्षक र सर्जक सबै हुन् कैलाशनाथ ।” (४२), “वस्त्रविहीन हुँदैमा नाङ्गो हुँदैन कोही पनि ।” (६७), “धर्म बेफुर्सदी देखिने बहाना बनिरहेछ कयौँ मान्छेहरूमा ।” (१२३), “साहित्यकार हुँ म ।” (१३४), “कल्पनाका आकारहरू हुन् चित्रहरू ।” (१८१), “निमेषभरमै झुलुक्क झुल्कियो कन्काई नदी ।” (१९७) आदि ।
२.२.१.३ अर्थतात्विक विचलन
कुनै पनि शब्द वा वाक्यको अभिधामूलक अर्थ नआएर लक्षणात्मक व्यञ्जनात्मक अर्थव्यञ्जित हुनुलाई अर्थतात्विक विचलन भनिन्छ (शर्मा, २०५९, ८) । यस नियात्रामा प्रयोग गरिएका अर्थतात्विक विचलन भएका शब्द र वाक्यहरू निम्नलिखित छन् ः
शब्दमा अर्थतात्विक विचलन
संस्कृति सुम्सुम्याउनु (३७), भालुकाँडे प्रश्न (७७), अर्जा ओकल्नु (१०२), जातको जतन (११०), मर¥यासे मन (११४), सम्भावनाको मुस्लो (१२०), आतिथ्यमा उबडखाबड (१२१), अलिनु खुशी (१२३), नाङ्गो रात (१५०), सीमाहीन इजलास (१८९) आदि ।
वाक्यमा अर्थ तात्विक विचलन
जस्तै ः “ताराहरू असिना बनेर झरेपछि झुन्डझुन्ड गुडुल्को जस्ता छन् सहरहरू ।” पृ. २ “सयपत्री र लाहुरेहरू… सोचिरहेछन् र भनिरहेछन्— बास्नाको पछि लाग्नु जीवनको उद्देश्य होइन ।” १६ “सधैँ मान्छे भित्रको मान्छे खोजिरहने दाँत ।” १९ “ह्वाङह्वाङती देखियो उनको तलाउ ।” ६५ सलबलाइरहेछन् सन्नाटाका सुस्केराहरू ।” ७८ “सबै उमेर उम्रिएको छ स्वङ्गँउँमा ।” १०० “साँढेभन्दा साँढे फल चुम्बक बनिरहेछ ।” १०४ आदि ।
२.२.२ सिमानाका रङ्ग सिमानाका तरङ्गमा समानान्तरता
लेखकले भाषिक चमत्कार प्रस्तुत गर्न र आलङ्कारिक अभिव्यक्ति दिन उस्तै ः वर्ण, रूप, शब्द, पदावली, वाक्यांश र वाक्यको तहमा आवृत्ति गरेका हुन्छन् । यसरी समान तŒवको आवृत्ति गर्न नै समानान्तरता हो । यसका बाह्य र आन्तरिक गरी दुई भेद छन् ः
२.२.२.१ बाह्य समानान्तरता
एकभन्दा बढी ध्वनि, शब्द, पदावली र वाक्यको अवाृत्ति भई भाषामा बाह्य समानान्तरता देखापर्छ । प्रस्तुत नियात्रामा ध्वनि, शब्द र पदावलीगत समानान्तरता देख्न सकिन्छ ।
ध्वनिको आवृत्ति
“कल्पनाका कोलाजहरू मूर्तिहरूमा उभिए टुक्रुक्का” ४४ “नाम नै नसोधी नाम पो राखिदिइन मेरो ।” (४९), “माकुराको जालो जस्तो जेलिएको छ चिल्ला सडकहरूले ।” ५३ “पानी र पाषाणको केलिकला काउसो दलिरहेछ दर्शकहरूलाई ।” १२७ “श्वे सम्झेर शीतमा भिज्न खोज्दैथ्यो शरीर ।” १४० “रगत नेपाली तर संस्कार र परिवेश छ बङ्गाली ।” १५४ आदि ।
शब्दको आवृत्ति
“आकाशलाई धर्ती र धर्तीलाई आकाश ठाने भएको छ ।” पृ. २ मान्छेले मान्छे भेटेपछि आफन्त भेट्छ ।” पृ. ३ “शरीर शरीरको घम्साघम्सीको विज्ञापन ।” ५७ “नाङ्गा अवयवहरू र नाङ्गा आकार मात्र हुन सक्तैनन् वास्तविक नाङ्गा । पृ. ६७ “दुःखलाई दुःख नमानेपछि कहाँ हुन्छ दुःख । पृ. १७५ आदि ।
पदावलीगत आवृत्ति
हरियो हुस्सुमा छिचोल्नु छ यात्रा । हरियो हुस्सु अर्थात घना जङ्गलको घनीभूतता । हरियो हुस्सु अर्थात् हरिहल्ल जङ्गल ।
त्यति चहलपहल छैन स्वतन्त्रता पार्कमा । स्वतन्त्रता पार्कबाट पश्चिमतिर हेर्दै छु म । स्वतन्त्रता पार्कमै चक्रव्यूहमा फसियो ।
भेटिनु छुट्टिनु आँसुको अर्थ खोज्नु यस्तै यस्तैमा उचालिरहेछ जीवनको उपस्थिति । भेटिनु छुट्टिनु के हो र संसारको रीत हो । आदि ।
यस नियात्रामा उपवाक्य र वाक्यका तहमा समानान्तरता पाइदैन ।
२.२.२.२ आन्तरिक समानान्तरता
भावार्थ र वाच्यार्थको नियमित पुनरावृत्तिबाट साहित्यिक कृतिमा आन्तरिक समानान्तरताको सिर्जना हुन्छ (शर्मा, २०४८, २९) ।
प्रस्तुत नियात्रामा लेखकका यात्रा सम्बन्धी धारणा पृष्ठ १, ४८, ५०, ५६, ५७, १४९ र १५९ मा, मान्छे सम्बन्धी धारणा पृ. ३२, ४०, ४२, १००, १०१, १०४, १०७ र १६४ मा, जीवन दर्शन सम्बन्धी धारणा पृष्ठ ८८ र १२७ मा अनि प्रेम सम्बन्धी धारणा पृष्ठ १०६, १२९, १३० र १४८ मा वाच्यार्थ र भावार्थका रूपमा आवृत्ति भएका छन् । यसले नियात्रामा आन्तरिक समानान्तरता सिर्जना भएको छ । कृतिमा प्रयुक्त आन्तरिक समानान्तरताले कृतिलाई विशेष सौन्दर्य प्रदान गरेको छ ।
२.२.२.३ सूत्र वाक्यबाट नियात्रा शुरुवात
दामोदर पुडासेनीको लेखनमा अनेकौं नयाँ प्रयोग पाइन्छ । त्यसमध्ये नियात्रा र निबन्धहरू रच्दा शुरुमै उहाँले प्रयोग गर्ने शूत्रवाक्य पनि एक हो । पुडासैनी नियात्राको शुरुमा एउटा शूत्रवाक्य राख्नुहुन्छ । त्यो शूत्रवाक्यले सो नियात्राको सार अथ्र्याउँन खोज्दछ । काव्यमय रूपमा शूत्रवाक्य राखिने भएकोले पाठक वा श्रोतालाई त्यसले गहिरो छाप छोड्दछ । नेपाली साहित्यमा यस किसिमको शूत्रवाक्यबाट सिर्जनाको शुरुवात गर्ने चलन यस अघि कतैबाट भएको थिएन । शूत्रवाक्यहरूले पाठकलाई उत्प्रेरणा जगाउने काम पनि गर्दछ । पुडासैनीले प्रयोग गरेका शूत्रवाक्यहरूलाई निम्न बमोजिम हेर्न सकिन्छ—
धेरै मान्छेहरू यात्रामा हिँडिरहे । म पनि हिँड्दा हिँड्दै यहाँसम्म आइपुगेको छु । (सत्र), मृत्युले कुनै न कुनै बहानामा लखेटिरहेछ क्षणक्षणमा, अलिकति झुक्किदा सिनित्त बढारिन्छ जीवन (पृ. १) । सामथ्र्य राख्ने हो भने हेर्नु पर्ने असंख्य चिजहरू छन् यो संसारमा (पृ. ७) । जमिनको स्पर्शसँगै लोलाउन थाल्छन् आँखाहरू (पृ. १६) । ‘चम्किलो समुद्र देख्दैछु म तिमीलाई’— चन्द्राको उद्बोधन । (पृ. २७), संसारमा ईश्वर जत्ति कमजोर अरू कोही छैन । (पृ. ३९), उचाइको अर्को नाम तीब्र गति हो भेटिनु र छुट्टिनुको । (पृ. ४७), साहसीका लागि कुनै आवरण आवश्यक छैन प्रकृतिमा । कवचको सहारामा उभिन्छन् कायरहरू (पृ. ५८) । सहरभरि सुन बनेर बर्सिरहने घामका किरणहरू । मन परेको खेल खेल्न पाउँदाको चहकिलो बालक बनिरहेथ्यो बैंकक शहर । (पृ. ६८), भिक्षु र चैत्यहरूमा सलबलाइरहेछ याङ्गुन सहर । (पृ. ७८), सुनैसुनको जङ्गलभित्र पस्यो जीवन । (पृ. ९५), गीतको तालमा छमछमी नाच्यो रात, अबेरसम्म । (पृ. १०९), मलाई अलिकति संभावना देऊ, र देऊ अलिकति रहस्य, म दिन्छु तिमीलाई नदी जस्तै अनन्त जिन्दगी । (पृ. १२०) भोकका ज्वालाहरूबाट बौरेपछि मात्र बन्न खोज्दोरहेछ मान्छे रूख, पूmल र जूनहरू । (पृ. १३१), असाध्यै मनमोहक हुँदोरहेछ भर्खरै बादलले छोडेको पहाड । (पृ. १४१), असाध्यै रोमाञ्चक र रहस्यपूर्ण हुन्छन् उचाइमाथिका उचाइभन्दा गहिराइभित्रका उचाइहरू । (पृ. १५१), रङ्ग होस् या गन्तव्य, बिना आकर्षण सहयात्री बन्न सक्तैन कोही पनि (पृ. १५९), दुःखलाई दुःख नमानेपछि कहाँ हुन्छ दुःख ।’ (पृ. १७५), लक्ष्यको डोरीमा अनिश्चयी शृङ्खलाहरूको नयाँ नयाँ स्पर्श रहेछ यात्रा । (पृ. १८९)
३. निष्कर्ष
भाषाको आलङ्कारिक प्रयोग नै साहित्य हो । साहित्य भाषाको शैलीगत प्रयोग भूमि हो । शैलीगत नयाँपन भएको साहित्यिक कृति सफल हुन्छ । ‘सिमानाका रङ्ग सिमानाका तरङ्ग’ शैलीपरक दृष्टिले पनि अत्यन्त उत्कृष्ट कृति हो । यात्रा साहित्य केही वस्तुपरक र केही भावपरक विधा हो । यसमा कविता, कथा, उपन्यास, निबन्ध विधामा जस्तो शैलीगत प्रयोग जटिल कार्य मानिन्छ । पुडासैनीको ‘सिमानाका रङ्ग सिमानाका तरङ्ग’ नियात्रामा तत्सम, तद्भव, आगन्तुक, स्वनिर्मित, झर्रा र अनुकरणात्मक शब्दको प्रस्तुति, मानक र विचलनयुक्त पद, पदावली, उखानको प्रयोग, सूक्तिमय, वैचारिक विशिष्ट अर्थयुक्त वाक्यको प्रस्तुति, कोशीय, व्याकरणिक र अर्थतात्विक विचलनयुक्त पद, पदावली र वाक्यको प्रयोग, वाह्य र आन्तरिक समानान्तरताले शैलीगत उत्कृष्टता प्रदान गरेको छ ।
दामोदर पुडासैनी ‘किशोर’ को सिमानाका रङ्ग सिमानाका तरङ्ग नियात्रा विषयगत हिसावले अनेकौ रहस्योदघाटन गर्ने कृति हो भने शैलीगत हिसावले सर्वथा नवीन र अभिरुची जगाउने र उपलब्धीमूलक कृति हो ।
सन्दर्भसामग्री सूची
ढकाल, शान्तिप्रसाद (२०७०), प्रायोगिक भाषा विज्ञानका प्रमुख आयाम, ते.सं. काठमाडौँ ः शुभकामना प्रकाशन ।
पुडासैनी, दामोदर (२०७२), सिमानाका रङ्ग सिमानाका तरङ्ग, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
पौडेल, माधवप्रसाद (२०६९), प्रायोगिक भाषा विज्ञानका प्रमुख आयामहरू, काठमाडौँ ः हेरिटेज पब्लिसर्स एण्ड डिस्ट्रिव्युटर्स प्रा.लि. ।
शर्मा, मोहनराज (२०५९), शैली विज्ञान, दो.सं. काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
अप्रकाशित शोधपत्रहरू
धमला, रीतुराज, ‘अनिदो पहाडसँगै’ उपन्यासको शैली वैज्ञानिक अध्ययन, स्नातकोत्तर शोधपत्र, त्रि.वि. महेन्द्र रत्न क्याम्पस, ताहाचल, वि.सं. २०६१ ।
रेग्मी, अनुपमा, ‘समय त्रासदी’ उपन्यासको रूपविन्यासपरक अध्ययन, स्नातकोत्तर शोधपत्र, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, वि.सं. २०६३ ।