कविता – चित्र
खण्डहर जस्तो मनको क्यानभासमा
झुण्डिएको पुरानो नक्सालाई
कति चोटी रंग भर्छौ ?
अमूर्त आर्ट बनाएर
आफ्नै भ्रमहरूमा
कुचीमा चेत भरेर
समयलाई तानेर क़ैद गर्दै
जीवनको नक्सा
कहिले पुरानो नहुने
कति बनाई रहन्छौ !
हरेक बिहानको शुभ प्रभात
मलाई कहिले पुरानो लागेन
हरेक साँझको तिम्रो चुम्बन
निधारमा सधै ताजा लाग्यो
तिमीलाई छोएर आउने बतासहरू
हाँस्दै हाँस्दै मलाई छुन आइपुग्छ
तिमीले टेकेको नदीको पानी हुनपर्छ
सागरको पानी छुँदा काउकुती लागेको
साँच्चै केहि छैन पुरानो
यादले कोरेका चित्रहरू
तिमी र घाम उस्तै लाग्छ मलाई
आसाको किरण भएर उदाई रहन सक्ने
हरेक साँझ थाकेर बिसाए पनि
फेरि रहरले बिउझने र हिडिरहने
तिम्रै प्रत्येक इच्छाको पाइलामा
मलाई साथै छौ भनिदिंदा
जीवनप्रतिको मेरो मोह
म उभिएको यो भूगोलबाट
तिमीले सजाएको सपनाको क्षितिजसम्म
निश्चिन्त फैलिएकै देख्छु
अजम्वरी प्रेमको रंगमा
चोबेर बनाएका आदिम नक़्शाहरू
आत्मा कै अंश थियो
हिजोबाट आज सम्म
मनको अट्टालिमा
मूर्ति झै कुदिएर
फेरि पनि तिमी
ताज़ा बनाई रहन्छौ
एउटा मुटुको शिलालेख बनाएर
अर्को मुटुले खोप्दै
कहिले नमेटिने चित्रहरू ।
दीपा राई ‘पुन’
हाल ,बोस्टन अमेरिका
![](https://ssl.gstatic.com/ui/v1/icons/mail/images/cleardot.gif)