Logo

अंग्रेजी संस्करण “प्यास्टोरल प्याङ एट हयाङ्स”विश्व साहित्य जगतमा नयाँ क्रान्ति

स्तावेज,पौष २८,गते शुक्रवार, २०७४ ,काठमाडौँ – बर्तमान समयमा  नेपाली साहित्यलाई बिभिन्न भाषामा अनुवाद गरी अन्तर्राष्ट्रियकरण गर्ने लहर नै चलेको छ । बिगत केही बर्ष अघिपनि फाट्टफुट्ट नेपाली किताबहरू अङ्ग्रेजीमा अनुवाद भई नछापिएका भने होईनन् तथापि  तिनीहरू सबैका लागि सहजै उपलब्ध हुनसक्ने प्रविधिमा प्रवेशगर्न सकेका भने थिएनन् । तर अबको संसार पहिलाको जस्तो कठिन छैन,प्रत्येक मानिसको हत्केलामा आएर खुम्चिएको छ ।

प्रविधिको विकाससँगै आज कुनै मानिसपनि आफ्नो सूचना सम्प्रेषण गर्न नसक्ने गरी कुण्ठित हुनुपर्ने युगमा छैन । सूचनाको यो युगमा हाम्रो  नेपाली साहित्यलाई हामीले नै एउटा सीमामा मात्र कुण्ठित गर्नु नहुने बेला भएको छ । नेपाली साहित्यको स्तरीयतामा अब कुनै शंका छैन तर यसलाई विभाषीहरू माझ पुर्याउन नसकेकाले हाम्रो साहित्य आफैभित्र संकुचित भएर बसेको छ । 

हामीले समय समयमा कलाकार र खेलाडीहरूलाई ठूलो सम्मान र स्थापना हुन सयौँ डलर खर्च गरेर भोट हाली आइडल पनि बनाउँदै आएका छौँ । त्यसरी आइडल बनिएका कलाकारहरूले आज संसारभरी आफ्नो कला देखाइरहेका छन् र नेपालीलाई विश्वभरी चिनाइरहेका छन् । खेलाडीहरूले पनि देशको सिमाना नाघेर देशलाई चिनाइरहेका छन् । विदेशी सेनामा जागिर खाएर पनि नेपाली बहादुर लडाकुका रूपमा चिनिएका छौँ तर आजसम्म पनि नेपाली साहित्यलाई विश्व सामु पुर्याउन नसक्नु भने बिडम्बना भएको छ ।

हामीलाई संसारमा चिन्नेहरूले सगरमाथाको देश भनेर चिन्छन् जो प्राकृतिक हो हामीले बनाएको होइन । बुद्धको नामले चिन्छन् जो नेपाल देश बन्नुभन्दा बाइस सय वर्ष अघि यस भूगोलमा जन्मिएका थिए । इतिहास र भूगोलका केही विम्बहरूले चिनिएका हामीले आजको विश्व प्रतिस्पर्धाको युगमा नेपाललाई थप चिनाउन हाम्रो भाषामा तयार भएका साहित्य संग्रहहरु अंग्रेजी भाषा लगायत बिभिन्न भाषामा अनुवाद गरी संसार समक्ष पुर्याउन सक्नु नै आजको युगमा ठूलो उपलब्धी साबित हुनेछ ।

संसारमा सबै लेखकले आफ्नै मातृभाषामा लेख्छन् तर त्यसलाई अनुवाद गरेरै बजारमा पुर्याइन्छ । एक्काईशौं शताब्दीको युगमा आईपुग्दासम्म नोवल पुरस्कार पाउने पुस्तकहरूको सूचि हेरियो भने गैर अंग्रेजी भाषाकै कृतिहरू धेरै देखिन्छन् । ओस्कार प्रतिस्पर्धासम्म हाम्रा फिल्म गए, ओलम्पिकसम्म हाम्रा खेलाडीहरू पुगे । हाम्रा कृतिहरू नराम्रै भएका कारण आजसम्म आफ्नो भाषाबाट बाहिर ननिस्किएका हुन् त ? अहँ पटक्कै होइन । नेपाली कृतिलाई अनुवाद गरी बजारिकरण गर्न नसक्नु ठूलो चुनौती भएको छ । 

प्रसंग नेपाली साहित्यिक गतिविधिकै हो । कवयित्री ममता कर्माचार्यको कविता संग्रह ‘अझै दुख्दै छ मन ’को अंग्रेजी संस्करण ‘प्यास्टोरल प्याङ एट हयाङ्स’ को बिमोचन गरिएको छ । बुधवार एक समारोहका बिचमा उनको उक्त अंग्रेजी संस्करणको विमोचन उहाँकै बुबा कवि एवं गीतकार उत्तम नेपालीले गर्नुभएको हो । सन पब्किलेशनले ‘अझै दुख्दै छ मन’को अंग्रेजी संस्करण प्रकाशनमा ल्याएको हो । 

यसको अंग्रेजी अनुवाद सन पब्लिकेशनका म्यानेजर डा. नकुल परासरले गर्नुभएको छ  । विमोचन समारोहमा विशेष अतिथि रहेका प्राध्यापक अभि सुवेदीले सबै कविता गुणात्मक रहेको बताउनुभयो । ‘संग्रहमा राखिएका कविता प्रेम र सम्बन्ध, त्यसमा आउने उतार चढावमा केन्द्रित छन् ,सुवेदीले भन्नुभयो,”कसरी व्यक्तिको पर्सनल रिलेसन यूनिभर्सल रिलेसनको रूपमा विकसित हुन्छ भन्ने सम्बन्धमा पनि ममताका कविता जीवन्त छन् ।”

स्वछ्न्दवादी कवयित्री ममताले आफ्नो संग्रहवारे भन्नुभयो,‘म जति लेख्छु खुलेर लेख्छु, मनले लेख्छु । उहाँले थप्नुभयो,जतिपनि कविता छन्,माया, प्रकृति र अनुभूतिमा आधारित छन् ।’ उहाँको कविता संग्रह ‘अझै दुख्दैछ मन’ सन २०१४ मा प्रकाशित थियो जसमा ४८ वटा कविता संग्रहित छन् । सन पब्लिकेशनका डा. नकुल परासरले सन पब्लिकेशन नेपाली साहित्यको श्री बृद्दिका लागी सदैव हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाली साहित्यकारलाई लक्षित गर्दै भन्नुभयो, ‘तपाईँका रचनाहरू हामीलाई उत्कृष्ट लागे भने हाम्रो पब्लिकेशन प्रकाशनका लागि सदैव तत्पर रहनेछ ।’

 हाल अमेरिकामा बसेर साहित्य साधना गरिरहेकी कवयित्री ममता कर्माचार्यको ‘प्यास्टोरल प्याङ एट हयाङ्स’ अन्तर्राष्ट्रिय साहित्य जगतमा नेपाली साहित्यलाई चिनाउन एक कोशे ढुंगा सावित हुनेमा दुईमत छैन । भविष्यमा उहाँबाट लेखिएका अझ राम्रा र स्तरिय कृतिहरू पढ्न पाईयोस् दस्तावेज डट कमको तर्फबाट अग्रिम शुभकामना !

           दीपशिखा शर्मा

[email protected]

  

प्रतिक्रिया दिनुहोस्