Logo

हृदयेश त्रिपाठीले गरे एमालेसँग तालमेल, सूर्य चिन्ह लिएर संसदीय चुनाव लड्ने, एमालेसँग के भयो सहमति ?

स्तावेज,आश्विन १६  सोमवार ,२०७४,काठमाडौं – पूर्वमन्त्री तथा तत्कालीन तराइ मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी लगायतका नेता आगामी संघीय संसदको चुनावमा नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।  मधेसका प्रभावशाली नेता नेता त्रिपाठी सहित स्वतन्त्र राजनीतिक समूहका नेताहरुले सूर्य चिन्ह्र लिएर आगमी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा चुनाव लड्ने भएका हुन् ।

त्रिपाठी लगायतका केही नेता तराइ मधेशका विभिन्न ६ वटा पार्टीको एकिकरणमा असहमति जनाउँदै स्वतन्त्र राजनीतिक समुह बनाएर बसेका थिए । उनीसँगै रहेका नेताहरु कपिलबस्तुका बिके गुप्ता, इश्वरदयाल मिश्र, बाँकेका पशुपति मिश्र र जगदीश शुक्लाले एमालेसँग सोमबार सूर्य चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका हुन् । सोमबार नेकपा (एमाले) र स्वतन्त्र राजनीतिक समूहबिच सूर्य चिन्ह्र लिएर चुनाव लड्ने सहमति भएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उक्त सहमतिमा नेकपा (एमाले)का तर्फबाट महासचिव ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहका तर्फबाट हृदयेश त्रिपाठी, बिके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वर पोखरेल र जगदीश गुप्ताले हस्तक्षार गरेका छन् । उनीहरु मधेसका प्रभावशाली नेता हुन् । एमाले स्वतन्त्र राजनीतिक समूहबीच तराई मधेसको जनतालाई शोषण,उत्पीडन र असमानताबाट मुक्त गरेर समानता र समृद्धितर्फ लैजाने पनि सहमति भएको छ ।

 त्रिपाठीले रापजा छोडेपछि मधेसमा राजपालाई समस्या पर्ने मधेस मामिलाका जानकारहरु बताउछन् । वाम राजनीतिबाट प्रभावित भई २०३१ सालदेखि राजनीतिमा सक्रिय त्रिपाठी यसअघि  तमलोपाको उपाध्यक्ष तथा संसदिय दलको उपनेता समेत भइसकेका छन् । त्रिपाठीसँग गणतन्त्र पछि र अघि गरी पटक पटक मन्त्री भएको अनुभव छ । उनले राजनीति गर्ने क्रममा झण्डै २ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासन र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन बताएका छन् ।  निक्कै चतुर राजनीतिक खेलाडीका रुपमा स्थापित त्रिपाठी पछिल्लो समयमा मधेसवादी शक्तिका तर्फबाट महत्वपूर्ण राजनीतिक निर्णय गर्ने ठाउँहरुमा तथा बिभिन्न सरकारमा निरन्तर सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्