Logo

तिब्बतको स्वतन्त्रता बहालीको माग गर्दै नेपाल डेमोक्रेट युनियनले बुझायो राष्ट्रसंघलाई ज्ञापनपत्र पत्र

तिब्बतको मुक्ति आन्दोलनप्रति नेपाल डेमोक्रेट युनियनको ऐक्यबद्धता

ज्ञापनपत्र बुझाउँदै नेपाल डेमोक्रेट युनियनका अध्यक्ष सिद्दार्थ गौतम

काठमाण्डौं – ‘६३औँ टिबेटन अपराइजिङ डे’ का अवसरमा तिब्बतको स्वतन्त्रता बहालीको माग गर्दै नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ। युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरणपत्र लेख्दै तिब्बतीयन आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । उक्त स्मरण पत्रमा तिब्बतमाथिको अतिक्रमण तत्काल फिर्ता लिई तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको सम्मान गर्न कम्युनिष्ट चीनलाई अपिल गरिएको छ। अन्यथा विश्व समुदायबाट बहिस्कृत हुने र आफ्नो पतनको दिनगन्ती शुरु गर्नुपर्ने दिन कम्युनिष्ट चीनले चाँडै देख्नुपर्ने चेतावनी समेत दिइएको छ।

‘कम्युनिष्ट चीनको तिब्बतमाथिको अतिक्रमण विरुद्ध, स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा तिब्बती जनताले ६३ वर्षदेखि गरिरहेको संघर्षलाई अभिवादन गर्दै नेपाल डेमोक्रेट युनियन ६३औँ टिबेटन “अपराइजिङ डे” का अवसरमा समस्त तिब्बती जनताप्रति शुभकामना व्यक्त गर्दछ’ स्मरण पत्रमा भनिएको छ,‘तिब्बत मुक्ति आन्दोलन चीनको पन्जाबाट मुक्त हुन चाहने तिब्बती जनताको आन्दोलन मात्र नभएर न्याय, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्र प्रेमी विश्व समुदायको आन्दोलनकै एक अङ्ग हो। नेपाल डेमोक्रेट युनियन विश्वभरका प्रजातन्त्र प्रेमी जनता र सरकारका साथै नेपाली जनताको तर्फबाट तिब्बत मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ।’

चीनलाई धम्कीपूर्ण भाषामा चेतावनी दिँदै स्मरण पत्रमा लखिएको छ,‘तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको अदम्य चाहनाको लागि विश्वभर छरिएर पनि तिब्बत मुक्ति आन्दोलनमा एक ढिक्का भएर लागेका तिब्बती जनतालाई अभिवादन गर्दै नेपाल डेमोक्रेट युनियन आफूलाई प्रजातन्त्र प्रेमी मान्ने सबै पार्टी र नेताहरूलाई तिब्बत मुक्ति आन्दोलनका पक्षमा सहयोग तथा समर्थन गर्न समेत आग्रह गर्दछ।’ युनियनले विश्वमा शान्ति, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको संरक्षण संवर्द्धनको जिम्मेवारी बोकेको संयुक्त राष्ट्र संघले तिब्बती जनताको स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको प्रत्याभूतिको निम्ति आवश्यक कदम चालोस् भन्ने चाहाना पनि व्यक्त गरेको छ। यसका साथै तिब्बतलाई कम्युनिष्ट चीनको विस्तारवादी सर्वसत्तावादी कब्जाबाट मुक्ति दिलाउने वातावरण तयार गरोस् भन्ने विशेष आग्रह समेत गरिएको छ।

                                 ज्ञापनपत्रको पूर्ण पाठ:

                     

प्रतिक्रिया दिनुहोस्